प्रदेश एकको नाम खम्बुवान राख्न माग
![प्रदेश एकको नाम खम्बुवान राख्न माग](https://annapurnapost.prixacdn.net/media/albums/Khambuwan-state-province-1_20180802095703_G4ha2DOfnD.jpg)
विराटनगरः खम्बुवान राष्ट्रिय मोर्चा मोरङले जातीय पहिचान र ऐतिहासिक पुष्ठभूमिको आधारमा प्रदेश नम्बर १ को नाम खम्बुवान राख्न माग गरेको छ ।
प्रदेशको नाम खम्बुवान प्रदेश राख्नु पर्ने माग गर्दै बिहीबार मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एउटा ज्ञापनपत्र पनि बुझाइएको छ । खम्बुवान राष्ट्रिय मोर्चा पार्टी नेपाल मोरङले ज्ञापन पत्र बुझाएको हो ।
मुक्ति मोर्चाका केन्द्रीय सह–सचिव राजुदेव राई, पार्टीका प्रवक्ता रडेन्द्र तिम्म्राहार, जिल्ला अध्यक्ष दिलाराम राईसहितको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयमाफर्त मुख्यमन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाइएको हो ।
ज्ञापनपत्र बुझाउँदै पार्टीका केन्द्रीय सह–सचिव राजुदेव राईले प्रदेशको राजधानी र नामाङ्कन तोक्न प्रदेश सरकाले ढिलाइ गरेको बताए । उनले जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेशको नामाकरण गरिनुपर्ने बताए । उनीहरुले प्रदेशको राजधानी ‘नामसाम’ घोषणा गर्न समेत माग गरेका छन् ।
ज्ञापन पत्रमा अनियन्त्रित रुपमा बजारमा हरेक सामानमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न माग गरिएको छ । जनतालाई असर पर्ने गरी गरिएका कर वृद्धि पनि फिर्ता गर्न माग गरिएको छ । संघीय, प्रदेश र स्थानीय सरकारबाट लागू गरिएको अनियन्त्रित दोहोरो कर तत्काल खारेज गर्न पनि माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)