महाकालीको डर, ‘रातभर निद्रा लाग्दैन’

महाकालीको डर, ‘रातभर निद्रा लाग्दैन’

महेन्द्रनगर : ‘घरछेउ नजिकै उर्लिंदो महाकाली छ । बर्सेनि नदीले जमिन कटान गर्दै लगेपछि झनै महाकालीले आफ्नो क्षेत्र फराकिलो बनाउँदै लगेको छ । अझ बर्खा सुरु भएपछि झनै महाकालीको डरलाग्दो रुप देखिन्छ । र, कटानसमेत तीव्र पार्छ’, कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलास्थित महाकाली टोलकी कौशिका पन्तले भनिन् ।

बर्खा सुरु भयो कि उनलाई रातभर निद्रा लाग्दैन । नदीको धार घरनजिकै आउन लागिसकेकाले उनको चिन्ता झन् बढ्दै गएको छ । वर्षौंदेखि महाकाली टोलमा बस्दै आएकी उनले सुरुमा देखेको महाकाली नदी र अहिलेको धेरै फरक भइसकेको छ 

‘वर्षाैंअघि धेरै टाढा बगेको देखिन्थ्यो महाकाली नदी, अहिले घरनजिकै आइसक्यो’ कौशिकाले भनिन् । ‘जति–जति नदीले बर्सेनि कटान गर्दै लगेको छ, त्यति नै आफ्नो चिन्तासमेत बढेको छ ।’ उनको घरनजिकै पुगिसकेको छ, आजभोलि महाकाली नदी । उनले घर, सम्पत्ति र बालबच्चा कसरी जोगाउने भन्ने डरले सधैं सताउने गरेको बताइन् ।

कौशिका पन्त मात्र होइनन्, महाकाली नदीकिनारमा बस्ने भीमदत्त नगरपालिकाका भुजेला, ऐरी, ओदाली, क्षेत्रका विभिन्न टोलका मानिसको एउटै पीडा हो । ‘धेरै वर्ष भयो महाकालीमा आउने बाढीको पीडा भोग्दै आएको तर अहिलेसम्म पनि स्थायी समाधान भएको छैन’, स्थानीय राधिका नेपालीले भनिन,्‘सरकारले तटबन्ध बनाएजस्तो गर्छ तर सधँै बाढीले असर पु¥याउँदा त्यसको क्षति स्थानीयलाई हुन्छ ।’

उनले सरकारले मजबुत खालको तटबन्ध निर्माण नगर्दा बर्सेनि समस्या हुने गरेको बताइन् । ‘समयमा ठेकेदारले यस वर्षसमेत काम गरेनन् र अहिले पनि कटान थालिसक्यो’, उनले भनिन्, ‘सरकारले समयमा कामको जिम्मा दिएर भरपर्दो र बलियो तटबन्ध नबाँधेसम्म सधँै बाढीले दुःख दिइरहनेछ ।’

भारत सरकारले आफ्नो भूभाग जोगाउन पक्की संरचना निर्माण गरी तटबन्ध बनाएकाले नेपालतर्फ समेत त्यस्तै खाले तटबन्ध निर्माण आवश्यक रहेको उनी बताउँछिन् । ‘हामी त बाढी घर पसे पनि भागेर बाँच्न सकौंला तर बालबच्चा र बूढाबूढी कसरी जोगाउने भन्ने चिन्ता बढी हुन्छ’, उनले भनिन् ।

बर्सेनि महाकाली नदी नियन्त्रणका लागि करोडौं रकम खर्च हुने गरेको छ । तर, समस्या भने समाधान हुन सकेको छैन । ‘सरकारले अलिअलि गरेर काम गराउने, त्यही कामसमेत समयमा सम्पन्न हुँदैन’, देवीसरा सुनारले भनिन् । उनले हरेक वर्ष नदी नियन्त्रणका लागि आउने रकम बालुवामा पानी हालेजस्तै भइरहेको बताइन् ।

महाकाली नदी नियन्त्रण संघर्ष समितिका अध्यक्ष श्याम थापा सरकारले एकै ैपटक धेरै बजेट लगाएर काम थाल्नुपर्ने बताउँछन् । ‘यो समस्या प्रतिदिन बढ्दै जाने हो’, उनले भने, ‘महाकाली नदी नियन्त्रण गर्न बलियो तटबन्ध निर्माण गर्नु आवश्यक छ ।’

यस वर्ष पनि बर्खा सुरु भएदेखि नै महाकाली टोलमा नदीले तटबन्ध कटान गर्न थालेको थियो । स्थानीयले तत्काल वैकल्पिक रूपमा नियन्त्रण गरे पनि वर्षात अझै बाँकी रहेकाले ढुक्क हुने अवस्था भने छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.