कन्चनपुरमा बलात्कारपछि बालिका हत्या अभियोगमा एकजना पक्राउ
कन्चनपुर : कन्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तलाई बलात्कार पछि हत्या गरेको अभियोगमा प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१९ बस्ने दिलिपसिंह विस्ट रहेका छन् । उनलाई निर्मलाको हत्या भएको २५ औँ दिनपछि प्रहरीले घटनास्थल आसपासको क्षेत्रबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय स्रोतका अुनसार उनलाई पक्राउ गरी सोमबारै अदालतमा उपस्थित गराइएको छ । विस्टले बलात्कारपछि निर्मलाको हत्या गरेको स्वीकार गरेकाले सोमबारै साँझ ६ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरिएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका विस्ट यसअघि पनि विभिन्न अपराधिक घटनामा संलग्न थिए । बालिकाको हत्यापछि प्रहरीले अभियुक्तलाई पक्राउ नगरेको भन्दै स्थानीयले पटक पटक प्रदर्शन पनि गरेका थिए ।
भीमदत्त नगरपालिका-२ उल्टाखाम निवासी १३ वर्षीया निर्मला गत साउन १० गतेदेखि बेपत्ता भएकी थिइन् । बेपत्ता भएकी उनको शव भोलिपल्ट नग्न अवस्थामा भेटिएको थियो ।