पहाडबाट जडीबुटी लिएर तराई

पहाडबाट जडीबुटी लिएर तराई

बर्दिबास : पहाडको जडीबुटी बिक्री गर्न जुम्लाको तातोपानी—५ चुलाकोटका २० वर्षीय विनोद बूढालाई भ्याइ नभ्याइ छ। ४१ डिग्री तापक्रममा उनी महोत्तरीको बर्दिबास वरिपरि गाउँमा पसिना चुहाइरहेका छन्।

पहाडमा पाइने बहुमूल्य जडीबुटी संकलन गरी उनी तराई–मधेसका जिल्ला झारेर बिक्री गर्छन्। जडीबुटीबाट अर्थोपार्जन गरी उनले परिवार पालिरहेका छन्। शिलाजित, यार्सागुम्बा, सुगन्धवाल, पदमचाल, टिमुर, हिङ, केसर, बतिसा, माझीफललगायत दर्जनौं प्रकारका जडीबुटी उनी बिक्री गर्छन्। चार वर्षयता बर्दिबासमा जडीबुटी बिक्री गर्दै आएको उनले सुनाए।

‘जडीबुटीप्रति विश्वास बढेको छ। गाउँलेले हामीलाई फोन गरेर घरमै जडीबुटीका लागि बोलाउँछन्’, उनले भने, ‘सुरुमा जडीबुटीले पनि रोग निको पार्छ र भन्नेहरू अहिले खोजी–खोजी किन्छन्।’ जडीबुटी बिक्रीबाट वर्षमा ३ देखी ४ लाख रुपैयाँ कमाउने गरेको सुनाउँदै उनले भने, ‘सिजनमा ६ महिना जडीबुटी संकलन गर्छौं, ६ महिना तराईमा जिल्लाहरुमा घुमेर बिक्री गर्छौं।’

उनी जडीबुटी मात्र बेच्दैनन्, स्याउ फलाउँछन्। ५ सय बोट स्याउबाट उनले वार्षिक २ लाख रुपैयाँ भिœयाउँछन्। जडीबुटी र स्याउ बिक्री गरेर ६ जनाको परिवार मज्जाले पालिरहेको उनको भनाइ छ।

बर्दिबासमै भेटिए विनोदका छिमेकी २१ वर्षीय छक्क कठायत। उनी पाँच वर्षदेखि ६ महिना गाउँमा जडीबुटी संकलन गर्छन् र ६ महिना तराईका जिल्लामा डुलेर बिक्री गर्छन्। वर्षमा २—३ लाख रुपैयाँ जडीबुटीबाट कमाइ हुने उनको भनाइ छ। उनले पनि दुई वर्षअघि २ सय ५० बोट स्याउका बिरुवा रोपे। ‘स्याउबाट पनि आम्दानी हुन थालेको छ’, उनले भने, ‘पाँच जनाको परिवार पालेको छु। विदेश जानुपरेको छैन।’

अर्का मीनबहादुर बस्नेत पनि जडीबुटी र स्याउ बिक्री गरी स्वदेशमै रमाइरहेका छन्। यसबाटै उनले वार्षिक ४ लाख कमाएर सात जनाको पेट पाल्छन्।

जुम्लाकै हरिलाल बूढा ४५ वर्षका भए। उनी अहिलेसम्म कमाउन न भारत गए न त खाडी मुलुक नै। २० वर्षयता जडीबुटी संकलन गरी बेच्दै आएका उनले वार्षिक ५–६ लाख रकम हात पार्छन्। स्याउ खेती पनि उनले गरेकै छन्, यसबाट २ लाख आम्दानी हुन्छ।

‘हामी सबै प्रकारका जडीबुटी संकलन गर्छौं’, उनले भने, ‘दुःख गर्नेले त्यसको मूल्य पाउँदैन। ट्रकका ट्रक जडीबुटी कौडीको भाउमा बाहिर देश गइरहेको छ। त्यही जडीबुटी प्रशोधित भएर नेपाल आउँदा हामीले महँगो मूल्यमा किन्नुपर्छ।’ नेपालमै जडीबुटी प्रशोधन केन्द्र स्थापना भए त्यसपछि विदेश निर्यात गरेर आम्दानीसँगै रोजगारी अवसर सिर्जना हुने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.