पुस्ताैंदेखि आकाशे पानीको भर
दिपायल : डोटीको दिपायल सिलगढी नगरपालिका–३ बाँफी गाउँमा करिब तीन सयभन्दा बढी घरधुरी बसोवास गर्छन् । भौगोलिक रूपमा पनि उक्त गाउँ अग्लो डाँडोमा रहेको छ । पानीको कुनै स्रोत छैन । पिउने पानीका लागि दुई घण्टा टाढाको कुवा तथा सेती नदीबाट बोकेर ल्याउनुपर्ने बाध्यता छ । पुस्तौंदेखि आकाशे पानीको भरमा उनीहरू जीवन निर्वाह गरिरहेका छन् ।
सबैका घरअगाडि चार÷पाँच हजार लिटर पानीको घैंटो बनाएका छन् । आकाशे पानी पर्दा घरको छानाबाट खसेको पानी उक्त घैंटोमा जाने व्यवस्था गरिएको छ । घैंटोमा जम्मा भएको पानी पिउने गर्छन् र सोही पानीले लुगा धुने तथा घरधन्दा चलाउने गर्छन् । बस्ती छरपस्ट रहेकाले कतिपय घरधुरी सेती नदीमा आ िश्रत छन् । वर्षातमा नदीमा बाढी आए पनि धमिलो पानी पिउनुपर्ने उनीहरूको बाध्यता छ ।
‘गाउँघरमा भएका युवा सबै भारततिर गएका छन् । चुनावका बेला नेताहरू पानी ल्याइदिन्छौं भन्दै भोट माग्ने गर्छन् तर पानी ल्याइदिने प्रयास कसैले गरेनन्’, स्थानीय रम्भाले भनिन् । करिब दुई दशकअघि हेल्बेटास नामक संस्थाले उक्त पानीघैंटो निर्माण गरेको थियो ।
‘हाम्रो पालामा डोकोमा गाग्री बोकेर दुई÷तीन घण्टाको बाटो हिँडेर पानी ल्याउने गथ्र्यौं’, ७८ वर्षीय वृद्ध रैभान साउदले भने, ‘अहिलेसम्म पनि त्यही नियति छ ।’
पुस्तौंदेखि पानीको समस्या व्यहोर्दै आएको उनले बताए । ‘वडाबाट सामान्य सर्भे गरिए पनि पानी आउने निश्चित छैन,’ स्थानीय धनबहादुर साउदले भने ।
बस्ती अग्लो स्थानमा रहेकाले पानी ल्याउन समस्या भइरहेको वडा नम्बर ३ का वडाध्यक्ष चक्र माझीले बताए । ‘सेती नदीबाट लिफ्ट सिस्टमबाट पानी ल्याउने योजना गरिरहेका छौं’, अध्यक्ष माझीले भने, ‘वडाको मात्र नभई नगरपालिकाबाटै प्रमुख योजनाका रूपमा राखेर पानी ल्याउने तयारी हुँदै छ ।’