२२ जनाको सम्झनामा धनकुटामा गाईजात्रा मनाइयो (तस्बिरसहित )
धनकुटा : दिवंगत आफन्तको सम्झना गर्दै नेवारी समुदायले सोमबार धनकुटा सदरमुकाम बजारमा गाईजात्रा मनाएका छन्। नेवारी समुदायले एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाई र मानिसलाई गाईकारूपमा सिंगारी धनकुटा बजार परिक्रमा गराए।
धनकुटा नगरपालिका- ७ श्रीवानीमा भेला भई सुरु भएको र्याली मदनचोक, बीचबजार, सिरान बजार, भीमनारायण चोक, माथिल्लो कोप्चे, तल्लो कोप्चेहुँदै टुलिखेलमा समापन भएको थियो।
धनकुटा नगरक्षेत्रका नेवारी समुदायका २२ घरपरिवारले गाईजात्रा निकालेका थिए। राजा प्रताप मल्लले शोकमा रहेकी आफ्नो रानीलाई चित्त बुझाउन गाईजात्रा निकालेको इतिहास रहेको मनोज नारायण श्रेष्ठले बताए। उनका अनुसार गाईजात्रा पर्वलाई धार्मिक रुपमा हेरिएको छ । आजको दिन स्वर्गद्वार खुल्ने भएकाले गाईमार्फत मनुष्य स्वर्गमा पुग्ने विश्वास रहेको श्रेष्ठले बताए ।

एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारी बजार परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन छ।
यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाएर बैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ। गाईजात्रा पर्व काठमाडौं उपत्यका लगायत धनकुटा, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा, पोखरा बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली बजार, चरीकोट, दिक्तेल लगायत स्थानमा मनाइन्छ।


प्रतिक्रिया दिनुहोस !