चीन, पाकिस्तान र श्रीलंकासँग पनि सैन्य अभ्यास

चीन, पाकिस्तान र श्रीलंकासँग पनि सैन्य अभ्यास

काठमाडौं : नेपाली सेनाले चीन, पाकिस्तान र श्रीलंकासँग द्विपक्षीय सैन्य अभ्यास गर्ने भएको छ। बिम्स्टेक मुलुकका सेनाप्रमुखको उपस्थितिमा भारतको पुणेमा गरिने संयुक्त सैन्य अभ्यासलगत्तै यी मुलुकसँग सैन्य अभ्यास गर्न लागिएको हो।

‘नेपालको परराष्ट्र मामिला र सुरक्षा नीति’मा आधारित रहेर सैन्य अभ्यासले मुलुकको अन्तराष्ट्रिय सम्बन्धको दायरा बढाउने नेपाली सेनाले जानकारी दिएको छ। बिम्स्टेक शिखर सम्मेलनअगावै यस प्रकारको अभ्यासको टुंगो लागेको सेनाको भनाइ छ। प्रधानसेनापति राजेन्द्र क्षत्री बिदामा बस्ने अघिल्लो दिन साउन २३ मा आफ्ना सकल दर्जा, अधिकृत र रथीलाई दिएको ९२ बुदे बिदाइ सम्बोधनको ४७ र ४८ नम्बर बुँदामा सैन्य अभ्यासबारे उल्लेख छ।

‘यसमा सहभागी मुलुकबीचको अनुभव र उत्कृष्ट अभ्यास आदानप्रदान हुन्छ’, नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले भने, ‘सरकारको निर्णयमा अन्तर्राष्ट्रिय स्तरका अभ्यासमा सेना सहभागी हुने गरेको छ।’ अभ्यासलाई सैन्य कूटनीतिका साथै नेपाली सेनाको वृत्ति विकासको अवसरका रूपमा लिएको पनि उनले बताए।

बिम्स्टेक राष्ट्रका सेनाको सहभागितामा अभ्यास हुने तर त्यहाँ नेपाली सेना नजाने हो भने कस्तो सन्देश जाला र त्यसले हाम्रो कूटनीतिलाई कसरी हेरिएला भन्ने कोणबाट पनि बहस हुनुपर्ने सैन्य अधिकारीले बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिम्स्टेक सम्मेलनमै सैन्य अभ्यासको विषय राखेपछि यो चर्चामा आएको हो। सार्कलाई थन्क्याएर बिम्स्टेकलाई अघि बढाएको र त्यसमा पनि सैन्य सहकार्य एवं कूटनीतिमा जोड दिएपछि यसबारे फरक किसिमले विश्लेषण आएको थियो।

नेपाल सैन्य अभ्यासमा सहभागी हुने र उक्त अभ्यास कुनै अर्को मुलुकलक्षित नभई सदस्य मुलुकबीचको सहकार्य मात्र भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। कुनै मुलुकविरुद्ध हुने सहकार्यमा नेपाल नपर्ने पनि उनले स्पष्ट पारे। बिम्स्टेक सैन्य टोलीमा जाने नेपाली सेनाका जवान तथा अधिकृतको तय भइसकेको छ। ३० जना अभ्यासमा सहभागी हुने अभ्यासमा प्रधानसेनापति पनि उपस्थित हुनेछन्। प्रधानसेनापतिको पदभार लिएलगत्तै पूर्णचन्द्र थापा पुणे जाने कार्यक्रम छ। नेपाली सेनाका प्रधानसेनापति भारतीय सेनाको पनि मानार्थ प्रधानसेनापति हुन्। मानार्थ लिन उनको अर्को भ्रमण पछि मिलाउने तयारी रहेको रक्षा मन्त्रालय स्रोतले बतायो।

बिम्स्टेक सैन्य अभ्यास सकिएको भोलिपल्ट नेपाली सेनाले चिनियाँ सेनासँग चीनमा संयुक्त अभ्यास ‘एक्सरसाइज सगरमाथा फ्रेन्डसिप’ दोस्रो आरम्भ गर्नेछ। गतवर्षदेखि नेपाल र चीनबीच यस प्रकारको अभ्यास हुन थालेको हो। यसअघि काठमाडौंमा पहिलो अभ्यास भएको थियो। उक्त अभ्यासलाई अमेरिकालगायत पश्चिमी राष्ट्र र भारतले समेत चासो देखाएको थियो। यद्यपि चीनसँगको अभ्यासमा पनि उनीहरूको खुसी नरहेको बताइन्छ।

चीनपछि पाकिस्तानको लाहोरमा नेपाली सेनाले संयुक्त अभ्यास गर्नेछ। ‘इन्टरनेसनल फिजिकल एजिलिटी कम्ब्याट इफिसियन्सी सिस्टम’ नामक उक्त अभ्यास यसअघि एक पटक मात्र भएको छ। त्यसलाई पुनः नियमित गर्न खोजिएको हो। नेपाली सेनाले       श्रीलंकासँग पनि पहिलो पटक ‘कम्बाइन ट्रेनिङ जोइन्ट एक्सरसाइज’ अर्थात् ‘कोर्मोरान्ट एक्सरसाइज’ गर्ने कार्यक्रम छ। उक्त अभ्यासको तिथि तय नभए पनि यही वर्ष अभ्यास गरिने प्रधानसेनापतिको मन्तव्यमा उल्लेख छ।

बिम्स्टेक सैन्य अभ्यासमा ३० जना सेना जाने भए पनि चिनियाँ जनमुक्ति सेनासँग भने २० जनाको टोली सहभागी हुनेछ। पाकिस्तानसँगको अभ्यासमा पनि २० भन्दा कम सेनाको सहभागिता रहनेछ। नेपाली सेनाले विदेशस्थित नियोगमा आफ्ना सैन्य सहचारी र सल्लाहकार राखेर पनि यसबारे सहकार्य गरिरहेको छ। नेपालको अमेरिका, भारत, बंगलादेश, पाकिस्तान र बेलायतमा सैन्य सहचारी छन्। न्युयोर्कस्थित रष्ट्रसंघीय स्थायी नियोगमा सैन्य सल्लाहकार छन्। रुसमा भएको सैन्य सल्लाहकार झिकाइए पनि पुनः राख्नुपर्ने सेनाको माग छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.