भारतका पूर्वप्रधानमन्त्री वाजपेयीको निधनमा राष्ट्रिय शोक
छोटो दिलले कोही बडो हुँदैन ।
जित होस् कि हार, मलाई कुनै डर छैन ।
कर्तव्य पथमा जे मिल्यो, यो वा त्यो सबै सही ।
वरदान माग्दिनँ, जेसुकै होस् हार मान्दिनँ ।
हार मान्दिनँ, नयाँ संघर्ष ठानूँला ।।
नयाँदिल्ली : भारतका पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार साँझ ५ः०५ बजे निधन भएको छ ।
अल इन्डिया आयुर्विज्ञान संस्थान (एम्स)ले पत्रकार सम्मेलनमार्फत भनेको छ, ‘उहाँलाई बचाउनका लागि एम्सका चिकित्सकको विशेष पहल सार्थक हुन सकेन । उहाँको साँझ ५ बजेर ५ मिनेटको समयमा निधन भएको छ ।’
तीनपटक प्रधानमन्त्री बनेका उनी पछिल्लोपटक दुई महिनादेखि एम्समा उपचाररत थिए, उनी ९ वर्षदेखि विरामी थिए । उनलाई पिशाब नलीमा संक्रमण भएपछि ११ जुनमा एम्समा भर्ना गरिएको थियो । पछिल्लो पटक उनको एउटा मात्रै मृगौलाले काम गरिरहेको थियो । ३० वर्षदेखि निजी चिकित्सक रहेका डा. रणदीप गुलेरियाको रेखदेखमा एम्समा उनको उपचार भइरहेको थियो । मधुमेहका विरामी वाजपेयीलाई गत जुन ११ तारिखदेखि अस्पतालमा भर्ना गरिएको थियो । उनमा मिर्गौलाको संक्रमणलगायत विभिन्न स्वास्थ्य समस्या पनि देखिएको थियो ।
बुधवार राति एम्सले चिकित्सा बुलेटिन निकाल्दै अटलको स्वास्थ्य पछिल्लो २४ घण्टामा धेरै बिग्रिएको जनाएको थियो । त्यसपछि उनलाई ‘लाइफ सपोर्ट सिस्टम’ मा राखिएको थियो । बिहीबार बिहान जारी बुलेटिनमा एम्सले अटलको स्थितिमा कुनै सुधार नभएको जनाएको थियो ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्विटर पेजमा पूर्वप्रधानमन्त्री वाजपेयीजीको निधनले आफूलाई ठूलो दुःख लागेको उल्लेख गरेका छन् । भारतीय जनता पार्टीका (भाजपा)का संस्थापक नेता वाजपेयी विभिन्न समयमा तीनपटक देशको प्रधानमन्त्री बनेका थिए ।
अटल बिहारी वाजपेयी देशको सक्रिय राजनीतिमा पाँच दशकभन्दा धेरै समय सक्रिय रहे । उनी देशको पहिलो गैरकांग्रेसी प्रधानमन्त्री थिए । उनी पहिलोपटक सन् १९५७ मा लोकसाभा सदस्यमा विजयी भएका थिए । त्यो बेलादेखि सन् २००९ सम्म उनी लगातार संसदीय राजनीतिमा सक्रिय रहे । सन् १९७७ मा उनी पहिलोपटक मन्त्री भए । त्यसपछि सन् १९९६ मा उनी १३ दिनका लागि प्रधानमन्त्री बने ।
उनी सन् १९९१, १९९६, १९९८, १९९९ र २००४ मा लखनउबाट लगातार लोकसभा सदस्यमा निर्वाचित भएका थिए ।
अटल भाषण र कविताद्वारा श्रोतालाई मुग्ध पार्न सफल व्यक्ति थिए । उनले सन् २००५ मा सक्रिय राजनीतिबाट सन्न्यास लिएका थिए । त्यसपछि उनले घरमा आराम गर्दै आएका थिए । कैयौं वर्षदेखि बोल्न र लेख्न पनि उनलाई गाह्रो हुँदै आएको थियो । उनले कुनै व्यक्तिलाई पनि चिन्न सक्दैनथे । उनलाई सन् २०१५ मा तत्कालीन राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले घरमै पुगेर भारतकै सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’द्वारा सम्मानित गरेका थिए ।
उनी लामो समयदेखि डिमेन्शिया (मनोभ्रांस) रोगबाट पीडित थिए । यस्ता विरामीको स्मरण शक्ति कम हुँदै जान्छ र आफ्ना दैनिक काम पनि उचित तरिकाले गर्न सक्दैन । यस्ता व्यक्ति निकै दुःखी हुने वा उदास हुन थाल्छन् ।
सन् १९२४ डिसेम्बर २५ मा उत्तर प्रदेशको आगरा जनपदको प्राचीन स्थान बटेश्वरमा उनको जन्म भएको थियो । गठबन्धन सरकारलाई स्थायित्व र सफलता प्रदान गर्ने प्रधानमन्त्रीको रूपमा पनि उनलाई सम्झने गरिन्छ । उनले कानपुरको डीएभी कलेजबाट राजनीति शास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गरेका थिए । एलएलबीको अध्ययन बीचमै छोडेर विद्यार्थीकालदेखि उनी राष्ट्रिय स्वयंसेवक संघमा लागेका थिए ।
महात्मा रामचन्द्र वीरद्वारा रचित अमर कृति ‘विजय पताका’ पढेर आफू परिवर्तन भएको बताउने अटलले डा. श्यामप्रसाद मुखर्जी र पं. दीनदयाल उपाध्यायको निर्देशनमा राजनीतिक शिक्षा लिएका थिए । राष्ट्रियस्तरको वादविवाद प्रतियोगिताहरूमा भाग लिएर सार्वजनिक छवि बनाएका वाजपेयीले पाञ्चजन्य, राष्ट्रधर्म, दैनिक स्वदेश र वीर अर्जुनको सम्पादक समेत बनेका थिए । प्राध्यापन पेशामा रहेका र राम्रा कवि मानिएका आफ्ना पिता कृष्णविहारी वाजपेयीको प्रेरणाबाट उनी साहित्यिक क्षेत्रमा लागेका थिए । उनको पहिलो कविता ‘ताजमहल’ मानिन्छ । राष्ट्रप्रतिको वैयक्तिक संवेदनशीलता, संघर्षमय जीवन, परिवर्तनशीलता, जेलवास सबै परिस्थितिको प्रभाव एवं अनुभूति अटलका कवितामा पाइन्छ ।
भारतीय जनसंघका संस्थापक वाजपेयी सन् १९६८ देखि १९७३ सम्म त्यसको अध्यक्षको भएर नेतृत्व गरेका थिए । सन् १९५७ मा बलरामपुरबाट भने जनसंघका तर्फबाट विजयी भई लोकसभामा उनी पुगेका थिए । सन् १९५७ देखि १९७७ सम्म जनसघंको संसदीय दलको नेता बने भने १९६८ देखि १९७३ सम्म भारतीय जनसंघको राष्ट्रिय अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । सन् १९७७ देखि १९७९ सम्म भारतको विदेशमन्त्री बनेर उनले विदेशमा भारतको छवि राम्रो बनाउन सफल भएका थिए । उनले संयुक्त राष्ट्रसंघमा हिन्दीमा भाषण गरेर भारतीयलाई गौरवान्वित गराएका थिए ।
सन् १९८० मा भारतीय जनता पार्टीको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका अटलले ६ अप्रिल, १९८० मा सो पार्टीको अध्यक्ष पदको जिम्मेवारी पाएका थिए । त्यसपछि दुईपटक राज्यसभामा निर्वाचित भए र सन् १९९७ मा प्रधानमन्त्रीका रूपमा पहिलोपटक देशको बागडोर सम्हालेका थिए । उनले सन् १९९८ को अप्रिल १९ मा पुनः प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै १३ दलको गठबन्धन सरकारमार्फत पाँच वर्षमा देशको विकासमा अनेक आयाम थपे ।
आफ्नो कार्यकालमा उनले अग्नि–२ परमाणु परीक्षण गरेर देशको सुरक्षाका लागि सशक्त कदम उठाएका थिए । उनकै कार्यकालमा सय वर्षभन्दा लामो कावेरी जल विवाद समाधान भएको थियो ।
भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति वैंकेया नायडु, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंहलगायतका नेताहरूले पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको निधनप्रति शोक व्यक्त गरेका छन् । राष्ट्रपति कोविन्दले ट्विट गर्दै लेखेका छन्, ‘हाम्रा पूर्वप्रधानमन्त्री तथा भारतीय राजनेता अटलविहारी वाजपेयीको निधनको खबरले म निकै दुःखी बनेको छु । उहाँको नेतृत्व, दीर्घ सोच, परिपक्वता, वाकपटुताले उहाँलाई विश्वभर एक कुशल नेताका रूपमा चिनिन्थ्यो । उहाँलाई सबैले सधैँ सम्झिरहनेछन् ।’
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्विटरमा लेखेका छन्, ‘भाजपाका नेताको अवसानसँगै यस युगको समाप्त भएको छ । प्रिय अटलजीको निधनमा देश गहिरो शोकमा डुबेको छ । उहाँको निधनबाट एक युगको अन्त्य भएको छ । उहाँ राष्ट्रका लागि बाँच्नुभयो र दशकौँसम्म परि श्रमका साथ काम गर्नुभयो । यस दुःखद घडीमा म उहाँको परिवारजन, भाजपाका कार्यकर्ता तथा शुभेच्छुकको साथमा रहने प्रतिवद्धता जाहेर गर्न चाहन्छु । ओम् शान्ति । वाजपेयीको निधनले मेरो व्यक्तिगत जीवनमासमेत अपूरणीय क्षति पुगेको छ ।’ त्यसैगरी नायडुले पनि वाजपेयीलाई ‘एक सच्चा भारतीय’ भन्दै उनको निधनबाट भारतलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।