पक्की पुल बनाउन टेन्डर

पक्की पुल बनाउन टेन्डर

दार्चुला : दार्चुलाको महाकाली नगरपालिका–८ सुरकाडा र भारततर्फको बलुवाकोट नजिकको तल्लो छारछुम जोड्ने गरी पक्की पुल निर्माण हुने भएको छ। भारत सरकारको लोक निर्माण विभागले २४ करोड भारतीय लगानीमा पक्की पुल निर्माणको टेन्डर आह्वान गरेको छ।

भारतको लोक निर्माण विभागले पुलकोे डिजाइन र इस्टिमेट तयार गरिसकेको छ। निर्माण ठेक्का प्रक्रियासमेत अगाडि बढाइसकिएको लोक निर्माण विभागका कार्यकारी इन्जिनियर दीपक गुप्ताले बताए।

यो पुल कञ्चनपुरको गड्डाचौकी– बनबसा बैराज उत्तरतर्फको पहिलो पक्की पुल हुनेछ। भारत सरकारले बैतडीको झुलाघाट, डडेलधुराको परसुराम क्षेत्र हँुदै दार्चुलाको तिंकर भञ्ज्याङसम्म कम्तीमा पनि ११ वटा पक्की पुल बनाउने सहमति गरेको छ।

कञ्चनपुरमा पर्ने महाकालीमा नेपाल स्वयंले चार लेनको पक्की पुल निर्माण गर्न ठेक्का दिएको केही महिनामै भारतले दार्चुलामा पक्की पुलको टेन्डर आह्वान गरेको हो। भारतको पिथौरागढको अस्कोटमा रहेको लोक निर्माण विभागको कार्यालयले पुल निर्माण निगरानी गर्नेछ।

विभागका इन्जिनियर गुप्ताले पुल निर्माणको टेन्डर भदौ १२ गते खुल्ने तयारी रहेको बताए। उनले असोज मध्यसम्म ठेक्का सम्झौताका सबै प्रक्रिया पूरा हुने र कात्तिक मध्यबाट पुल निर्माण थालिने बताए।

‘नो अब्जेक्सन लेटर’ आवश्यक

भारतले सीमा नदीमा पुल निर्माणका लागि नो अब्जेक्सन लेटरका लागि नेपाली प्रशासनलाई आग्रह गरेको छ। शनिबार भारतीय लोकनिर्माण विभागका इन्जिनियर गुप्तासहितको टोली दार्चुला आएको छ। उसले दार्चुलाका प्रमुख जिल्ला अधिकारी, सडकका अधिकारीहरूसँग भेटघाट गरी पुल निर्माणस्थल निरीक्षणसमेत गरेको छ।

भारतीय पक्षले ‘नो अब्जेक्सन लेटर’ माग गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए। ‘त्यसका लागि सडक डिभिजन कार्यालय पाटन बैतडीले प्रक्रिया अगाडि बढाएको छ, प्रक्रिया पुर्‍याएर निर्माण स्वीकृति दिइनेछ’, दार्चुलाका प्रमुख जिल्ला अधिकारी आचार्यले भने। भारतले कात्तिक मध्यबाट निर्माण सुरु हुने गरी १८ महिनामा पुल निर्माण सक्नुपर्ने सर्त राखेको छ।

नाका खुल्ने आशा

भारतसँग सीमा जोडिएका दार्चुला, बैतडी र डडेलधुरामा भारतसँग आवागमनमा लागि अहिलेसम्म झोलुंगे पुल मात्रै छन्। तर, दार्चुलामा पक्की पुल बने प्रदेश ७ को पश्चिमी क्षेत्रको समृद्धिको ढोका खुल्ने अपेक्षा लिइएको छ। ‘भारतको धारचुला हँुदै नेपालका दार्चुला अनि तिंकर हुँदै चीनको तिब्बतसम्मको व्यापारले पश्चिमको आर्थिक समृद्धिको ढोका खोल्नेछ’, उद्योग वाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्दले भने।

उनले बैतडीको झुलाघाट नाकामा पनि पक्की पुल बन्नुपर्ने बताए। झुलाघाट पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डुबान क्षेत्रमा पर्ने भएकाले दुवै देशले पुल कहाँनेर बनाउने निक्र्याेल गरिसकेका छैनन्। अहिले झोलुंगे रहेको स्थानमा पुल बनाएपछि त्यहाँको बस्ती नै विस्थापित हुने भएकाले पुलको औचित्य नरहेको दुवै देशका अधिकारीहरू बताउँछन्।

उता, दार्चुलामा पनि भारततिर डबल लेनको सडक छ भने नेपालतिर पनि महाकाली राजमार्गले सदरमुकाम खलंगासम्मै पक्की मोटरबाटो जोडेको छ। पक्की पुल बने पश्चिम नेपालका लागि भारतसँगको व्यापार व्यवसाय र पारवहनको ढोका खुल्ने अपेक्षा लिइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.