कमला नदीमा तीन जना बेपत्ता, एक जनालाई जीवितै उद्दार
सिरहा : जनै पुर्णिमा तथा रक्षा बन्धनको दिन शिवालयमा कमल नदीको जल चढाउन बोलबम भर्न गएका तीन जना युवाहरु कमला नदीमा बेपता भएका छन् भने एक जनालाई जीवितै उद्दार गरिएको छ । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
आइतवार (आज) शिवालयमा जल चढाउन उनीहरु हिजो शनिबार नै कर्जन्हा नगरपालिका १ स्थित कमला नदी पुगेका थिए । त्यहाँबाट स्नान गरी प्रत्येक वर्ष भक्तजनहरुले चल लिएर जनै पुर्णिमा दिन जल चढाउने गर्छन् । स्नान गर्ने क्रममा उनीहरु बेपत्ता भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपेन्द्र साहले जानकारी दिए ।
उनका अनुसार बेपत्ता हुनेहरुमा गोलबजार नगरपालिका– ४ निपाने गाउँका १४ वर्षीय मन्जे महरा, सोही गाउँका १५ वर्षीय राहुल महरा र औरही गाउँपालिका– ३ तुलसीपुर बस्ने १९ वर्षीय कृष्णकुमार महतोरहेका छन् । यस्तै अर्नमा गाउँपालिका ५ कृष्णपुर बस्ने २१ वर्षीय सुमनकुमार मण्डललाई जीवितै उद्दार गरिएको छ ।
‘नुहाउँदा नुहाउँदै उनीहरु पानी बहाव धेरै भएको ठाउँ पुगे,’ स्थानीयलाई उद्धतृ गर्दै डिएसपी साहले भने,‘ बेपता भएकै ठाउँबाट प्रहरीले खोजी कार्य सुरु गरेको छ ।’ बगाएर उनीहरुलाई दक्षिणतिर लगेको हुनाले उद्दारका लागि जयनगरका भारतीय प्रहरीसँग पनि समन्वय भएको उनले बताए ।