गोक्यो हिमतालमा डुबेका तीन विद्यार्थी खोज्न गोताखोरको टोली
काठमाडौँ : सोलुखुम्बुको गोक्यो हिमतालमा बेपत्ता भएका तीनजना विद्यार्थी खोज्न शसस्त्र प्रहरीको गोताखोर टोली त्यसतर्फ लागेको छ। काठमाडौंबाट ५ जना गोताखोरको टोली हेलिकोप्टरबाट गोक्यो हिमतालतर्फ गएको हो ।
खुम्बुपासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाका अनुसार प्रमुख जिल्ला अधिकारीमार्फत् गोताखोर टोली पठाउन आग्रह गरिएको थियो । त्यसपछि गृहमन्त्रालयले सशस्त्र प्रहरीको गोताखोर टोली सोलुखुम्बु पठाएको हो ।
हेलिकोप्टरको सबै खर्च गाउँपालिकाले बेहोरेपछि गोताखोरको टोली त्यहाँ पुगेको हो । गोताखोर टोलीलाई खुम्बुपासाङल्हामु गाउँपालिका-५ का वडाअध्यक्ष लक्ष्मण अधिकारीले गोक्यो हिमतालतर्फ लग्ने शेर्पाले बताए ।
गएको शुक्रबारदेखि २ दिने भ्रमणमा निस्किएका खुम्जुङ माध्यमिक विद्यालयका ३ जना विद्यार्थी गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । शेर्पा समुदायको फाङ्गी पर्वको तीनदिने बिदामा खुम्जुङ माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थी गोक्यो हिमतालमा पुगेका थिए ।
कहाँ छ गोक्यो हिमताल
सोलुखुम्बुको सबैभन्दा ठूलो गोक्यो हिमताल हो । यो ताललाई शेर्पा भाषामा थोनाक भनिन्छ । समुन्द्र सतहबाट ४ हजार ७ सय ९० मिटरको उचाईमा रहेको यो ताललाई पछिल्लो समय थर्डलेक पनि भनिन्छ ।
सन् २००७ देखि गोक्यो ताल रहेको ७ हजार ७ सय ७७ हेक्टर क्षेत्रलाई विश्व रामसार सूचीमा राखिएको छ । सगरमाथा आधारशिविरपछि सबैभन्दा धेरै पर्यटक यहीँ पुग्छन् । यो ताल १९६.२ हेक्टरमा फैलिएको छ । यो ताल ६२.४ मिटर गहिरो छ ।