मोहना पुल जोखिममा

मोहना पुल जोखिममा

 टीकापुर : कैलालीको टीकापुर नगरपालिका–८ खक्रौलास्थित भारतीय सीमा क्षेत्र तिकुनियाँलाई जोड्ने मोहना नदीको पुल निर्माण सम्पन्न भएको दुई वर्षमै जोखिममा परेको छ ।

मोहना नदीमा निर्माण भएको पुलको भारततर्फको अम्तिम पिलरभन्दा बाहिरी भागबाट नदीले कटान गर्न थालेपछि पुल जोखिममा परेको हो । मोहना नदीले पुलको दक्षिणी भागको सल्याबको दुवैतर्फबाट कटान गरेको छ । नदीको कटानका कारण पुल र बाटोबीचको दूरी बढ्दै गएपछि पुल नै जोखिममा परेको स्थानीय अनिल कोइरालाले बताए ।

पुलको अन्तिम पिलरबाट तीन मिटरको सल्याब निर्माण गरिएको थियो । निर्माण भएको सल्याबको तलबाट वर्षायाम लागेसँगै नदीले तीव्र कटान गर्दा पुल नै जोखिममा रहेको कोइरालाले बताए । ‘मोहना पुलको दक्षिणतर्फको पिलरबाट सडकलाई जोड्ने ठाउँमा नदीले कटान गरेको छ’, कोइरालाले भने, ‘पुलको दुवैतर्फबाट कटान गरेका कारण पिलरलाई समेत क्षति हुन सक्छ ।’

पुलको पिलर र बाटोसम्मको कटान नियन्त्रण नगरे भारतीय सीमाक्षेत्र तिकुनियाँ जोड्ने बाटो नै बन्द हुनेछ । वर्षायाममा मोहना नदीमा आउने बाढी अझै नआएको बताउँदै स्थानीय झपट साउँदले बाढी आएपछि नदीको कटान बढ्ने आशंका व्यक्त गरे । ‘अझै मोहनामा खास बाढी आएको छैन, बाढी आयो भने यो कटानले एकैछिनमा पुल र बाटोलाई अलग बनाउनेछ’, साउँदले भने, ‘यो नियन्त्रण गर्न नसके पुलसमेत खतरामा पर्छ ।’ नेपाल सरकारको ११ करोड ५७ लाख रुपैयाँको लागतमा झण्डै चार वर्ष लगाएर कालिका चन्द्रा एसभीए जेभी निर्माण कम्पनीले पुलको निर्माण गरेको थियो । मोहना पुल खक्रौला भन्सार र भारतीय सीमाक्षेत्र तिकुनियाँलाई जोड्ने मुख्य नाकाका रूपमा रहँदै आएको छ । सरकारले गत महिना मात्र खक्रौला भन्सारलाई छोटी भन्सारबाट स्तरवृद्धि गरी मुल भन्सार बनाउने निर्णय गरेको थियो । पुलको छेउमै भन्सार कार्यालयको भवनसमेत निर्माण भइसकेको छ भने मालबाहक गाडी पार्किङका लागि जग्गा छुट्याइएको छ ।

भन्सारको काम तीव्र रूपमा भइरहेका बेला पुलको किनारमा नदीले कटान गर्न थालेपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

                     


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.