उत्तर-दक्षिण कोरिया तनाव घटाउन सैनिक तहमा छलफल
सोल : उत्तर र दक्षिण कोरियाबीच गत अप्रिलको शिखर बैठकमा भएको सम्झौता कार्यान्वयन गर्ने गरी उच्च सैनिक तहमा सीमावर्ती शहर पानमुनजोममा मंगलवार वार्ता भएको छ। जुन १४ यता दुई कोरियाको उच्च तहमा सम्पन्न उक्त बैठक दुई कोरियालाई छुट्याउने गैरसैनिक क्षेत्र (डीएमजेड) मा रहेको दक्षिण कोरियाली शान्ति भवनमा भएको थियो। ‘सैनिक तनाव कम गर्न र दुई कोरियाबीच विश्वासको वातावरण निर्माण गर्न व्यवहारिक उपायको खोजी गर्नेतर्फ हाम्रो वार्ता केन्द्रित भएको छ’, वार्तामा सहभागी दक्षिण कोरियाली प्रतिनिधिमण्डलका प्रमुख एवं मेजर जनरल किम दो-ग्युनले बताए।
वार्तामा दक्षिण कोरियाबाट पाँच सदस्यीय उच्च सैनिक नेतृत्व सहभागी छ। उत्तर कोरियाका तर्फबाट लेफ्टिनेन्ट जनरल आन इक-सानको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी भएको छ। पर्यवेक्षकहरूका अनुसार दुवै पक्षले पानमुनजोमको संयुक्त सुरक्षा क्षेत्र (जेएसए) लाई हतियारविहीन बनाउनेतर्फ विचार आदानप्रदान गरेका छन्। पूर्ण रूपमा यो कार्यान्वयन हुन भने समय लाग्ने उनीहरूको भनाइ छ। उनीहरूले डीएमजेडलाई ‘शान्ति क्षेत्र’का रूपमा घोषणा गर्न सक्नेछन्। यस विषयमा गत महिनाको वार्तामा पनि परिचर्चा भएको थियो।
उनीहरूबीच सीमावर्ती चौकीमा तैनाथ सैनिक र उपकरणहरू ‘परीक्षणका रूपमा’ हटाउने विषयमा दक्षिण कोरियाली प्रस्तावमाथि छलफल भएको छ। दक्षिण कोरियाले डीएमजेडमा करिब ६० वटा सैनिक चौकी स्थापना गरेको छ। उत्तर कोरियाले पनि १६० वटा त्यस्ता चौकी खडा गरेको छ। पर्यवेक्षकहरूले उत्तरी सामुद्रिक सीमाका विषयमा समेत शान्ति रेखा कायम गर्न दुवै पक्ष सहमत हुने सम्भावना औंल्याएका छन्। उनीहरूबीच सन् १९५०-५३ को कोरियाली युद्धका क्रममा मारिएका सैनिकका अवशेषको खोजी गर्नेसम्बन्धी एक परियोजनामा सहमति जनाउने सम्भावना छ। झण्डै एक दशकपछि बसेको गत महिनाको वार्तामा सैनिक सञ्चार खुला गर्ने विषयमा सहमति भएको थियो।