सुदूरपश्चिममा 'ओल्के' पर्व मनाइँदै

सुदूरपश्चिममा 'ओल्के' पर्व मनाइँदै

धनगढी : काँक्रा, भाण्टा, मुला,दही, पिँडालुका पात र हरियो सागपात आफन्तजनलाई बाँडेर प्रदेश-७ मा ओल्के पर्व उल्लासपूर्वक मनाइँदैछ। साउन मसान्तसँगै प्रदेश- ७ मा 'ओल्के' पर्वको रमझम सुरु हुने गर्दछ। साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा प्रदेश- ७ का पहाडि जिल्लामा ओल्के पर्व मनाउने चलन छ। 

साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्वका साथ ओल्के पर्व मनाइने परम्परा रहि आएको छ। ओल्को भन्नाले 'उपहार' वा 'कोसेली' भन्ने बुझिन्छ। आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो-मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो ।

यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाको मौलिक पर्वका रुपमा पनि रहिआएको छ। गाउँका मुखिया तथा मान्यजनको घरमा हरियो सागपात दिएर वर्षायाममा दैवी प्रकोपबाट बाँचिएको खुशीयालीमा सद्भाव बाँड्ने गरिन्छ।

यहाँ हरियो सागपातको कोशेलीलाई नै 'ओल्को' भन्ने गरिन्छ। पहिले वर्षायाममा दादुरा, झाडापखाला, हैजा, लुतो, कुष्ठरोगजस्ता रोग लाग्ने भएकाले ति रोगबाट बाँचिएको खुसी साट्न यो पर्व मनाइएको वरिष्ठ गायक नन्दकृष्ण जोशी बताउँछन्। उनले भने, 'दैवीप्रकोपबाट बाँचिएको खुसी साट्न ठूलावडा तथा जेठो नातापर्नेलाई हरियो सागपात दिएर सम्मान दिने गरिन्छ।' 

ओल्केकै दिन सबै गाउँ नजिकैको चौबाटोमा गई सल्लाको लिङ्गो समेत गाड्ने गर्छन्। भदौ सक्रन्तिका दिन गाउँ नजिकका डाँडामा सबैजना भेला भएर रूखका हाँगाबिँगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ।

यो थुप्रोलाई स्थानीय भाषामा 'बुढी हालेको' भन्दछन्। यो बुढीलाइ भदौ मसान्तका साँझ गाउँका सबैजना मिलेर एकैसाथ पोल्ने चलन छ। भदौ मसान्तका दिन जलाइने लिङ्गोलाई बूढी पोलिएको भन्ने परम्परा रहेको बाजुरा घर भएका धनगढीका धुर्बराज जोशीले बताए। 'विशेषगरी ओल्के ठूलाबडाको आदर सत्कार र सम्मान गर्ने पर्व हो' उनले भने।

प्रदेश- ७ का पहाडको मौलिक पर्वको रुपमा रहेको ओल्केमा कामका लागि घरदेखि टाढा गएकाहरु समेत घर फर्कने गर्छन्। आपसमा दुखदु:ख साटासाट गर्ने चलन छ। वर्षामा दैवीप्रकोपबाट बाँचिएको खुशीयालीमा ओल्के र दुःखका दिन आउन थालेको दुःखमा बिसु पर्व मनाउने गरिन्छ।

वैशाख लगत्तै विभिन्न रोग व्याधि तथा दैवी प्रकोपको समय आउने भएकाले मर्नुपर्ने हो कि भन्ने चिन्ताले बिसु पर्व मनाउने गरिएको साहित्यकार पदमराज जोशीले बताए। 'दैवी प्रकोपबाट बचेको भन्दै खुशीयालीमा भने ओल्के पर्व मनाउने गरिन्छ।' ओल्केलाई लक्षितगरी उखान समेत बनाएका छन्। उनले भने, ' बाँचे भनि ओल्के खानु, मरौला भनि बिसु' खानु भन्ने उखान चर्चित रहेको समेत उनले बताए। उनले भने, 'उखानबाट नै ओल्के पर्वको महत्व झल्किएको छ।'
 
सुदूरपश्चिमका पहाडी जिल्लाका गाउँगाउँमा ओल्के पर्वको अवसरमा पिङ समेत खेल्ने गरिन्छ।ओल्केकै अवसरमा यहाँका स्थानीय डेउडाको खेल समेत खेल्ने गर्छन्। साउन मसान्तको रातिदेखि भाद्र संक्रान्तिको दिनभरी देउडा खेल खेल्ने गरिएको वरिष्ठ डेउडा गायक नन्कृष्ण जोशी बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.