नर्वेमा विश्वकै अग्लो काष्ठ टावर
ओस्लो : नर्वेमा विश्वकै सबैभन्दा अग्लो काष्ठ टावर बनाइएको छ। अधिकारीले दिएको जानकारीअनुसार १८ तले टावर ८५.४ मिटर अग्लो रहेको छ। उक्त टावर वातावरण मैत्री र आगोले क्षति पुर्याउन नसक्ने खालको रहेको जनाइएको छ।
टावरको नाम ‘एमजोस’ राखिएको छ। ओस्लोदेखि झण्डै एक सय किलोमिटर उत्तरतर्फ रहेको एउटा तालसँगै टावर बनाइएको बताइएको छ। टावरमा नयाँ काठ, पुनः प्रयोग गर्न सकिने पुराना काठका सामग्रीलगायत प्रयोग गरिएको निर्माताले बताएका छन्।
‘काठले बनाइएको टावरले विश्वलाई नै सास फेर्नलायक बनाउन हामीलाई सहयोग गर्नेछ’, व्यापारी अर्थर बुच्चर्डले भने। जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताले आफूलाई काठको टावर बनाउन प्रेरित गरेको उनको भनाइ छ। आगामी सन् २०१९ को मार्च महिनामा मात्रै यसको उद्घाटन गरिने निर्माणकर्ताले जानकारी दिएका छन्। एमजोस टावरसँगै आवास र पौडी स्थल, होटल, कार्यालय, रेस्टुरेन्ट र केही खाली ठाउँ पनि रहेको छ।
टावर खासमा ८१ मिटरको रहेको छ भने बाँकी ४.४ मिटर यसको छानो रहेको छ। त्यही छानोले यसलाई विश्वकै सबैभन्दा अग्लो बनाएको छ। यसअघि अस्ट्रियाको भियनामा बनाइएको होहो नामक टावर ८४ मिटर रहेको छ। भियनाको टावरमा मिश्रित सामग्री रहेका छन्। त्यसमा ७६ प्रतिशत काठ रहेको छ भने बाँकी अन्य सामग्री रहेका छन्। त्यसैले त्यो टावर अहिले नर्वेमा बनाइएको एमजोस टावर जस्तो नभएको निर्माण कार्यमा संलग्न अधिकारीले बताएका छन्।