पीडितलाई बाढीकै त्रास

पीडितलाई बाढीकै त्रास

इटहरी : इटहरी उपमहानगरपालिकास्थित बूढी खोला किनारको गैरीगाउँमा बस्छिन्, सानुमाया राई। यहाँ उनले हालै नयाँ घर बनाएकी छन्। आफन्त र दाताको सहयोगमा बनेको घरमा उनी रातिचाहिँ बस्दिनन्।

‘राति अलि माथि आफन्तको घरमा जान्छु’, उनले भनिन्, ‘अघिल्लो वर्षझैं यसपटक पनि बाढी आउँछ कि भन्ने डर।’

उनले घरको भित्तामा झुन्ड्याएको झोलामा प्रमाणपत्र, पैसा प्लास्टिक थैलोभित्र हालेर राखेकी छन्। ‘केही भयो भने भागिहाल्नका लागि यो तयारी गरेकी हुँ’, उनले भनिन्।

अघिल्लो वर्ष साउन २७ गते राति बूढी खोलामा बाढी आएको थियो। बाढीको वितण्डा भोलिपल्ट २८ गते मात्र देखियो। यहाँका प्रायः घरमा क्षति पुगेको थियो। कतिपय घर बगेका थिए, कतिपय माटो र बालुवाले पुरिएका थिए।

सानुमाया बसेको घर बगाएर बाढीले उनका तीन आफन्तको ज्यान लिएको थियो। उनकी दिदी, भिनाजु र उनीहरूका छोरोको ज्यान लिएको बाढीले दुई जनालाई अनाथ बनाएको थियो।

सानुमाया जनता बस्तीमा बसेर स्थानीय मन्टेस्वरीमा पढाउँथिन्। छुट्टीका बेला उनी दिदीको घर इटहरी-४ स्थित गैरीगाउँ पुग्थिन्। अघिल्लो वर्ष साउन २७ गते उनी बूढी खोला किनारमा रहेको दिदीको घर पुगेकी थिइन्। भोलिपल्ट दिदीका कान्छा छोरो निमेषको जन्मदिन थियो तर निमेषले भोलिपल्ट देख्नै पाएनन्। सोही रात आएको बाढीमा आमाबुवासँगै उनको ज्यान गयो। उनका दाइ निशान र दिदी कमला भोलिपल्ट रूखमा बसिरहेको अवस्थामा भेटिएका थिए। जन्मदिन मनाउन नसकेको भाइ र दिदी-भिनाजु सम्झेर सानुमाया अहिले पनि रुन्छिन्।

उनी पनि झन्डै १० किलोमिटर बाढीमा बगेकी थिइन्। घटनाको लामो समय उनको मनस्थिति राम्रो रहेन। ‘राति-राति चिच्याउने गर्थें’, उनले भनिन्, ‘त्यही कुरा दिमागमा आइरहन्थ्यो, पछि मात्र क्याम्पस जान थालें, पढाउन त छाडिदिएँ।’ कमला र निशान एसओएस बालग्राम इटहरीको शरणमा छन्।

अघिल्लो वर्ष इटहरीमा बाढीका कारण बस्तीका सात जनाले ज्यान गुमाएका थिए।

घरको सिलिङमा ओढ्ने-ओछ्याउने

सानुमायालाई अझै बाढी आउँछ कि भन्ने डर छ। ‘तर अन्त कहाँ जानु ? ’ उनले भनिन्, ‘पैसा छैन, वर्षमा एकपटक डर हुने हो, त्यसैले यहीं बसें।’

अघिल्लो वर्ष बाढीले डुबाएको गैरीगाउँका धेरै घरमा ओढ्ने-ओच्छ्याउने सिलिङमा राखिएका छन्। स्थानीय दुर्गा भुजेलले पनि घरको सिलिङमा सिरक, डसनालगायत लुगाकपडा राखेकी छन्। ‘बाढी आए पनि क्षति नहोस् भनेर यस्तो गरेकी हुँ’, उनले भनिन्, ‘अब त राहत पनि दिँदैनन् होला।’ स्थानिय सञ्जय शर्माले राति-राति उठेर खोला हेर्न जाने गरेको सुनाए। बाढीको समयमा उनकी बुहारी र भतिजीको मृत्यु भएको थियो। ‘घरमा बाढी पसेर अर्को ठूलो घरमा जाने हुँदा करेन्ट लागेर त्यही लडेछन्’, उनले नजिकै रहेको छोरालाई देखाउँदै भने, ‘हामी बाबुछोरालाई पनि करेन्टले छोएको थियो।’ अहिले भाइ पत्नी र छोरीको वियोगमा मानसिक बिरामी भएको उनले सुनाए।

बाढीप्रभावित क्षेत्रमा धेरैले कच्ची घर भत्काएर पक्की बनाएका छन्। उक्त जग्गा ऐलानी भए पनि पीडितले जोखिम मोलेरै खोलाछेउ घर बनाएको जनाइएको छ।

बाढीले खोला किनारमा बस्नेलाई मात्र होइन, इटहरी चोकमा भएका पक्की र सुविधासम्पन्न घरसमेत डुबाएको थियो। घर तथा पसलभित्र पानी पसेर करोडौंको क्षति भएको थियो। उपमहानगरपालिकाले बाढी आउनुमा दुईवटा कारण पहिल्याएको छ, पहिलो- सेहरा खोलाको बाढी ‘ओभरफ्लो हुनु’ अनि दोस्रो- नदी, नाला अतिक्रमणमा पर्नु।

सेहरा खहरे खोला हो, यहाँको पानी बूढी खोलामा मिसिन्छ। तर त्यसअघि नै ओभरफ्लो भई टेंग्रा खोला हुँदै सहरमा पस्ने गरेको छ। ‘वर्षौंदेखि यही क्रम चल्दै आएकोमा हामीले यसपटक जंगलमै तटबन्ध लगाएका छौं’, इटहरीकी उपमेयर लक्ष्मी गौतमले भनिन्, ‘यसपटक बाढीको सम्भावना कम छ।’

उपमहानगरपालिकाले इटहरीमा खोला र नाला मिचेर बनाइएका संरचना भत्काउन थाले पनि निरन्तरता भने छैन। मेयर द्वारिकलाल चौधरीले भने सार्वजनिक खोला, नाला सफाइ निरन्तर रहेको बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.