रानीजमराको निर्माण अवरुद्ध, जरा उखेल्न अवरोध

रानीजमराको निर्माण अवरुद्ध, जरा उखेल्न अवरोध

 टीकापुर : नहर निर्माण क्षेत्रका रूख कटानी भइसक्दा पनि जरा उखेल्ने काममा जिल्ला वन कार्यालयले रोक लगाएपछि रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाको काम प्रभावित बनेको छ। राष्ट्रिय गौरवको आयोजना रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाअन्तर्गत लम्की शाखा नहर विस्तारका लागि नहर क्षेत्रमा पर्ने कटान भएका रूखका जरा उखेल्न वनले रोक लगाएपछि आयोजनाको निर्माण प्रभावित बनेको हो।

आयोजनाको लम्की शाखा नहर क्षेत्रमा पर्ने झन्डै ६ किलोमिटर नहरका २ हजार ६ सय ८८ वटा रूख असारअघि नै काटिसकिएको छ। काटिएका रूखको जरा उखेल्ने काममा भने जिल्ला वन कार्यालयले रोक लगाएपछि निर्माणको काम प्रभावित बनेको हो।

लम्की शाखा नहरको १४.७ किलोमिटर नहर निर्माणको, कालिका÷कुमार जेभीले ठेक्का पाएको थियो। निर्माण कम्पनीले नहर क्षेत्रमा पर्ने रूख कटानी, सम्बन्धित वनसम्म ढुवानी, मचान निर्माण गर्नुपर्ने सम्झौता छ।

रूख कटान सकिए पनि जिल्ला वनले रूखको जरा उखेल्न रोक लगाएपछि निर्माण अवरुद्ध भएको निर्माण कम्पनी कालिका÷कुमार जेभीका कार्यक्रम प्रबन्धक सुनील पौडेलले बताए।

‘नहर क्षेत्रका रूख कटानी गरिसकेका छौं तर जिल्ला वनले जरा उखेल्ने काममा रोक लगाएपछि निर्माण प्रभावित भएको छ’, पौडेलले भने, ‘समयमै निर्माण सम्पन्न गर्न हामी तयार भए पनि वनको अवरोधले गर्न सकिएन।’

निर्माण कम्पनीले ६ किलोमिटर जंगल क्षेत्रमा वनको अवरोध र बाँकी रहेको ८ किलोमिटर नहर क्षेत्रको मुआब्जा समयमा भुक्तानी नहुँदा निर्माण प्रभावित भइरहेको बताएको छ।

‘जंगलदेखि बाँकी क्षेत्रको मुआब्जा भुक्तानी नहुँदासमेत निर्माण कार्यअगाडि बढाउन सकिएको छैन’, पौडेलले भने, ‘सिँचाइ आयोजनाले मुआब्जाको प्रक्रिया सुरु गरेको बताए पनि भुक्तानी नदिँदा निर्माण सुचारु गर्न नसकिएको हो।’

पौडेलले विवाद नभएका खोलाहरू बर्गदा, रोरा, बसुवा र रतनपानीमा नहरको संरचना निर्माण सम्पन्न गरिसकेको छ। सिँचाइ आयोजनाले ०७५ असार मसान्तभित्र १४.७ किलोमिटर नहर निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता गरेको छ।

१ अर्ब ७१ करोड ७९ लाख १५ हजार रुपैयाँको लागतमा निर्माण हुन लागेको नहरको निर्माण सम्झौता ०७३ साउन २३ गते भएको भएको थियो। जिल्ला वनले ६ किलोमिटर वन क्षेत्रका रूख कटानीका लागि सम्झौता भएको मितिले झन्डै दुई वर्ष कटान आदेश दिएको थियो। कार्यक्रम प्रबन्धक पौडेलका अनुसार ०७४ चैत ९ गतेबाट निर्माण कम्पनीले रूख कटानी सुरु गरेको थियो।

तर, जिल्ला वन कार्यालय कैलाली भने नहर क्षेत्रमा काटिएका रूखका जरा उखेल्ने काममा रोक नलगाएको दाबी गरेको छ। जिल्ला वन कार्यालय कैलालीका जिल्ला वन अधिकृत (डीएफओ) नवराज काफ्लेले जरा उखेल्न रोक नलगाएको बताए।

‘काटिएका रूखको जरा उखेल्न रोक लगाइएको छैन’, डीएफओ काफ्लेले भने, ‘त्यस क्षेत्रमा भएको काम कसले निरीक्षण गर्ने भन्नेबारे कानुनी समस्या हुँदा जरा उखेल्ने काम रोकिएको हो।’ उनले संघीय संरचना बन्नुअघि राष्ट्रिय गौरवका आयोजनाको वन क्षेत्रको निरीक्षण क्षेत्रीय वन निर्देशनालयले हेर्ने गरेको भए पनि संघीय संरचना लागू भएपछि प्रदेश वन निर्देशनालयले हेर्ने वा कसले हेर्ने भन्ने विषयमा अन्योल हुँदा जरा उखेल्ने काम रोकिएको बताए।

काफ्लेले कानुन स्पष्ट नहुँदा अन्य क्षेत्रमा समेत प्रभाव परेको उल्लेख गर्दै संघीय मन्त्रालयमा यसबारे जानकारी गराइएको बताए। रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाका आयोजना प्रमुख मधुकर रानाले जिल्ला वन कार्यालयले ढिलासुस्ती गर्दा समस्या भएको बताए। ‘रूख कटानीको आदेश दिएपछि जरा उखेल्ने कुरा रोक्नु राम्रो होइन’, आयोजना प्रमुख रानाले भने, ‘जिल्ला वनले केही कानुनी प्रक्रिया पुर्‍याएर केही दिनमै जरा उखेल्न आदेश दिने बताएको छ।’

रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाको लम्की शाखा नहरबाट कैलालीको मध्यवर्ती क्षेत्रको झन्डै २० हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य छ। राष्ट्रिय गौरवको आयोजनामा स-साना अवरोधले निर्माण कार्य नै प्रभावित हुनुले आयोजना समयमै सम्पन्न हुनेमा आशंका गर्न थालिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.