पाकिस्तानमा पुन: निर्वाचनको माग गर्दै आन्दोलन घोषणा
इस्लामावाद : पाकिस्तानका विभिन्न राजनीतिक दलले पुन: निर्वाचनको माग गर्दै आन्दोलन घोषणा गरेका छन्। बुधवार देशभर भएको निर्वाचनको परिणाम इमरान खानको पार्टी तेहरिक-ए-इन्साफले ११४ स्थान जितेको घोषणा भएपछि उनीहरूले आन्दोलन घोषणा गरेका हुन्। आन्दोलनरत दलहरूले पारदर्शी तरिकाले फेरि निर्वाचन गर्न माग गर्दै प्रदर्शन गरेका हुन्। वर्तमान सत्तारुढ दल पाकिस्तान मुस्लिम लीग-नवाज (पीएमएल-एन)सहितका दलहरूले आन्दोलनको घोषणा गरेका हुन्।
पीएमएल-एनका वरिष्ठ नेता शाहबाज शरीफले आन्दोलनप्रति आफ्नो समर्थन रहेको जानकारी दिएका छन्। प्रतिद्वन्द्वी ती दलहरूले चुनावमा धाँधली भएको ठहर गर्दै आन्दोलनको घोषणा गरेका हुन्। उक्त प्रदर्शनमा साना दलहरू पनि सहभागी भएका छन्।
तेस्रो स्थानमा बिलावल भुट्टो जर्दारीको पाकिस्तान पिपुल्स पार्टी रहेको छ। बिलावल पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका छोरा हुन्। सन् २००७ को डिसेम्बरमा बेनजिर भुट्टो हत्या भएको थियो। पाकिस्तानको निर्वाचन आयोगले आमनिर्वाचनको नतिजा शुक्रबार घोषणा गरेको थियो। तेहरिक-ए-इन्साफले ११४, पूर्वप्रधानमन्त्री नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लीगले ६३ र पाकिस्तान पिपुल्स पार्टीले ३९ स्थान जितेका छन्। सरकार गठनका लागि आवश्यक बहुमत (१३७ स्थान) प्राप्त नगरेका कारण इमरान खानले अन्य साना दलसँग गठबन्धन निर्माण गर्नुपर्ने भएको छ।
जमीयत उलेमा-ए-इस्लाम पार्टीका अध्यक्ष फजलुर रहमानले यो ‘निर्वाचन नभई मनोनयन’ भएको बताए। जनमतले नभई सेनाको सहयोगमा इमरानले सत्ता हासिल गर्न खोजेको उनले आरोप लगाए। कतिपय साना दलले आफ्नो दलका तर्फबाट विजयी सांसदलाई शपथ ग्रहण नगराउने पनि बताए। यद्यपि यसमा सबै दल सहमत भने भएनन्। पीएलएम (एन)का प्रमुख शहबाजले आफ्नो पार्टीमा छलफल गरेपछि मात्रै यस विषयमा निर्णय गर्ने जानकारी दिए। मुत्तहिदा मजलि-ए-अमाल, अवामी नेशनल पार्टी, कौमी वतन पार्टी र पख्तुनख्वा मिली अवामी पार्टी, जमीयत उलेमा-ए-इस्लाम जस्ता राजनीतिक दल प्रदर्शनमा उत्रिएका छन्।
निष्पक्ष निर्वाचन : संयुक्त राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेसले पाकिस्तानी निर्वाचन आयोगले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेको बताएका छन्।
पाकिस्तानमा नयाँ सरकार गठनका लागि आफू उत्साहित भएको पनि उनले बताएका छन्। पाकिस्तानमा लोकतन्त्र कायम गर्न यो निर्वाचनको महत्वपूर्ण भूमिका भएको उनको भनाइ छ। उनका प्रवक्ता स्टीफन दुजारिकले महिला, अशक्त र नयाँ मतदालाई अधिक रूपमा मतदानमा सहभागी गराउन सकेको भन्दै निर्वाचन आयोगको गुतेरेसले सह्राना गरेका छन्।