भारतमा बाढीले जनजीवन अस्तव्यस्त
नयाँदिल्ली : भारतमा भीषण वर्षापछि आएको बाढीले जनजीवन अस्तव्यस्त बनेको छ । स्थानीय सरकारी अधिकारीहरूले हजारौँ घर डुबानमा परेका, बगेका र क्षतिग्रस्त भएको जानकारी दिएका छन्।
बाढीबाट दशौँ लाख मानिस घरबारविहीन भएका छन् भने देशका ६ प्रदेशमा बाढी र पहिरोको प्रकोप बढी देखिएको छ । भारतमा जुलाई र अगस्त महिनामा अत्यधिक वर्षा हुने गर्दछ । भारतका टेलिभिजन च्यानलहरूले सवारीसाधन सडकमा पानीमा डुबेको दृश्य देखाएका छन् । बाढी पहिरोबाट देशभरका कार्यालय भवन र आवासीय घर प्रभावित भएका छन् ।
नयाँदिल्लीका केही भाग र छिमेकी नोयडाका गाउँहरू पनि रहेका छन् । बाढी पहिरोबाट सबैभन्दा बढी प्रभाव दक्षिण पश्चिमी राज्य महाराष्ट्रमा परेको छ ।
भारत सरकारले बाढी पहिरोबाट प्रभावितको खोजी, उद्धार तथा राहत प्रदान गर्न देशका अति प्रभावित ६ वटा राज्यमा राष्ट्रिय प्रकोप सहायता बल (एनडीआरएफ)का ४३ टोली परिचालन गरेको छ । सबै एनडीआरएफमा कम्तीमा ४५ जना रहेका छन् । बाढी पहिरोबाट मानवीय र भौतिक संरचनाको क्षतिसँगै ठूलो मात्रामा खेतीवाली र खेतीयोग्य जमिन समेत नष्ट भएको छ।
दिल्ली
नयाँदिल्लीमा पानीको स्तर खतराभन्दा माथि रहेको छ । हरियाणाको हथिनीकुण्डबाट बढी भएको पानी छोडिएपछि दिल्ली प्रभावित भएको हो । यमुना छेउछाउमास्थिति निकै भयावह देखिएको छ । घरका ढोकाढोकासम्म बाढी आइपुगेको छ । जलस्तर खतराभन्दा माथि पुगेपछि दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदिया आइतवार निजामुद्दीन पुलमा पुगेका थिए । उनले यस क्षेत्रका बासिन्दालाई सुरक्षितस्थलतर्फ लाग्न अनुरोध गरेका छन् । बाढीले यमुना किनारमा किसानको बालीनाली बगाएको छ । सरकारले प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल बाहिर जान भनेको छ । बिहारबाट दिल्ली आएर रिक्सा चलाउँदै आएका मोहम्मद तहजीबले भने, ‘मेरो ओत लाग्ने ठाउँ भनेको यही छत मात्रै हो, कहाँ जाऊँ ? ’
बेहाल बिहार
बिहारको राजधानी पटना लगायत अधिकांश क्षेत्र बाढीले डुबानमा परेको छ । पटनास्थित नालन्दा शिक्षण अस्पतालको आईसीयु जलाम्मे भएको छ । आईसीयु कक्षमा माछा पौडिरहेका देखिएको अस्पतालले जनाएको छ । पटनाको राजेन्द्र नगरमा कम्मरसम्म पानी पुगेको छ । बिहारमा कैयौं घर भत्किएका छन् भने सडक भासिएका छन् । बिहारका मुख्यमन्त्री नीतीश कुमारले घटनास्थलको निरीक्षण गरेका छन् ।
भारतीय मौसम विभागले आगामी मंगलवारसम्म बिहारमा वर्षा हुने जानकारी दिएको छ ।
गता सातामात्रैै महाराष्ट्रमा १४० भन्दा बढीको मृत्यु भएको छ । त्यसैगरी दक्षिणी राज्य केरलामा १२६, पश्चिम बंगालमा ११६, उत्तर प्रदेशमा ७०, गुजरातमा ५२ र असममा ३४ जनाको मृत्यु भएको छ ।