धनीलाई थाहै नदिइ बुढानिलकण्ठको ४० आना जग्गा पास, अधिकृतसहित तीन पक्राउ
काठमाडौं : जग्गाधनीलाई थाहै नदिइ बुढानिलकण्ठमा रहेको ४० आना जग्गा अर्कैको नाममा पास गरेको अभियोगमा मालपोत कार्यालय चाबहिलका एक अधिकृतसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार बिहान पक्राउ गरेको हो।
नक्कली स्रेस्ता तयार पारी ४० आना जग्गा विक्री गरेको अभियोगमा चाबहिल मालपोत कार्यालयका मालपोत अधिकृत खगेन्द्रप्रसाद, नासु रञ्जन कुमार र नासु जमुना कुमारी पक्राउ परेका हुन्।
चन्दन विष्ट कायस्थको नाममा रहेको ४० आना जग्गाको स्रेस्ता रुजु गर्ने, नक्कली स्रस्ता तयार गर्ने, लिखतमा मोठ पुर्याउने र लिखत पास गर्न उनीहरूको भूमिका रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वसन्त लामाले अन्नपूर्णलाई जानकारी दिए।
यही प्रकरणमा प्रहरीले यसअघि जग्गा किन्ने र विक्रीमा संलग्न गरी पाँचजनालाई पक्राउ गरिसकेको छ। पक्राउ परेका सबैजनालाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ।