बालबालिकाले कति समय टीभी हेर्ने ?

बालबालिकाले कति समय टीभी हेर्ने ?

काठमाडौं : नानीबाबुहरू, तिमीहरूले घरमा टेलिभिजन (टीभी) त हेर्ने गरेकै होलाऊ ? तिमीहरूमध्ये कतिपयले त टीभीमा यो च्यालन लगाउने वा त्यो च्यानल लगाउने भन्दै दाजुभाइ, दिदीबहिनीसँग हानथाप पनि गर्ने गरेका होलाऊ। पढाइलाई बेवास्ता गर्दै धेरै समय टीभीमा मात्र झुन्डिने बानीले जीवनमै नकारात्मक प्रभाव पार्छ भन्नेबारे तिमीहरूलाई थाहा छ कि छैन ? धेरै टीभी हेर्ने विद्यार्थीको पढाइ कमजोर हुने मात्र होइन, उनीहरूको स्वास्थ्यमा पनि असर पर्छ। सरकारले गरेका विभिन्न अध्ययनले यस्तो देखाएको छ। यसबारे सबै बालबालिका सचेत हुनुपर्छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत रहेको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले हालै गरेको एक अध्ययनले यसबारे स्पष्ट पारेको छ। अध्ययनले बालबालिकालाई टीभी हेर्न दिनै हुँदैन त भनेको छैन तर दैनिक रूपमा एक घन्टा वा दुई घन्टाभन्दा धेरै समय टीभी हेर्न नहुने अध्ययनको निष्कर्ष छ। समय व्यवस्थापन गरेर निश्चित समय मात्र टीभी हेर्ने गरेमा विद्यार्थीको सिकाइ पनि राम्रो हुने पाइएको छ।

अध्ययनमा कक्षा ३ र ५ मा पढ्ने विद्यार्थीलाई समेटिएको थियो। उनीहरूलाई दैनिक कति समय टीभी हेर्ने गर्नुभएको छ भन्ने प्रश्नबाट अध्ययन सुरु गरिएको थियो। अध्ययनका क्रममा टीभी नै नहेर्ने बालबालिका पनि भेटिएका थिए। टीभी नहेर्नेभन्दा केही समय मात्र हेर्ने बालबालिकाको पढाइको स्तर राम्रो भएको पाइएको थियो। 

कक्षा ३ का विद्यार्थीबीच अध्ययन गर्दा टीभी नै नहेर्ने बालबालिकाको सिकाइ स्तर ४९ मात्रै रहेको पाइयो। दैनिक रूपमा एक घन्टाभन्दा कम समय टीभी हेर्ने बालबालिकाको सिकाइ स्तर ५८ रहेको देखिएको छ। एकदेखि दुई घन्टा टीभी हेर्ने बालबालिकाको सिकाइ स्तर ५७, दुईदेखि चार घन्टासम्म टीभी हेर्ने बालबालिकाको सिकाइ स्तर ५३ तथा दैनिक तीनदेखि चार घन्टासम्म टीभी हेर्ने बालबालिकाको सिकाइ स्तर सबैभन्दा कम अर्थात् ४२ मात्र रहेको देखिएको छ।

त्यस्तै कक्षा ५ मा अध्ययन गर्ने विद्यार्थीका लागि भने दैनिक एकदेखि दुई घन्टा टीभी हेरेमा सिकाइ राम्रो हुने देखिएको छ। दैनिक तीनदेखि चार घन्टासम्म टीभी हेर्नेको सिकाइ भने ४० मात्र छ। यस हिसाबले हेर्दा दैनिक न्यूनतम एक घन्टा टीभी हेर्नैपर्छ भने दुई घन्टाभन्दा लामो समय टीभीमा बिताउनु हुँदैन। अध्ययनको नेतृत्व गरेका शिक्षा मन्त्रालयका सहसचिव डा. लेखनाथ पौड्यालले बालबालिकालाई टीभी हेर्न दिनै नहुने भन्ने अभिभावकको बुझाइ गलत देखिएको बताए। ‘बालबालिकाले टीभी हेरे भन्दै आत्तिने अभिभावक धेरै हुनुहुन्छ। उहाँहरूको चिन्ता स्वाभाविक पनि हो तर दैनिक एकदुई घन्टा भने आफ्ना छोराछोरीलाई टीभी हेर्न दिँदा उनीहरूको व्यक्तित्व विकासमा समेत फाइदा पुग्दो रहेछ’, पौड्यालले भने।

विकसित मुलुकहरूमा बालबालिकालाई उनीहरूको इच्छाअनुसार सिकाइका क्रममा विद्यार्थीले प्रत्यक्ष अनुभव गर्ने गरी शैक्षिक सामग्रीहरू उपलब्ध गराइन्छ; जसले उनीहरूलाई कुनै वस्तुबारे पढेरभन्दा पनि प्रत्यक्ष अवलोकन गरेर जान्ने अवसर प्राप्त हुन्छ। यस्तै अवसरमध्ये एक टीभी पनि हो। तर, यसलाई सदुपयोग गर्ने कि दुरुपयोग; यो अभिभावक र विद्यार्थीको हातमा भर पर्छ।

शिक्षाविद् विद्यानाथ कोइराला विद्यार्थीलाई किताबमा मात्र घोकाएर पढाउने प्रवृत्ति गलत भएको बताउँछन्। ‘उनीहरूलाई आवश्यकताअनुसार मनोरञ्जन पनि दिनुपर्छ। उनीहरूले जस्तो क्रियाकलाप गराएर पढाउँदा सजिलो मान्छन्, त्यस्तै गरिदिनुपर्छ’, कोइराला भन्छन्, ‘किताब पढेर परीक्षामा राम्रो नतिजा ल्याउनु मात्र विद्यार्थीको सिकाइ हो भन्ने बुझिन्छ। अहिले अधिकांश अभिभावकमा यस्तै बुझाइ रहेको देखिन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.