सुरक्षा गार्डको हत्या आशंकामा ठेला चालक पक्राउ

सुरक्षा गार्डको हत्या आशंकामा ठेला चालक पक्राउ

विराटनगर : विराटनगर महानगरपालिका- २ धरानरोडस्थित बिक्‍की हार्डवेयरमा कार्यरत सुरक्षागार्ड ५० वर्षीय टंक भट्राईको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एकजनालाई आइतबार पक्राउ गरेको छ। 

विराटनगर महानगरपालिका- ४ पुलचौकका अन्दाजी २५ वर्षीय सन्जय सहनीलाई नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रदेश- १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। सहनी लामो समयदेखि विराटनगरमा ठेला चलाउँदै आएका व्यक्ति हुन्। 

घटनामा उनको संलग्नताका बारेमा आवश्यक अनुसन्धान र सोघपुछ गर्ने काम भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। सुरक्षागार्ड विराटनगर ४ पिपलचौकका भट्राईको शव हार्डवेयर पसलभित्रै हत्या गरेर छाडेको अवस्थामा भदौ ३ गते आइतबार फेला परेको थियो। उनको आँखा फुटाइएको र शरीरका विभिन्न भागमा भाला र रडले रोपेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। 

प्रहरीले यस घटनाको अनुसन्धान गर्ने क्रममा हार्डवेयरका संचालक निरभकुमार अग्रवाल सहित १२ जनामाथि पनि सोधपुछ गर्ने काम भइरहेको जनाएको छ। हार्डवेयरमा रहेको सिसीटिभीको फुटेजमा पनि ठेला चालक सहनीको भूमिका शंकास्पद रहेको देखिएको थियो।

घटनाको भोलीपल्टदेखि उनी फरार थिए। प्रहरीले सिसीटिभी फुटेज नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको थियो। 'सहनीले भदौ २ गते शनिबार साँझ ५ बजेदेखि नै सुरक्षा गार्ड भट्राईको पिछा गरिरहेको कुरा सिसीटिभी फुटेजले प्रष्ट पार्छ,' घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीले भने, 'राति अवेर सम्म पनि उनी त्यही हार्डवेयर भित्रै शंकास्पद गतिविधी गरेर बसिरहेको र भोलीपल्ट विहान हत्या गरिएको अवस्थामा सुरक्षा गार्डको शव फेला पर्नुले घटनामा उनको संलग्नताको आशंका गरिएको हो।'

प्रदेश प्रहरी कार्यालयले घटना अनुसन्धानका क्रममा सहनीसंगै ठेला रिक्सा चलाउँदै आएकाहरुले पनि हत्यामा उनकै संलग्नता रहेको हुन सक्ने बताएपछि प्रहरीले उनको खोजी थालेको थियो। सोमबार दिउँसो ४ बजे सम्म विराटनगरमै रहेका उनी हत्यामा संलग्नको पहिचान गरेर कारवाही अघि बढाउनु पर्ने माग गर्दै मृतक भट्राईका आफन्तले सडक आन्दोलन गर्न थालेपछि भने मोवाइल स्विचअफ गरेर फरार भएको प्रहरीको भनाइ छ। 

प्रदेश १ प्रहरी कार्यालयले भट्राईको हत्या नै गर्नु पर्ने कारण भने खुलिनसकेको जनाएको छ। घटनामा सहनी संलग्न छन् की छैनन् भन्ने बारेमै आवश्यक अनुसन्धान सकेपछि मात्रै बाँकी निचोडमा पुग्न सकिने प्रहरीको भनाइ छ। पक्राउ परेका सहनीले भने घटना स्थलमा आफू भए पनि हत्यामा आफ्नो संलग्नता नरहेको भनेर अन्य व्यक्तिहरुले सुरक्षा गार्ड भट्राईको हत्या गरेको बताएको प्रहरीले जनाएको छ। 

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालले हत्यामा संलग्न भएको आशंकामा पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान सुरु गरिएको बताए। 'विशेष सूचनाका आधारमा उनीमाथि सोधपुछ भइरहेको छ,' रिजालले भने, 'उनको संलग्नता छ की छैन भन्ने बारेमा खुलिसकेको छैन।' यदी घटनामा सहनीको संलग्नता पुष्टि भएमा हत्या गर्नु पर्ने कारण सहितका सबै कुरा सार्वजनिक गरिने उनको भनाइ छ। 

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले भने हत्यामा संलग्न भएको आशंकामा सहनीलाई पक्राउ नगरिएको दावी गरेका छन्। 'सुरक्षा गार्डको हत्या भएको घटनामा शंकास्पद १२ जना भन्दा धेरै जनामाथि अनुसन्धान र सोधपुछ गर्ने काम भइरहेको छ। 

आइतबार समेत केही व्यक्तिमाथि सोधपुछ गरिए पनि कसैलाई पक्राउ भने गरिएको छैन,' उनले भने, 'हत्यामा यही व्यक्तिको संलग्नता छ भन्ने कुराको पुष्टि भइनसकेका कारण सोधपुछका लागि ल्याइएका व्यक्तिहरुका बारेमा सार्वजनिक नगरिएको हो। प्रहरीले गम्भीर रुपमा यस घटनाको अनुसन्धान गरिरहेका कारण कुनै कुराको निस्कर्षमा पुग्न समय लाग्न सक्छ।' 

कुनै पनि घटना अनुसन्धानका नाममा व्यक्ति पक्राउ गरे पनि प्रहरीले व्यक्तिलाई पक्राउ गरिएको विषयलाई भने गुपचुप राख्न नमिल्ने अधिकारकर्मीहरुले बताएका छन्। उनीहरुले यस्ता कुराले अपराध नियन्त्रण र अनुसन्धानका नाममा प्रहरीको भूमिका नै शंकास्पद बनाएर लगिरहेको बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.