मोदी भ्रमण खर्च : प्रदेश सरकारलाई ३ करोड १२ लाख भुक्तानी

मोदी भ्रमण खर्च : प्रदेश सरकारलाई ३ करोड १२ लाख भुक्तानी

प्रदेश सरकारले संघीय सरकारसँग ७ करोड माग गरे पनि बिलका आधारमा ३ करोड १२ लाख रुपैयाँ मात्र भुक्तानी भएको जनाइएको छ।

मनिका झा। जनकपुरधाम

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आउँदा प्रदेश सरकारले ३ करोड १२ लाख रुपैयाँ खर्च गरेको खुलेको छ।

मोदीको स्वागतमा लागेको खर्चबारे टीकाटिप्पणी भइरहेका बेला मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विवरण नै उपलब्ध गराएको हो। प्रदेश सरकारमातहत ६ मन्त्रालयमार्फत विभिन्न शीर्षकमा सो रकम खर्च भएको जनाइएको छ। प्रदेश सरकारले संघीय सरकारसँग ७ करोड माग गरे पनि बिल र खर्चका आधारमा ३ करोड १२ लाख रुपैयाँ मात्र भुक्तानी भएको हो।

‘हामीले विभिन्न मन्त्रालयबाट खर्चको विवरण संकलन गरी सोहीअनुसार संघीय सरकारलाई रकम भुक्तानीका लागि अनुरोध गरेका थियौं’, मुख्यमन्त्री कार्यालयका सचिव हरिप्रसाद फुयाँलले भने, ‘सोहीअनुसार असार अन्तिम साता भुक्तानी भई आएको हो।’

उनका अनुसार प्रचारप्रसार कार्यमा २० लाख ६२ हजार, नगर सरसफाइमा ५७ हजार, पण्डाल, पाल, अस्थायी शौचालय निर्माण, सांस्कृतिक कार्यक्रममा १ करोड ९४ लाख ७२ हजार, सुरक्षा व्यवस्थापनमा ५ लाख ७५ हजार रुपैयाँ भएको थियो। त्यस्तै, जनपरिचालनतर्फ आठ जिल्लामा ७४ लाख ६८ हजार, बुलेटिन, स्वागतद्वार, फ्लेक्स, अतिथि स्वागत, जानकी मन्दिरमा रंगरोगन, सूचना प्रकाशन, प्रसारण, उपहारमा २५ लाख ६ हजार खर्च भएको थियो।

मोदीको स्वागतका लागि मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा मूल स्वागत समारोह समिति गठन गरिएको थियो भने ६ वटा उपसमिति गठन गरिएका थिए। भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनारको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवको संयोजकत्वमा अर्थ व्यवस्थापन उपसमिति, सामाजिक विकासमन्त्री नवलकिशोर साहको संयोजकत्वमा सरसफाइ तथा स्वागतद्वार निर्माण उपसमिति, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा सुरक्षा व्यवस्थापन उपसमिति, भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहको नेतृत्वमा जनपरिचालन उपसमिति र वन, वातावरण, पर्यटन तथा उद्योगमन्त्री रामनरेश रायको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको थियो।

जनकपुर उपमहानगरपालिकाले १ करोड ६८ लाख रुपैयाँ खर्च भएको भन्दै संघीय सरकारलाई रकम निकासाका लागि माग गरेको छ। मोदी भ्रमणका क्रममा प्रदेश सरकार र स्थानीय सरकार दुवैले एकै शीर्षकमा रकम खर्चिएको देखिएको छ। जनकपुरमा मोदीको तीन घण्टा बसाइका लागि प्रदेश सरकार र उपमहानगरपालिकाबाट ५ करोडजति खर्च भएको दाबी गरिए पनि यसमा भ्रष्टाचार भएको सरोकारवालाको आशंका छ।

मोदीको अभिनन्दनका बेला प्रत्येक स्थानीय सरकारका प्रमुख आआफ्नो गाडी लिएर आएका थिए। स्वागत तथा अभिनन्दन कार्यक्रमका लागि जिल्ला–जिल्लाबाट बोलाइएका जनतालाई रंगभूमि मैदानमा खानेपानीको व्यवस्थासमेत गरिएको थिएन। तर, त्यही शीर्षकमा रकम खर्च गरेको देखाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.