बैंक पुग्न एक दिन

बैंक पुग्न एक दिन

 फिदिम : पाँचथरका दुर्गम मानिएका गाउँपालिकामा अझै बैंक सञ्चालन हुन सकेको छैन । बैंक नहुँदा आर्थिक कारोबार गर्न सर्वसाधारणदेखि गाउँपालिकाका कर्मचारीले सास्ती बेहोर्नुपरिरहेको छ ।

जिल्लाका आठ स्थानीय तहमध्ये फालेलुङ गाउँपालिका र तुम्बेवा गाउँपालिकामा अझै बैंक सञ्चालन हुन नसकेको हो । यी गाउँपालिकामा बैंक सञ्चालन नहुँदा सदरमुकामबाटै आर्थिक कारोबार गर्नुपर्ने बाध्यता छ । ‘बैंक नहुँदा गाउँपालिकाको कामकारबाही नै प्रभावित हुने गरेको छ’, फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङले भने, ‘सामान्य कामका लागि पनि सदरमुकाम झर्नुपर्ने बाध्यता छ ।’

फालेलुङ गाउँपालिकाबाट सदरमुकाम फिदिम आउन झन्डै एक दिन लाग्छ । गाउँपालिकामा कुनै पनि बंैक सञ्चालन नभएपछि फालेलुङले सदरमुकाम फिदिमस्थित नेपाल बैंकको शाखाबाट आर्थिक कारोबार गर्दै आएको छ । गाउँपालिकाले सञ्चालन गरेको योजनाको खाता खोल्न र कर्मचारीलाई तलब, भत्ता खुवाउन पनि सदरमुकाम धाउनुपर्ने बाध्यताले हैरानी खेप्नुपरेको फालेलुङका प्रमुख प्रशासकीय अधिकृत मौसम ढुंगेलले जानकारी दिए ।

‘बैंकको असुविधाकै कारण कतिपय योजना प्रभावित भएका छन्’, उनले भने, ‘कार्यालयको आन्तरिक काममा त झनै धेरै असर परेको छ ।’

तुम्बेवामा पनि बैंक नहुँदा गाउँपालिकाका सेवाग्राहीदेखि कर्मचारीसम्मले समस्या भोगिरहेका छन् । ‘गाउँपालिकाबाट सबै खातापाता मिलाएर आर्थिक कारोबारका लागि फिदिम आउनुपर्ने बाध्यता छ’, तुम्बेवाका अध्यक्ष होमनाथ थापाले भने, ‘फिदिम आएपछि बैंकले थोरै गल्ती देखाइदियो भने कामै रोकिन्छ । यस्तो धेरै समस्या भोग्नुपरेको छ ।’

ससाना योजनाको कामका लागि उपभोक्ता समितिले खाता खोल्न र काम गरिसकेपछि फछ्र्योट गर्न फिदिम धाउनुपर्ने बाध्यताले काम प्रभावित हुने गरेको हो । ‘अहिले त उपभोक्ता समितिमा बसेर काम गर्न नै झर्को मान्न थाले’, उनले भने, ‘फिदिम धाउनुपर्ने बाध्यताले अनावश्यक खर्च बढेर गएको छ ।’ तुम्बेवा गाउँपालिबाट एक दिन लगाएर सदरमुकाम फिदिम आउनुपर्ने बाध्यता छ । नेपाल बैंकको फिदिम शाखाबाटै तुम्बेवाले पनि बैंकिङ कारोबार गर्दै आएको हो ।

गाउँपालिकामा बैंक स्थापना गर्न पहल भएको अध्यक्षहरूको भनाइ छ । दुर्गम गाउँपालिकामा बैंकको सुरक्षा र बैंकिङ कारोबार कम हुने हिसाबले बंैक गाउँपालिका जान नचाहेको जनाइएको छ । एक वर्षको पहलमा बल्लतल्ल प्राइम बैंकको शाखा खोल्न तयारी रहेको जनाइएको छ ।

तुम्बेवा गाउँपालिकामा पनि प्राइमकै शाखा खोल्ने तयारी छ । फिदिम नगरपालिकासहित याङवरक, हिलीहाङ, कुम्मायक, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकामा यसअघि नै बैंक स्थापना भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.