खस्कियो भारतीय रुपैयाँ
मुम्बई : टर्कीको वित्तीय संकटको प्रभाव स्वरूप लगानीकर्तामा देखिएको त्रासका कारण अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य खस्किएको छ । मंगलबार बजार खुल्दा १ अमेरिकी डलर भारु ७० मा किनबेच भएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।
गत सातादेखि नै टर्कीको झैं दक्षिण अफ्रिका, अर्जेन्टिना, मेक्सिको, ब्राजिल र रूसको मुद्रा कमजोर हुँदै गएको छ । यी मुलुकहरू विदेशी पूँजी, खासगरी डलरमा ज्यादै निर्भर रहेका छन् । भारतीय रुपैयाँको परिवत्र्य दर अमेरिकी डलरको तुलनामा सन् २०१८ मा कमजोर हुँदै गएको थियो । सन् २०१८ को प्रारम्भमा अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको परिवत्र्य दर ६३.६७ रुपैयाँ थियो ।
भारतको सबैभन्दा ठूलो आयात नै खनिज तेल हो । भारतले कुल आवश्यकताको दुई तिहाइ तेल आयात गर्दछ । विश्लेषकहरूका अनुसार कच्चा इन्धनको मूल्यमा हुने वृद्धिले भारतीय मुद्राको अवमूल्यन हुने गर्दछ र लगानीकर्ताका लागि भारतीय रुपैयाँ त्यति आकर्षक रहँदैन । रुपैयाँमा आएको गिरावटले भारतको चालू खाताको घाटालाई थप वृद्धि गर्ने उनीहरूको भनाइ छ ।