कमाउ धन्दाले यात्रुलाई सास्ती

कमाउ धन्दाले यात्रुलाई सास्ती

जुम्ला : अस्थायी रुट कायम गरिएको जुम्ला सदरमुकामदेखि पातारासी गाउँपालिकाको उर्थुचौतारा सडकखण्डमा सामान ढुवानी गर्न ट्र्याक्टर प्रयोग भइरहेको छ। करिब १० किलोमिटर सडकखण्डमा ट्र्याक्टरबाहेक २÷४ वटा जिप पनि सञ्चालन हुने गरेका छन्। पातारासी गाउँपालिकाका विभिन्न गाउँबाट सदरमुकाम झर्न उर्थुचौतारामा जिप पर्खिने यात्रुको बिहानैदेखि घुइँचो लागेको हुन्छ।

पातारासीको साविकका छुमचौर, डिल्लीचौर र पट्मारावासी हिलाम्मे कच्ची सडकमा चल्ने जिपको संख्या थोरै छ। त्यसैले सदरमुकामबाट बल्लतल्ल उर्थुमा पुग्ने जिप आफूले धान्ने क्षमताभन्दा अत्यन्त धेरै यात्रु बोकेर फर्कने भएकाले कुनै पनि समय दुर्घटना हुन सक्छ।

यो जिल्लाभित्रको एउटा सडकखण्डको दृष्टान्त मात्र हो। तर, जुम्ला सदरमुकामबाट सिंजा हुँदै मुगु र कर्णाली राजमार्गको सुर्खेत, नेपालगन्जसम्म छुट्ने सवारीसाधनमा यात्रु ठगिने गरेका छन्। जुम्लामा सञ्चालित यातायात व्यवसायीले मनपरी भाडा असुल्दा यात्रु ठगिने गरेका हुन्। सरकारले यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गरी भाडादर समायोजन गरे पनि यहाँका यातायात व्यवसायीले भने छोटो तथा लामो दूरीमा मनपरी भाडा असुल्ने गरेका छन्। जुम्लादेखि चल्ने जिपको भाडा सुर्खेत-नेपालगन्जसम्म १२ सय रुपैयाँ हुनुपर्नेमा यात्रुबाट १५ सयभन्दा बढी असुल्ने गरिएको छ। 

त्यस्तै, सुर्खेतसम्मको ९ सय ५० रुपैयाँ भाडा तोकिएकोमा १२ सयभन्दा बढी लिइन्छ भने काठमाडौंसम्म २८ सय ५० रुपैयाँ भाडा कायम छ। जुम्लामा सञ्चालित कर्णाली यातायात व्यवसायी समितिबाहेक अरू सबै यातायात व्यवसायीले मनपरी भाडा असुलेका हुन्। उनीहरूले यात्रुलाई काट्ने टिकटमा कम देखाएर असुल्ने भाडामा भने बढी लिने गरेका छन्। लामो दूरीमा यात्रा गर्दा गाडी नपाइने र पाइए पनि उनीहरूले भनेकै भाडा दिनुपर्ने बाध्यताले आफू ठगीमा परेको यात्रु तपिन्द्र खत्रीले बताए। अहिले जुम्लाबाट सन्राइज, गो कर्णाली, बुलबुले, देउती नागरिक, चन्दननाथ यातायात प्रालिलगायतले सवारीसाधन सञ्चालनमा ल्याएका छन्। काउन्टर व्यवस्थापनमै चुनौती

जुम्लामा यातायातका साधनको टिकट काउन्टर एकै ठाउँमा नहँुदा यात्रु मर्कामा पर्ने गरेका छन्। फरक-फरक ठाउँमा काउन्टर राखेर यातायात सेवा सञ्चालन गर्दा यात्रु ठगिने गरेका हुन्। कर्णाली राजमार्गको सुर्खेत, जुम्ला, नेपालगन्ज र काठमाडौं चल्ने दर्जन बढी यातायात समिति छन्। तर, उनीहरूका काउन्टर खलंगा बजारभरि छरिएर राखिएका छन्।

यातायात समितिबीच समन्वय प्रभावकारी नहुँदा प्रतिस्पर्धाका नाममा मनपरी भाडा असुलिएको स्थानीय बताउँछन्।

कर्णाली यातायात व्यवसायी समितिका अध्यक्ष मीनबहादुर थापाले यातायात सेवा छरिएर सञ्चालन हुँदा यात्रु अन्योलमा परेको स्विकारे। यातायात सेवामा बढ्दो विकृति रोगथामका लागि प्रशासनसमक्ष निरन्तर गुनासो गर्दासमेत सुनुवाइ नभएको उनले बताए।

तर, कर्णाली यातायात समितिबाहेक कुनै पनि समितिले बसपार्कमा पार्किङ गर्न मानेका छैनन्। बसपार्क पनि पूर्णरूपमा प्रयोगमा आउन सकेको छैन, काउन्टर सडकमा खोलिएका छन्। यात्रुलाई प्रभावमा पार्ने गरी खोलिएका काउन्टर उठाउन स्थानीय प्रशासन र नगरपालिकाले चासो दिएको छैन।

यता, प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले यात्रु ठगिएको प्रमाणसहित निवेदन दिए छानबिन गरी तत्काल कारबाही हुने बताए। चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले तत्काल काउन्टर व्यवस्थापन गरी यातायात क्षेत्रका अनियमितता नियन्त्रण गरिने बताइन्।

१८ सय ६३ सवारीसाधन कारबाहीमा

आर्थिक वर्ष ०७४÷७५ मा जुम्लामा मात्र १८ सय ६३ सवारीसाधन कारबाहीमा परेका छन्। ट्राफिक नियम पालना नगर्ने, मदिरा सेवन गरेर सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्नेलगायत सवारीसाधन कारबाहीमा परेका हुन्। चालु आवमा मात्रै सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक कार्यालयका अनुसार सबैभन्दा बढी ट्र्याक्टर दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने बसले किचेर ४ जनाको मृत्यु भएको छ। कारबाहीमा परेका सवारीबाट १२ लाख ५९ हजार ५ सय जरिवाना राजस्व असुली भएको छ। गत वर्ष कार्यालयले सवारी कारबाहीबाट ८ लाख ५३ हजार ५ सय राजस्व संकलन गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.