असई हत्याका फरार अभियुक्त प्रदेश राज्यमन्त्री

असई हत्याका फरार अभियुक्त प्रदेश राज्यमन्त्री

 जनकपुरधाम : मधेस आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संलग्न भनिएका फरार अभियुक्तले प्रदेश २ को राज्यमन्त्रीमा सपथ लिएका छन् । ०७२ भदौ २५ गते मधेस आन्दोलन चलिरहँदा महोत्तरीको जलेश्वरमा कार्यरत सशस्त्र प्रहरीका असई थमन विकको आन्दोलनकारीहरूले हत्या गरेका थिए ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउसमेत गरेको थियो । सो घटनामा करिब दुई दर्जन व्यक्तिको नाम संलग्न भएको थियो । तीमध्ये अधिकांश राजपाका नेता तथा कार्यकर्ता हुन् । अभियुक्तहरूलाई फरार भनी प्रहरीले पक्राउ गर्नबाट पछि हटेको अवस्थामा असई विकको हत्याका फरार अभियुक्तमध्येका एक महोत्तरी ३ ‘क’ बाट प्रदेशसभामा निर्वाचित सांसद अभिराम शर्माले प्रदेश २ को सरकारमा सामाजिक विकास राज्यमन्त्रीको रूपमा बुधबार पद तथा गोपनीयताको सपथ लिएका हुन् । शर्मा राजपा नेपालबाट सांसद पदमा निर्वाचित भएका थिए ।

प्रदेश सरकारले गरेको मन्त्रीमण्डल विस्तारमा शर्मासँगै उद्योग राज्यमन्त्रीमा सुरेश मण्डल र भौतिक पूर्वाधार राज्यमन्त्रीमा डिम्पल झाले सपथ लिएकी छन् ।

महोत्तरी जिल्लामा विचाराधीन अवस्थामा रहेको असई विकको हत्या मुद्दामा शर्मासहित जलेश्वर–६ का रमेशप्रसाद साह, सतिसनन्द चौधरी, राजा चौधरी, नरेश साह, रामराजा साह, हरिओमकुमार भगत, बिक्की साह, जलेश्वर–९ का चन्देश्वर साह, गोलु साह, रवीन्द्रराम चमार, रञ्जित साह, देवेन्द्र चौधरी, पवन कापडी, अनिल ठाकुर, फुले यादव, रोहितकुमार शर्मा, लालबाबु बिन, शम्भु साह, देवेन्द्र यादव, कौशलकुमार यादव, लक्ष्मी महतो, धमेन्द्र राय, रामशंकर मि श्र, सुरेश पाण्डेलाई अभियुक्त बनाइएको छ ।

यता, प्रहरीले फरार भनेका हत्या अभियुक्त प्रदेश सरकारको राज्यमन्त्रीमै नियुक्त हुन पुग्दा यसले प्रहरीको काम कर्तव्यमाथि प्रश्न चिह्न खडा गरेको छ । नेपाल बार एसोसिएसन महोत्तरीका अध्यक्ष रामशंकरप्रसाद साह भन्छन्, ‘शर्मा असई विक हत्या काण्डका फरार अभियुक्त हुन् । यस्तो अवस्थामा उनले कानुनतः सार्वजनिक पद धारण गर्न मिल्दैन । फरार प्रतिवादीहरूले सार्वजनिक पद धारण गरी खुलेआम समाजमा रहेको अवस्थामा असई विककी पत्नी शोभा गहतराजले ०७४ चैत २८ गते जिल्ला प्रहरी कार्यालय र त्यसका कार्यालय प्रमुखलाई विपक्षी बनाउँदै परमादेशका लागि उच्च अदालतमा निवेदन दिएकी थिइन् । सो निवेदनमाथि सुनवाई गर्दै २९ चैतमा उच्च अदालत जनकपुरका न्यायाधीश रमेशकुमार खत्रीको इजलासले जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई १५ दिनभित्र सरकारी वकिल कार्यालय जनकपुरमार्फत लिखित जवाफ पेस गर्न परमादेशसमेत जारी गरेको थियो । तर, प्रहरीले हालसम्म यी अभियुक्त फरार रहेको भन्दै पक्राउ गर्न नसकेको हो ।

असई विक हत्याको सन्दर्भमा प्रहरीको प्रतिवेदनमा उल्लेख भएअनुसार असई विकलाई आन्दोलनकारीहरूले नियन्त्रणमा लिई लाठी, भाटा, लात्ती, मुक्काले हान्दै गम्भीर घाइते बनाएका थिए । विकलाई प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि जलेश्वर पु¥याएका थिए । विकको प्रारम्भिक उपचारपश्चात् थप उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याउँदै गरेका बेला जिल्ला अस्पतालको एम्बुलेन्समा कुरुवाहरू सशस्त्र प्रहरीका जवान र अन्य पाँच जना सहयोगीसहितको गाडीलाई ९÷१० जनाको मोटरसाइकलमा आएका आन्दोलनकारीको समूहले प्रकौली चोकमा पुगेर बाटो अवरुद्ध र ढुंगामुढा गरेका थिए ।

एम्बुलेन्स नरोकी अगाडी बढाउँदै जाँदा भ्रमरपुरा गाउँको बाटो भई जाने क्रममा पुनः बाटोमा अवरोध भएपछि कुरुवा र प्रहरी डराएर भागेपछि घाइते जवान विक पनि डराएर गाडीबाट उत्रिएर भाग्न खोजेका थिए । सोही क्रममा उनलाई आन्दोलनकारीले कुटपिट गरी मारेको प्रतिवेदनमा उल्लेखित छ ।

तर राजपा नेताहरूले असई विकको हत्याकाण्डमा राजनीतिक द्वेषका कारण पार्टी कार्यकर्ता तथा नेताहरूलाई अभियुक्त बनाउने काम भएको भन्दै विरोध गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.