वनमै अल्मलियो सडक

वनमै अल्मलियो सडक

गोरखा : गोरखा र पालुङटार नगरपालिका जोड्ने सडक स्तरोन्नतिको काम वन विभागले रोकेको छ । वन क्षेत्रभित्र पर्ने भन्दै विभागले ६ वर्षदेखि सडक कालोपत्रेको काम रोकेको हो ।

पालुङटार १ को अन्नपूर्ण वन क्षेत्रभित्र रहेको सो तीन किलोमिटर खण्डको आईई प्रतिवेदन लामो समयदेखि वन विभागले रोक्दा कालोपत्रे हुन नसकेको गोरखास्थित सडक योजना कार्यालयका प्रमुख अमृतमणि रिमालले जानकारी दिए ।

‘२० किलोमिटरमध्ये १७ किलोमिटर कालोपत्रे भइसक्यो । वन विभागमा फाइल अड्किएकाले तीन किलोमिटर खण्डको मात्र काम हुन सकेन’, रिमालले भने, ‘समस्या समाधानका लागि जिल्ला वन कार्यालय हुँदै विभागसम्म पत्राचार ग¥यौं, तर अहिलेसम्म फुकुवा भएको जानकारी आएको छैन ।’ सडक निर्माण गर्दा रूख काटिएको भन्दै उजुरी परेपछि वन विभागले काम अघि बढाउन रोकेको उनले बताए ।

सो सडक मध्यपहाडी लोकमार्गमा पर्छ । स्तरोन्नति हुन नसक्दा सो सडक मध्यपहाडी लोकमार्गलाई हस्तान्तरण गर्न पनि गाह्रो भएको सडक कार्यालयले जनाएको छ । २० किलोमिटरमध्ये नौ किलोमिटर सडक कालोपत्रे गर्न २०६९ सालमा स्वच्छन्द हीरा एन्ड नमिता जेभी कम्पनीले ठेक्का लिएको थियो । ‘अरू खण्डको काम सम्पन्न भएको छ । तीन किलोमिटर मात्र छ वर्षदेखि बाँकी बसेको बसेकै भयो’ साइट हेर्ने सबइन्जिनियर रेयोन फुयाँल भन्छन्, ‘मध्यपहाडी लोकमार्गलाई छिटोभन्दा छिटो बुझाउनुपर्ने छ, तर अहिलेसमम वन विभागले फुकुवा दिएको छैन ।’

तीन किलोमिटर सडक कालोपत्रे नहुँदा गोरखा पालुङटारको कालोपत्रे सडक वर्षाभरि अवरुद्ध हुने गर्छ । १७ किलोमिटर कालोपत्रे भए पनि बाँकी सडकमा गाडी फस्ने गरेको स्थानीय बासु विष्ट बताउँछन् । ‘यत्ति पिच नहुँदा जनतालाई धेरै गाह्रो भएको छ’, उनी भन्छन्, ‘सानो गाडी त हिँड्दैन । ट्रक, ट्र्याक्टर पनि दुई तीन घण्टासम्म फस्छ ।’

सो सडक स्तरोन्नति हुँदा क्षति हुनसक्ने रूखको विवरण तीन वर्षअघि नै विभागमा पठाइसकिएको जिल्ला वन अधिकृत जीवनाथ पौडेल बताउँछन् । जिल्लाका सरोकारवाको मागअनुसार जिल्लाबाट सिफारिस गरिपठाएको उनको भनाइ छ । ‘जिल्लामा केही रोकिएको छैन । विभागमा रोकिएको फाइल अघि बढाउन सडक विभागले नै पहल गर्नुपर्छ’, उनले भने ।

सडक योजना कार्यालयका प्रमुख रिमालले भने तत्काललाई सहज बनाउन हिलोमा ग्राभेल गर्ने काम अघि बढाउने तयारी गरेको बताएका छन् । ‘गोरखा–पालुङटार सडकमा गाडी नियमित गर्न अल्पकालीन रूपमा ग्राभेल गर्ने ठेक्का दिएका छौं, पानी पर्न रोकिएपछि ग्राभेल गर्छौं’, रिमालले भने ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.