१६ घर पहिरोको जोखिममा
भोजपुर : अविरल वर्षाका कारण पहिरो जान थालेपछि षडानन्द नगरपालिका- १, नेपालेडाँडाको चालीसे बालुवानीका १६ घरधुरी जोखिममा परेका छन्। साल्पासिलिछो गाउँपालिका दोभानेबाट सोलुखुम्बु जाने तेन्जिङ हिलारी मार्गमा पर्ने उक्त सडकखण्डमा लगातारको झरीले पहिरो जानथालेपछि स्थानीयबस्ती धरासायी बन्न पुगेको हो। पहिरोले सडकखण्ड पुरै बन्द भएपछि सवारीसाधन पनि ठप्प भएका छन्।
गत श्रावण २८ गतेदेखि परेको अविरल वर्षातले ३/४ ठाउँमा पहिरो जानेथालेपछि स्थानीयको घर पहिरोको जोखिममा परेको हो। पहिरोको जोखिममा परेका घरलगायत धानखेती र रुद्राक्षमा पनि पहिरोले क्षती पुर्याएको छ।
पहिरोले घर, धानखेत र रुद्राक्षमा नोक्सानी पुर्याएको भन्दै स्थानीयबासीले शुक्रबार ईलाका प्रहरी चौकीमा लिखित निवेदन समेत बुझाएको ईलाका प्रहरी चौकी कुदाककाउलेले जनाएको छ।
चौकीमा लिखित निवेदन पुगेपछि प्रहरी टोली घटनास्थलमा तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर चरित्र विक्रम कार्कीले बताए। पहिरोमा परी षडानन्द नगरपालिका १, नेपालेडाँडाका मिनबहादुर थापाको घर जोखिममा पर्नुको साथै १ रोपनी जग्गामा लगाएको एक लाख ५० हजार बराबरको धानखेती पहिरोले पुरेको प्रहरी जनाएको छ।
पहिरोले स्थानीय टंकबहादुर राईको घरसहित १ रोपनीमा लगाएको धान, स्थानीय घमण्ड खड्काको घरसहित २ रोपनीमा लगाएको ६ लाख बराबरको रुद्राक्ष, स्थानीय रामबहादुर थापाको घरसहित साढे ११ रोपनीमा लगाएको धान, स्थानीय भरत कार्कीको घरसहित १ रोपनीमा लगाएको एक लाख ५० हजर बराबरको रुद्राक्ष क्षति पुर्याएको छ।
त्यस्तै स्थानीय मिना राईको घरसहित १ रोपनीमा लगाएको धान, स्थानीय रविधन राईको ३ रोपनीमा लगाएको करिब ६ लाख बराबरको धान, स्थानीय ईश्वर कार्कीको ६ रोपनीमा लगाएको करिब १८ लाख बराबरको धानखेती र रुद्राक्ष, स्थानीय निलबहादुर थापाको १ रोपनीमा लगाएको दुई लाख बराबरको धानमा क्षति पुगेको छ।
त्यस्तै स्थानीय बिचारी कुमार खड्काको साढे ११ रोपनीमा लगाएको तीन लाख बराबरको धान, स्थानीय गुरुप्रसाद राईको २ रोपनीमा लगाएको चार लाख बराबरको धान, स्थानीय डम्बरबहादुर थापाको ११.२ रोपनीमा लगाएको धान र स्थानीय भरत बस्नेतको ७ रोपनी बाझो खेतमा नोक्सान पुगेको प्रहरीले जनाएको छ।
पहिरोमा कुनै मानवीय र पशुचौपायाको क्षति नभएपनि पहिरो खसेको सडकखण्डको एक सय मिटरदेखि पाँच सय मिटरको दुरीमा रहेको घरहरु जोखिमपुर्ण रहेको जनाइएको छ । पहिरोको जोखिम देखिए पनि उक्त घरधुरी तत्काल विस्थापित हुने अवस्थामा भने नरहेको सूचना अधिकारी कार्कीले बताएका छन्। उनले पहिरोले पुर्याएको अन्य क्षतीका बारेमा विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस !