किन पढ्ने व्यवस्थापन ?

किन पढ्ने व्यवस्थापन ?

विद्यार्थीका लागि उच्च अध्ययनका लागि विभिन्न संकाय छन् । व्यवस्थापन, विज्ञान, मानविकी, शिक्षा वा अन्य ।

नेपालको सन्दर्भमा अहिले विद्यार्थीहरूका लागि व्यवस्थापन संकाय उपर्युक्त रहेको शिक्षकहरू बताउँछन् । कलेजहरूमा बुझ्ने हो भने पनि व्यवस्थापन संकायमा आउने विद्यार्थीहरूको उपस्थिति बर्सेनि बाक्लिँदै गएको छ । यस विषयसँग सम्बन्धित नयाँ नयाँ रोजगारी वा स्वरोजगारको अवसरले पनि विद्यार्थीहरू व्यवस्थापन संकायप्रति आकर्षित भएका हुन् भन्ने अनुमान लगाउन सकिन्छ । एपेक्स कलेज पुरानो बोनेश्वरमा लामो समयदेखि व्यवस्थापन संकाय अध्यापन गराउँदै आएकी प्रतिज्ञा अधिकारी भन्छिन्, ‘करिअर बनाउन यहाँ सजिलो पर्ने भएकाले पनि व्यवस्थापनमा विद्यार्थीहरू आकर्षित भएका हुन् ।’

विद्यार्थीको विषय छनोटमा करिअरको खोजी देख्छिन्, अधिकारी । अन्य विषयको तुलनामा बजारले व्यवस्थापनका विद्यार्थीहरूको बढी माग रहेको छ जस्तो लाग्छ उनलाई । ‘अध्ययनपछि तुलनात्मक रूपमा सहज तरिकाले रोजगारी पाइने भएकाले यस संकायप्रति विद्यार्थीको ध्यान गएको हुन सक्ने उनको धारणा छ । एउटा पेसामा लागेर सुरक्षित जिन्दगी बिताउन खोज्नु स्वाभाविक हो’, उनी भन्छिन्, ‘बैंकिङ क्षेत्रहरू फस्टाउँदै छन् । अहिले विद्यार्थीहरूले यसैलाई रोजगारीको केन्द्र मान्दै आएका छन् ।’

अधिकारी मात्र नभई ज्ञानकुञ्ज कलेजका शिक्षक दीपक त्रिपाठी पनि रोजगारीको अवसर बढेकाले व्यस्थापन संकाय विद्यार्थीको रोजाइमा परेको बताउँछन् । अन्य संकायको तुलनामा बजारमा व्यवस्थापनका विद्यार्थीले बढी रोजगारका अवसर पाउने उनको बुझाइ छ । ‘एउटा लेभलको पढाइ सकिएपछि बजारले तपाईंलाई पत्याइहाल्छ’, उनले भने, ‘जागिर खानु त छँदै छ । भोलि आफंैले केही काम सिर्जना गर्छु भन्दा पनि यो विषयले तपाईंलाई सहयोग पुर्‍याउँछ ।’ व्यवस्थापनमा पहिलेभन्दा विद्यार्थीको ‘फ्लो’ बढेको पाउँछन्, उनी । वर्षैपिच्छे व्यवस्थापनमा भर्ना हुन आउने विद्यार्थीहरू बढिइरहेको देख्छन्, त्रिपाठी । भन्छन्, ‘कलेज पढाइरहेपछि अघिल्लो वर्षको तुलनामा पछिल्ला वर्षका कक्षाहरूमा विद्यार्थी बढिरहेका हुन्छन् । व्यवस्थापन मात्र पढाइने प्रायः कलेजको अवस्था उस्तै छ ।’

कलेज पढ्ने प्रायः विद्यार्थीहरूको सपना हुन्छ, पढिसकेपछि राम्रो र सुरक्षित रोजगारी पाइयोस् । पढिसकेपछि बेरोजगार बन्न नपरोस् । त्यसैले एसईई पास गरेपछि विद्यार्थीले विभिन्न विषय छनोट गर्छन् । यस्ता विषय छनोट गर्नेबेला धेरैले बजारलाई ख्याल गर्ने गर्छन् । बजारमा जे कुराको माग छ, विद्यार्थीले त्यही विषय पढ्ने गरेका भेटिन्छन् ।

राजधानीको पब्लिक युथ क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्ययन गर्दै गरेका सबिन लामिछाने अहिले एउटा सहकारी संथामा आबद्ध छन् । रोजगारी सजिलै पाउने आसले नै आफू व्यवस्थापन संकाय अध्ययन गरेको बताउँछन्, उनी । ‘यो विषय पढ्दा विभिन्न क्षेत्रमा जागिर पाउने सम्भावना हुन्छ । अन्य विषय मलाई खासै मन परेन’, उनले भने, ‘ब्याचलर पढ्दै छु । काम पनि गरिरहेकै छु ।’

व्यवस्थापन संकायअन्तर्गत पनि विभिन्न विषय पढाइ हुने गर्छन् । फरक स्वादका कोर्सहरूले यो विषयप्रतिको आकर्षण बढाएको धेरैको अनुभव छ । बजारलाई हेरेर यो संकायले आफूलाई ‘अप्डेट’ गर्दै लगेको छ । फरक–फरक र नयाँ कोर्सहरू पढ्न पाएपछि विद्यार्थीहरू पनि व्यवस्थापनमै भर्ना हुन खोज्छन् । देशका मुख्य विश्वविद्यालयहरूले पनि व्यवस्थापन संकायअन्तर्गत नै विभिन्न विषय पढाइरहेका छन् ।

व्यवस्थापनमा विद्यार्थी बढ्नुको प्रमुख कारण विषयभित्रको विविधता पनि रहेको शिक्षक दीपक त्रिपाठीको भनाइ छ । संकायले धेरै क्षेत्र समेट्ने भएकाले विद्यार्थीहरू एकै ठाउँमा खुम्चिएर बस्नुनपर्ने बताउँछन् उनी । ‘प्लस टुसम्म त एउटै कोर्स हुन्छ । ब्याचलरमा पुगेपछि तपाईंलाई विकल्प हून्छ’, उनले भने, ‘आफूलाई मनपरेको विषय अध्ययन गर्न सक्नु हुन्छ । तल्लो कक्षामा जे पढ्यो माथि पनि त्यही पढ्नुपर्छ भन्ने हुँदैन । वा तपाईं अरू नै संकायतिर पनि जान सक्नु हुन्छ ।’

कलेजहरूले व्यवस्थापन संकायअन्तर्गत विभिन्न विषय अध्ययन गराइरहेका छन् । जस्तै ः होटल म्यानेजमेन्ट, एकाउन्टेन्सी, फाइनान्स, बीबीए, ट्राभल एन्ड टुरिजम्, बैंकिङ एन्ड इन्स्युरेन्स जस्ता विषयले विद्यार्थीलाई लोभ्याइरहेको छ । रोजगारीका क्षेत्रहरूमा यस्ता विषयको माग पनि प्रशस्त देख्छन् शिक्षकहरू । शिक्षिका अधिकारी भन्छिन्, ‘बजारको मागअनुसार तपाईं जुन क्षेत्रमा पनि जान सक्नु हुन्छ । अथवा कुनै खास विषयमा विज्ञ पनि बन्न सक्नु हुन्छ ।’

कलेजले नयाँ–नयाँ कोर्सहरू ‘इन्टरड्युस’ गर्दा विद्यार्थीले समाजका विभिन्न पक्षमाथि जानकार हुने मौका पाउने विद्यार्थीहरू बताउँछन् । नयाँ कोर्सहरूले रोजगारीकोे क्षेत्र पनि खोल्दै जाने विद्यार्थी लामिछानेको बुझाइ छ । ‘नयाँ विषय पढ्दा खर्च अलि बढी हुन्छ ।

अध्ययन अध्ययापन भइरहेका हरेक विषयहरूको उत्तिकै महत्व छ । काम फरक–फरक भए पनि समाजमा हरेक विषयले महत्व राख्छन् । देशभित्र पर्यटनको सम्भावना बढिरहँदा व्यवस्थापनले त्यसलाई महत्व दिएर पढाइरहेको छ । त्यस्तै बीबीए, फाइनान्सजस्ता विषयमा पनि विद्यार्थीहरू झुमिरहेका छन् । अधिकारी भन्छिन्, ‘विश्वविद्यालयहरूले व्यवस्थापन संकायमा नयाँ–नयाँ विषयहरू थपिरहेका छन् । किनकि यहाँ विद्यार्थीको चाप बढ्दो छ ।’

समाजमा स्थापित हरेक संस्थाहरूमा व्यवस्थापकको महत्वपूर्ण भूमिका रहने गरेको छ । हरेक ठाउँमा व्यवस्थापकको आवश्यकता पर्ने गर्छ । अस्पताल होस् वा बैंक, कुशल व्यवस्थापकको खाँचो पर्ने कुरालाई नकार्न सकिँदैन । व्यवस्थापक उत्पादन गर्ने काम व्यवस्थापन संकायले गर्छ ।

नेपाली समाजमा व्यवस्थापक आवश्यकता बढ्दै गएकाले यो संकायको आकर्षण पनि बढ्दै गएको जनमैत्री कलेजमा व्यवस्थापन पढाउँदै आएका शिक्षक सन्दिप बराइली बताउँछन् । ‘संस्थालाई नाफामा लैजान पनि व्यवस्थापककको आवश्यकता पर्छ’, उनले भने, ‘यस विषयले समग्र व्यवस्थापकीय पाटोबारे जानकार गराउँछ । हाम्रोमा अहिले संस्थाहरू खुल्ने क्रम तीव्र छ । यसले रोजगारीको बाटो पनि दिन्छ ।’

व्यवस्थापन संकाय ग्लोबल ट्रेन्डको विषय भएको बराइलीको बुझाइ छ । व्यवस्थापकको माग बढ्दै जाँदा व्यवस्थापन संकायको माग पनि उकालो लाग्ने बताउँछन् उनी । यो संकायमा भर्ना हुनेहरूका लागि उनको सुझाव पनि छ । अध्ययन मात्र गरेर नपुग्ने बरु विद्यार्थीहरू बढी ‘एनालाइटिकल’ हुन आग्रह गर्छन् । ‘पास गर्न मात्र अध्ययन गरेर खासै फाइदा छैन । केस स्टडी गर्नुहोस्, त्यसलाई विश्लेषण गर्नुहोस् । अनि मात्र सफलता पाइन्छ’, उनले भने, ‘तपाइले मेहनत गर्नुभयो भने भोलिका दिनमा आफैंले बिजनेस गर्न पनि सक्नुहुन्छ । किनकि कम्पनी कसरी चलाउने भन्ने आइडिया हुन्छ तपाईंलाई ।’

बराइलीको कुरामा त्रिपाठी पनि सहमत छन् । व्यवस्थापनले ‘करिअर’ निर्माणका लागि सहयोग पुर्‍याउने त्रिपाठीको भनाइ छ । भन्छन्, ‘यो संकायमा ‘एभरेज’ विद्यार्थीदेखिी ‘ट्यालेन्ट’हरू पनि आउँछन् । किनकि बजारमा विद्यार्थीहरूको डिमान्ड छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.