गोसाइकुण्ड जान हिडेका तीर्थयात्रीको मृत्यु
नुवाकोट : प्रसिद्ध तीर्थस्थल गोसाइकुण्ड जाने बाटोमा भीषण पहिरो जाँदा एक महिला तीर्थयात्रीको ज्यान गएको छ भने एक महिला घाइते भएकी छन् ।
रसुवाको सदरमुकाम धुन्चेदेखि ६ किलोमिटर उत्तरपूर्वी भेगमा रहेको गोसाइकुण्ड गाउँपालिका वडा नं. ६ घट्टेखोला नजिकै देउराली जंगलको पहाडमा शुक्रबार दिउंसो गोसाइकुण्ड पैदल गइरहेका तीर्थयात्रीमाथि पहिरो खस्दा तीर्थयात्री रौतहट चन्द्रनिगाहपुर नगरपालिकाकी ३६ वर्षीया नम्रता कार्कीको ज्यान गएको हो भने सोही स्थानकी उनकी साथी ३५ वर्षीया रमा आचार्य घाइते भएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए ।
उनका अनुसार घाइतेको रसुवा जिल्ला अस्पताल धुन्चेमा उपचार भइरहेको छ ।गोसाइकुण्ड जान उकालो पैदल हिडिरहेका २७ जनाको तीर्थयात्रीको समूहमाथि पहिरो खसेकोमा अरू भने भागेर ज्यान जोगाउन सफल भएको प्रजिअ पौड्यालले अन्नपूर्णलाई बताए । घटनापछि सो समूहको गोसाइकुण्ड तीर्थाटन रोकिएको छ ।
घटनालगत्तै तीर्थयात्री, स्थानीयवासी, प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाले घाइते तथा मृतकको उद्धार गरेको थियो । मृतकको शव पोष्टमार्टमका लागि रसुवा जिल्ला अस्पताल धुन्चेमा राखिएको छ ।