गुडबाई ! गुप्तवासी

गुडबाई ! गुप्तवासी

केही वर्षअघि मैले लेखेको थिएँ, ‘यदाकदा नगरकोट, गोदावरी वा शिवपुरीका जंगलतिर उनलाई भेटिए अन्यथा नलिनुहोला। सत्य के हो भने पछिल्लो २७ वर्षदेखि वरिष्ठ कलाकार÷लेखक मनुजबाबु मि श्र घनघोर गुफाबासमा छन्। काठमाडौं भूगोलको एउटा कम्पाउन्डभित्र कैद छन् उनी। तर, त्यो सजाय सुनाउने न्यायाधीश पनि उनै हुन् र भोग्ने पनि उनै हुन्। सार्वजनिक छवि भए पनि उनी सार्वजनिक दृश्यमा कतै देखिँदैनन्।’

मित्र दीपक सापकोटाले एउटा संस्मरण लेखिदिन आग्रह गर्दै बुधबार बिहान १० बजे सुनाएको ‘मनुजबाबु मि श्र बित्नुभयो’ भन्ने खबरपछि अब उनी नगरकोट, गोदावरी वा शिवपुरीका जंगलहरूतिर यदाकदा मात्र होइन, कहिल्यै पनि भेटिने छैनन्।’

त्यसो त एकपटक उनी चन्द्रागिरिमा पनि भेटिएका थिए। तर, उनी अब त्यहाँ पनि भेटिने छैनन्।

एक दिन मदनमणि दीक्षितले आफ्नो एउटा पुरानो पुस्तकको आवरण देखाउँदै त्यो मनुजबाबुले बनाएको भन्दै भेट्न जाऊँ भने। म र मदनमणि कालिकास्थानबाट बौद्धस्थित मनुजबाबुको हर्मिताज गएका थियौं। त्यसपछि अरू पनि थुप्रै भेट भए। कुराकानी भए। उनीसँगका घन्टौंघन्टाका अडियो संवाद अहिले पनि मेरो ल्यापटपमा सुरक्षित छँदैछ।      

धेरैको नजरमा कहालीलाग्दो जीवन बाँचेका मि श्रको अनौठो जीवन र जगत्प्रतिको उनको दृष्टिकोण भने रोचक थियो। आफैं प्रश्न गर्थे। उत्तर पनि आफैं दिन्थे।

उनीसँग केही अन्तरंग समय बिताउँदा मैले थाहा पाएँ, रसियन पेन्टिङले सन् १९९० सम्म अमेरिकामा प्रवेश पाउँदैन थियो। अमेरिकाका अमूर्त कलाकार ज्याक्सन पोलोको पेन्टिङ रसियामा प्रदर्शनीको त कुनै सम्भावनै थिएन। मनुजबाबुको पेन्टिङ साउदी अरेबियाको जद्धामा लगेर प्रदर्शनी गर्‍यो भने के हाल होला ?

यो सब किन हुन्छ ? उनको निष्कर्ष थियो, ‘राजनीतिले।’ राजनीतिज्ञ उनी थिएनन्। तर, राजनीतिले उनकै शब्दमा ‘अपठित’ उनकी श्रीमतीलाई प्रभाव पारिरहेको छ भने उनलाई प्रभाव पार्नु कत्रो ठूलो कुरो हो र ? कसैलै त्यो प्रभावलाई वेवास्ता गरे। कसैले बढ्ता महत्व दिए। उनले बढ्ता महत्व दिए।

भन्दै थिए, ‘मलाई महेन्द्रवादी भनून् कि जे भनून्, तर म राजतन्त्रवादी हुँ, राजावादी होइन। महेन्द्रले १ पुस ०१७ मा जुन काम गरे, त्यो काम नगरेको भए यो देश त्यति बेलै विदेश भइसकेको हुने थियो। मेरो घरको वरिपरि इन्डियन आर्मी घुम्थे, यहाँ। मैले मेरै आँखाले ०१७ सालमा त्यो देख्दादेख्दै ०४६ सालमा त्यही कुरा दोहोरिएर आउँदा म ताली बजाऊँ त ? खुसी भएर हाँसौं कि दुःखी भएर रोऊँ ? मेरो हृदयमा ठूलो चोट पुग्नु स्वाभाविक थियो।’

त्यसपछि उनी गुप्तवास बसे, आफूखुसी। झन्डै तीन दशक हुन लागिसकेको थियो, गुप्तवास पनि।

उनका अनुसार पूर्वीय दर्शनले अद्वैतवाद र द्वैतवाद भनेर त्यसै भन्या होइन। थप्दै थिए उनी, ‘विश्व कहिले मोनोथिस्ट थियो त कहिले पोलोथिस्ट हुन पुग्यो। हामीकहाँ पनि दुवै खालका छन्।’ उनीचाहिँ मनोथिस्ट भए।

०४६ सालअघि कलाको क्षेत्रको कुनै पनि गतिविधिसँग उनी परिचिति त थिए नै, नजिक पनि थिए। कलासम्बन्धी उनको पहिलो लेख ०१५ सालमा गोरखापत्रमा छापिएको थियो। तत्पश्चात् जे लेखे, कलासम्बन्धी नै लेखे। उनका झन्डै डेढ दर्जन किताब छन्। ती सबै कलासम्बन्धी नै हुन्। उनी ती किताबबारे व्याख्या गर्छन्, ‘भन्नलाई कुनैलाई निबन्ध भन्छन्। कुनैलाई प्रबन्ध भन्छन्। कुनैलाई कथा भन्छन्। तर, जेसुकै नाम दिए पनि, विधा जेसुकै भए पनि ती सबै कलासम्बन्धी नै हुन्।’ उनकै शब्दमा उनी केही जान्दथे भने कलाबारे नै जान्दथे। अरूबारे त उनलाई केही थाहा थिएन रे।

उनको विनम्रता पोखिन्थ्यो, ‘म अज्ञानी छु।’

‘एकान्तमा बस्ने कोही एकजना छ भने’, उनी भनिरहेका थिए, ‘उसले दुइटाबाहेक अर्को केही बनाउन सक्दैन। उसले कि देउता बनाउने प्रयास गर्छ। तर, देउता बनाउन सक्दैन उसले। मान्छेले हजारौं देउता बनाइसके। तर, कुनै पनि देउताजस्तो देखिँदैन। त्यसैले मान्छेले बनाउन जान्ने एउटै कुरा छ। त्यो हो भूत। विगतका कुराहरूलाई पनि भूत भन्छन्।’

राति तर्साउन आउने काल्पनिक आकारको दानव पनि भूत हो रे।

‘मान्छेले देउता बनाउने प्रयास गर्छ तर बनाउन सक्दैन। मान्छेले हजारौं देउता बनाइसके। तर, कुनै पनि देउताजस्तो देखिँदैन। त्यसैले मान्छेले बनाउन जान्ने एउटै कुरा छ— त्यो हो भूत।’ –मनुजबाबु मिश्र

मान्छेले दुइटा मात्र चीज बनाउँछ रे। कि देउता कि त भूत। उनी फेरि आफैंलाई सटायर गर्थे, ‘तर, देउता बनाउने ढंग त मेरो कहाँबाट पुगोस्। म जति बनाउँछु, सबै भूत बनाउँछु। भूतकै प्रशंसा गर्छु। भूतकै अध्ययन गर्छु। भूत नै बोल्छु।’

‘तपाईंसँग जो म बोलिरहेको छु, त्यो पनि भूतैले बोलेको हो’, म झसंग नभइसक्दै उनले प्रश्न फाले मतिर, ‘यो वर्तमान बोलेको हो र ? होइन। यो भूतै बोलेको हो।’

उनको भूत व्याख्यान जारी थियो, ‘वर्तमान त बोल्दैन नि। वर्तमानमा हामी भर्खर मात्र छौं भने हामी के बोल्छौं ? हामीलाई वर्तमानको अनुभव कहाँ छ ? वर्तमानबारे के बोल्ने हामीले ? भविष्यमाथि बोल्न सक्ने त झन् कुरै भएन। त्यसैले हामी जे गर्छौं, जे बोल्छौ सबै भूत हो। भूतबाहेक अरू केही छैन।’

उनी गुफामा बस्थे। गुफाभित्र बस्नु भनेको भूतप्रतिको अत्यन्त सद्भावको अभिव्यक्ति हो रे। उनको कुरा अनौठो लाग्दै थियो। म सुन्दै थिएँ, ‘पाषाण युगमा मान्छे गुफामा बस्थे। बाहिर निस्कूँ भने डायनोसरजस्तो कुनै जनावरले आक्रमण गथ्र्यो, माथ्र्यो। डायनोसरसँग कुस्ती खेल्ने तागत त मान्छेसँग थिएन। तर, गुफाभित्र बसेर मात्र पनि सम्भव थिएन। भोक लाग्छ, खानु पर्‍यो। शरीरको बचावट त सबैले गर्छन्। त्यसैले कहिलेकाहीँ बाहिर निक्ल्यो। सिकार गर्‍यो। अनि फेरि हत्तपत्त भित्र छिरिहाल्यो। र, ढोका थुनिहाल्यो। बाहिर निस्किन डर। यसो प्वालबाट हेर्‍यो। डायनोसर देखिएन भने बल्ल बाहिर निक्ल्यो। उनीहरूको सबभन्दा ठूलो शत्रु डायनोसर। अनि गुफाभित्र भित्तामा डायनोसरको चित्र बनायो। त्यसलाई मारेको कल्पना गर्‍यो। र, फेरि त्यसलाई मारेको चित्र बनायो।’

उनको गुप्तबासलाई जसले जे देख्छ, त्यही भनिदिए हुन्छ भन्थे। तर, भन्दै थिए, ‘यथार्थवादी हुँ। यथार्थ चित्र मात्र बनाउँछु। अमूर्त चित्र बनाउँदिनँ। व्याख्या गर्नुपर्ने चित्र पनि बनाउँदिनँ। मेरो एउटा चित्र छ। त्यहाँ बन्दुकको ब्यारेल छ। ब्यारेलको गोली बस्नुपर्ने ठाउँमा परेवाले गुँड बनाएको छ। परेवा भनेको शान्तिको प्रतीक हो। बाहिर निस्कूँ भने चीलहरू छन्, झम्टन तम्तयार।’

उनको विश्व त्यस्तो थियो। उनी परेवा हुन् रे। बन्दुकको नालभित्र छन् रे। कसैले टिगर दबाइदियो भने त्यहाँबाट गोली निस्किन्छ। भन्दै थिए, ‘त्यसपछि म मात्र होइन, विश्व नै ध्वस्त हुन्छ। अब यो बृहततालाई नहेरेर मैले यहाँ अब कसले कसलाई मार्‍यो ? कसले कसलाई हान्यो भनेर के सोचौं ? हामी मान्छे हो भने मान्छे भएर सोचौं, नेपाली भएर होइन।’

भन्दै थिए, ‘समयसँगै हिँड्न सकिन्न। धेरै पछाडि भइसकेँ म। एकजना नोबेल पुरस्कार विजेता मेक्सिकन विद्वान्ले भनेका छन्, मान्छेको टाउको विश्वको सबैभन्दा शक्तिशाली एन्टेना हो। मेरो टाउको पनि एन्टेना नै हो भने विश्वका घटनाहरू के मेरो टाउकोमा नठोक्किएर जाला ? हिमालको हावा त म भएको ठाउँमा पनि आउँछ। तर, यो हावा हिमालको मात्र होइन, ल्याटिन अमेरिकाको पनि त हो। त्यसैले अहिले विज्ञान र प्रविधिसँगै यात्रा गर्न नसके पनि आज विश्वमा मेरो वरिपरि के घटना भएको छ भन्नेमा चाहिँ त्यति अनभिज्ञ छु जस्तो लाग्दैन।’

उनी गुफाबासबारे निरन्तर बोल्दै थिए, ‘हो, म मेरो परिधिभन्दा बाहिर जान्नँ। तर, मेरो परिधिभित्र मेरा मित्र, आफन्त आउँछन् भने त हृदय खोलेर स्वागत गर्छु। त्यो एउटा कुरा हो तर समाज अहिले अर्कै भइसकेको छ। म समाजसँग छु भनूँ भने पल्लो घरको मान्छेले मलाई चिन्दैन। ‘म्यान इज अ सोसियल एनिमल’ भन्छन्। तर, म मान्छेलाई जनावर मात्र भन्छु। म जनावरको खोजीमा छु। मेरा हरेक पेन्टिङ त्यसैका साक्षी हुन्। सम्भवतः सेक्सपियरका समकालीन इटालियन समाजशास्त्री टम्स एकिनास्ले १५औं शताब्दीमा भनेका थिए, म्यान इज अ सोसियल एनिमल।’

उनका अनुसार त्यति बेला त्यो कुरा ठीकै हो। उनका अनेक प्रश्न थिए र उत्तर पनि। तर, म आजित थिइनँ। उनको मनोप्रश्नोत्तर मीठो लाग्दै थियो, ‘समाजबाहेक बाहिर मान्छे बाँच्न सक्दैनथ्यो। मान्छे समाजमै जन्मन्थ्यो, हुर्कन्थ्यो। तर, अहिले कसरी सामाजिक प्राणी हो मान्छे ? जब कि तपाईं यो कोठामा हुनुहुन्छ। अर्को कोठामा मान्छे मरिसक्यो। तर, तपाईं भात खाइरहनुभएको छ, अड्डा जान हतार भयो भनेर। तपाईं पल्लो कोठाको मान्छे चिन्नुहुन्न। तपाईं तल्लो तलामा को बस्छ, थाहा पाउनुहुन्न। माथिल्लो तलामा को बस्छ, चिन्नुहुन्न। तपाई यसरी एक्लिसक्नुभयो। न्युयोर्कको प्लेटफर्मबाट हिँड्नेलाई यो पनि थाहा छैन कि उसको बाउ कहाँ छ ? आमा कहाँ छिन्। दाजुभाइ कहाँ छन् ? ऊ नितान्त एक्लो छ। आधुनिकतासँगै एक्लोपन पनि आइरहेको छ। यस्तो एक्लो मान्छेले आफूलाई सामाजिक भन्न मिल्ला ? त्यसैले सामाजिक भन्ने शब्द झिकिदिनुहोस् र यति मात्र भन्नुहोस्, मान्छे जनावर हो।’

उनी फेरि मानिलिऊँवाला कुरा गर्दै थिए। कति सुन्नु ? तर, सुन्नुको पनि क्या मजा ! भन्दै थिए, ‘अहिले म र कोही एकजना हाँसेर कुरा गरिरहेका छौं। यति बेलासम्म हामी मान्छे नै हौं। परस्परमा हाम्रो हृदयले भन्दो हो, कति भद्र मान्छे। तर, अभद्र बोलेर वा केही गरेर अहिले त्यो मान्छेले मलाई रिसाउने बनाइदियोस् त। अथवा मैले उसलाई रिसाउने बनाइदिऊँ त। ऊ वा मभित्रको जनावरले अहिले नै आक्रमण गर्छ। त्यसैले मान्छे दुईखुट्टे जनावर हो। हामीभित्र त्यो जनावर छ भन्ने थाहा छ हामीलाई। कसैले रिस उठ्ने व्यवहार गर्नेबित्तिकै तुरुन्तै आक्रमण गरिहाल्छ। मलाई थाहा छ, मभित्र जनावर छ। तर, त्यो कस्तो छ ? त्यसको रूप र रंग कस्तो छ ? त्यो कुन आकारको छ ? बाँदरजस्तो छ कि ? ब्वाँसो जस्तो छ कि ? ’

उनले देख्न सकेका थिएनन् रे। उनले उनकै हजारौं चित्र बनाइसकेछन्। ती जम्मै मान्छेभित्र जनावरको खोजी हुन् रे।

खोजी गर्‍यो भने प्रिय पाठक ! तपाईंले पनि भेट्टाउनुहोला कि ? सोच्नोस् त। तपाईंभित्र कत्रो र कस्तो जनावर छ ?

के मनुजबाबुको मृत्यु एउटा जनावरको मृत्यु मात्र हो ?

गुडबाई ! गुप्तबासी।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.