पहाडका गाउँपालिका अझै सदरमुकामै

पहाडका गाउँपालिका अझै सदरमुकामै

धनगढी : कैलाली जिल्लाको पहाडी गाउँपालिका मोहन्याल अहिले पनि प्रदेश राजधानी धनगढीबाट सञ्चालन भइरहेको छ । साविकको खिमडी गाविसको खिमडीलाई गाउँपालिकाको केन्द्र तोकिए पनि त्यहाँ इन्टरनेट, फोन र बैंक सुविधा नभएको भन्दै एक वर्षदेखि गाउँपालिका कार्यालय धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरस्थित भाडाको घरबाट सञ्चालन गरिएको छ । ‘त्यहाँ न इन्टरनेट छ, न टेलिफोन नै । सबै काम अनलाइनमा गर्नुपर्छ, कसरी गर्नु ? ’ मोहन्याल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश ओझाले भने ।

‘गाउँपालिका तोकिएका बेला सरकारले खिमडीलाई केन्द्र तोकेको थियो, त्यसपछि चुनाव भयो, चुनावपछि गाउँपालिकाको ईमेल हेर्न पनि तराई झर्नुपर्ने भयो, त्यसैले धनगढीमा कार्यालय राखेको हो’, उनले भने । धनगढीको तारानगरमा बोर्ड पनि नभएको र गाउँपालिकाको कार्यालय जाने संकेत पनि नराखिएरै भन्दै गाउँलेले असन्तुष्ठि व्यक्त गरेका छन् ।

गाउँपालिका कार्यालय नहुँदा सदरमुकाम पुगेर काम गर्नुपर्ने बाध्यता भएको मोहन्यालका–४ का स्थानीय मानबहादुर बमले बताए । ‘गाउँ गाउँमा सिंह दरबार पुग्यो भन्छन तर हाम्रो सिंहदरबार गाउँबाट डेढ सय किलोमिटर टाढा धनगढीमा बसेको छ’, मल्लले ब्यङग्य गरे । उनले गाउँपालिकाको सानो कामका लागि पनि धनगढी आउनुपर्ने बाध्यता रहेको बताए ।

मोहन्याल गाउँपालिकामा ७ वटा वडा छन् । चुनाव लगत्तै प्रशासन तिरका दुईजना वडा सचिवले पुरै गाउँपालिका चलाउन प¥यो । स्थानीय तहमा स्वास्थ्य, पशु, कृषि कार्यालय पनि गाभिएपछि गाउँपालिकाले उनीहरूलाई पनि वडासचिवको जिम्मेवारी तोकेको छ ।

‘अहिले वडा नम्बर ३ मा प्रशासनतर्फका वडासचिव तेजबहादुर शाह र वडा नम्बर १ र ४ मा वडासचिव ठाकुरप्रसाद भण्डारी छन्, बाँकी सबै वडामा अरू नै विषयगत कार्यालयका कर्मचारीलाई वडासचिवको जिम्मेवारी दिइएको छ’, प्रमुख प्रशासकीय अधिकृत ओझाले भने ।

वडासचिवको दरबन्दी खाली भएपछि वडानम्बर ६ र ७ को जिम्मेवारी प्राविधिक सहायक केशव बोहरालाई दिइएको छ भने वडानम्बर ५ को वडा सचिवको जिम्मेवारी अहेब निराजन खत्रीलाई दिइएको छ । पशु प्राविधिकको रूपमा गाउँपालिकामा खटिएका मनोज आचार्यलाई वडानम्बर २ को सचिवको जिम्मेवारी दिएर काम चलाई रहेको ओझाले बताए ।

धनगढीमा राखिएको गाउँपालिकाको कार्यालयमा प्रशासकीय अधिकृत, एकजना अधिकृत, एकजना लेखापाल र एकजना कम्प्युटर अपरेटर बस्दै आएका छन् । जनप्रतिनिधिको बस्ने कुनै स्थायी ठेगान नै छैन । कर्मचारी दिनभर कार्यालयमा बसेर दिन बिताउने गरेका छन् । बैकिङ कारोबारका लागि पनि धनगढी कार्यालय राख्नुपरेको गाउँपालिका लेखापाल खुशीराम चौधरीले बताए ।

‘बैकिङ कार्यका लागि धनगढी पुग्नुपर्छ, बैंक बिना खिमडीमा बसेर काम सम्भव छैन्’, उनले भने । गाउँपालिकामा समायोजन भएका कार्यालय, पशु, कृषि र स्वास्थ्यका कार्मचारी पनि मोबाइल टोली जस्तै भएका छन् । वडासचिवको जिम्मेवारी पाएका कमचारी घाडाडोटी नगरपालिकाको पहलमानपुर र सुखडमा नै बस्ने गरेका छन् ।

‘वडासचिवलाई भेटनु परेमा फोन गरिन्छ । उनको समय बुक गरिन्छ, अनी सुखड र पहलमानपुरमा आउर भेटने गरिन्छ । हाम्रो गाउँ गाउँको सिंह दरबारको कथा यस्तै छ’, मोन्याल–७ का कृपाराम उपाध्यायले भने ।

गाउँपालिकाका अध्यक्ष नवलसिंह रावल पनि पूर्वाधार नहुँदा कार्यालय गाउँमा राख्न नसकिएको बताउँछन् । ‘दुई पटक गाउँपालिकाको कार्यालयका लागि घर भाडाको सूचना प्रकाशन ग¥यांै, तर कसैले निवेदन नै हालेनन्, खिमडीमा कुनै घर नै पायक छैन । धनगढीमा कार्यालय राख्न हामी बाध्य छौैं’, अध्यक्ष रावलले भने ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश ओझाले बुधबार मात्रै फलेविसौनामा घर भाडाका लागि कुरा भएको जानकारी दिए । ‘हामीले सूचना प्रकाशित गरेका थियौं, फलेबिसौनामा दुई जनाले आवेदन दिएका छन् । प्राविधिक गोविन्द रोकायालाई निरीक्षणका लागि पठाएका छौं । छिट्टै गाउँपालिका कार्यालय फलेविसौना सर्छ होला’, उनले भने ।

सरकारले खिमडी केन्द्र तोके पनि, त्यहाँ पूर्वाधार नबन्दा सम्मका लागि फलेबिसौनामा गाउँपालिकाको कार्यालय राख्ने यसअघि नै गाउँ कार्यपालिकाले निर्णय गरिसकेको उनले बताए । केही जनप्रतिनिधिले भने गाउँपालिका अध्यक्ष नवलसिंह रावलले नै खिमडी टाढा भएकाले त्यहाँ कार्यालय नराख्ने सोच बनाएको बताएका छन् ।

यसैबीच     कालिकोट जिल्लाको पलाँता गाँउपालिकाले स्थानिय तहको निर्बाचन सम्पन्न भएको झण्डै डेड बर्षपछि गाँउपालिकाको केन्द्र टुंगो लगाएको छ । लामो समय बिबादमा परेको गाँउपालिकाको केन्द्र बुधबारदेखी संचालन भईरहेको गाँउसभाले गाँउपालिकाको केन्द्रको टुंगो लगाएको हो ।

 पलाता गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले पलाता गाउपालिकाको केन्द्रको टुंगो लागेको जानकारी दिए । उनका अनुसार पलाँता गाँउपालिकाको केन्द्र पलाँता गाँउपालिका वडा नं. २ र ७ को बीच भागमा पर्ने लोडेमा हुने भएको छ । बिगत डेड बर्षदेखी गाँउपालिकाको केन्द्र थिर्पु, दुर्सि, फागोटी, राडुनेटा लगायतका ठाँउमा बनाउनु पर्ने माग गर्दै जनप्रतिनिधिहरु आपसमा बिबादी बनेका थिए । गाँउपालिकाको केन्द्रकै बिषयमा गाँउपालिकाका अध्यक्ष सहित केही वडा अध्यक्ष र सदस्यहरुको एक टोली र उपाध्यक्ष सहित बहुमत वडा अध्यक्ष र सदस्यहरुको अर्को टोली भएर निकै बिबादीत बनेको थियो । गाँउपालिकाको निर्बाचन सम्पन्न भएको डेड बर्षपछि पलाँता गाँउपालिकाका सबै जनप्रतिनिधिहरुको सहमति अनुसार लोडेमा गाँउपालिका केन्द्र तोकिएको छ ।

कालिकोट जिल्लाका ३ वटा नगरपालिका र ६ वटा गाँउपालिका गरी ९ वटा स्थानिय तह मध्य २ नगरपालिका र ५ गाँउपालिकाको केन्द्रका् टुंगो लागेको छ । अझै एक नगरपालिका र १ गाँउपालिकाको केन्द्र टुंगो लागेको छैन् । जिल्लाका तिलागुफा नगरपालिका र महावै गाउपालिकाको केन्द्र जनप्रतिनिधिहरुकै बिबादका कारण टुंगो लाग्न बाकी रहेको छ । तिलागुफा नगरपालिका प्रमूख रतनबहादुर शाहीले नगरपालिकाको केन्द्रको लागि जनप्रतिनिधिहरुले चार ठाँउको लागि बिबाद गरिरहेको बताउदै केन्द्र टुंगो लगाउन अझै बाँकी रहेको बताए । उनका अनुसार नगरको चिल्खाया, गाल्ज्या, दान ज्यूला, राचुलीमा गरी चार ठाँउको लागि वडा अध्यक्षहरुले माग गरिरहेकाले जहाँ बहुमत सदस्यहरुको समर्थन हुन्छ त्यही केन्द्र तोकिने छ ।

यस्तै जिल्लाको महाँवै गाँउपालिकाको केन्द्रको बिषयमा पनि बिबाद कायमै रहेको छ । महाँवै गाँउपालिकाको लागि पनि तीन ठाँउ छनोटमा परेका छन् । गाँउपालिका अध्यक्ष नन्दबहादुर सिंहले गाँउपालिकाका जनप्रतिनिधिहरु गाँउपालिकाको केन्द्रको बिषयमा तीन ठाँउका लागि बिबादित भएका कारण छलफल जारी रहेको बताए । उनका अनुसार गाँउपालिकाको केन्द्रका लागि कालढुंगा, पात्माघाट र कोट खोलाका लागि छलफल भईरहेको छ । उनले गाँउपालिकाका सबै वडा अध्यक्ष र सदस्यहरुको सहमतिका आधारमा गाँउपालिकाको केन्द्रको टुंगो लगाउन छलफल जारी रहेको बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.