हाजिर हुनै पाउँदैनन् कर्मचारी

हाजिर हुनै पाउँदैनन् कर्मचारी

सुर्खेत : कालिकोटको शुभकालिका गाउँपालिकामा पुगेका रमाकान्त पाण्डेलाई जनप्रतिनिधिले हाजिर हुन दिएनन् । केन्द्र सरकारले प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएका पाण्डेलाई गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागार्इं र केही वडाध्यक्ष मिलेर हाजिर हुनबाट रोके । पाण्डेलाई हाजिर गराउन भन्दै गाउँपालिकालाई केन्द्र सरकारले दुई पटकसम्म पत्राचार नै ग¥यो । तर, जनप्रतिनिधिले नै हाजिर हुन नदिएपछि पाण्डे त्यहाँबाट फर्किन बाध्य भए ।

जाजरकोटको भेरी नगरपालिका–६ मा जनप्रतिनिधिले नै कर्मचारीलाई तीन महिनादेखि हाजिर हुन दिएका छैनन् । नगरपालिकाले वडासचिवका रूपमा धनबहादुर खत्रीलाई खटाएको छ । तर, वडाध्यक्ष र सदस्य मिलेर खत्रीलाई वडा कार्यालयमा हाजिर हुन रोकेका छन् । नगरपालिकाले तीन पटकसम्म पत्र काटेर हाजिर गराउन भने पनि वडाका जनप्रतिनिधिले रोकेपछि वडासचिवमा खटाइएका खत्रीले हाजिर हुन नपाएका हुन् ।

कर्णाली प्रदेश अन्तर्गतका स्थानीय तहमा जनप्रतिनिधिले आफूअनुकुलका र आस्था मिल्ने कर्मचारी मात्र खोज्न थालेपछि समस्या पैदा भएको हो । यहाँका अधिकांश स्थानीय तहमा जनप्रतिनिधिले व्यक्तिगत स्वार्थका कारण कर्मचारीलाई हाजिर हुनबाट रोक्ने गरेका छन् । केन्द्र सरकारले सोझै र जिल्ला कर्मचारी व्यवस्थापन समितिले खटाएका कर्मचारीलाई समेत गाउँ तथा नगरपालिकाले फिर्ता पठाउन थालेका हुन् । यस्तै, गाउँ तथा नगरपालिकाले खटाएका कर्मचारीलाई भने वडाका जनप्रतिनिधिले नै फिर्ता पठाउने गरेका छन् । आफू अनुकूलका कर्मचारी रोज्दै जनप्रतिनिधिले अन्यत्रबाट खटाइएका कर्मचारीलाई हाजिर हुन नदिएर लखेटिरहेका हुन् । यसबाट कर्मचारी केन्द्र सरकार र स्थानीय सरकारको दोहोरो चेपुवामा परिरहेका छन् ।

जनप्रतिनिधिले आफ्नो दलनिकट र काममा साथ दिने कर्मचारीलाई मात्र हाजिर गराउने गरेका हुन् । दैलेखको ठाँटीकाँध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेलाई पनि त्यहाँका जनप्रतिनिधिले टिक्नै दिएनन् । तीन महिनासम्म गाउँपालिकामा काम गरेका प्रशासकीय अधिकृत न्यौपानेलाई योजनाको भुक्तानीमा असहयोग गरेको भन्दै जनप्रतिनिधिले नै लखेटे । मन्त्रालयसम्म धाएर जनप्रतिनिधिले न्यौपानेको सरुवा गराए । जनप्रतिनिधिले भनेअनुसार रकम भुक्तानी गर्न नमानेकै कारण आफूलाई त्यहाँबाट लखेटिएको न्यौपानेको भनाइ छ । दैलेखकै नारायण नगरपालिकामा पनि कर्मचारीले लामो समयदेखि हाजिर हुन पाएका छैनन् । जिल्ला कर्मचारी व्यवस्थापन समितिले जिससका कर्मचारीलाई उक्त नगरपालिकामा खटाएको थियो । तर, जनप्रतिनिधिले आफूहरूलाई आस्थाकै आधारमा नगरपालिकामा हाजिर हुनबाट रोकेको कर्मचारीको गुनासो छ ।

मुगुको छायानाथ रारा नगरपालिकामा पनि कर्मचारीले हाजिर हुन पाएका छैनन् । जिससबाट खटिए पनि नगरपालिकाका जनप्रतिनिधिले कर्मचारीलाई हाजिर हुन रोकेका हुन् । यी त केवल कर्णालीका जनप्रतिनिधि र स्थानीय तहका प्रतिनिधिमूलक घटना मात्र हुन् । कर्मचारी अभावमा बजेट कार्यान्वयन गर्न नसकिएको र काम गर्न समस्या भइरहेको गुनासो जनप्रतिनिधिले बारम्बार गरिहेका छन् । यस्तै, अधिकांश स्थानीय तहमा अहिले पनि पर्याप्त कर्मचारी छैनन् । जसले गर्दा स्थानीय तहको काम प्रभावित भइरहेको छ । तर, जनप्रतिनिधिले केन्द्र सरकारले खटाएका कर्मचारीलाई हाजिरै हुन नदिएर धमाधम फिर्ता गरिरहेका छन् । अधिकांश स्थानीय तहले आफूअनुकुल वा काममा साथ दिने विश्वास भएका कर्मचारीलाई मात्र हाजिर गराउने गरेका छन् ।

जनप्रतिनिधिले नै कर्मचारीलाई हाजिर हुन नदिने र फिर्ता पठाउन थालेपछि धेरै स्थानीय तह निमित्तको भरमा सञ्चालन भइरहेका छन् । अर्कोतर्फ आफूले खटाएका कर्मचारी हाजिर नगराएको भन्दै केन्द्र सरकारले कतिपय स्थानीय तहका खाता नै रोक्का गरिदिएको छ । यसले पनि स्थानीय तहको बजेट कार्यान्वयनमा थप चुनौती थपिएको हो । सुर्खेतमा जिल्ला कर्मचारी व्यवस्थापन समितिले खटाएका जिससका चार जना कर्मचारीलाई वीरेन्द्रनगर नगरपालिकाले हाजिर नै गराएन । कर्मचारीले त्यसविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरे । अदालतले कर्मचारीलाई हाजिर गराउन आदेश दिएपछि मात्र उनीहरूलाई जनप्रतिनिधिले हाजिर हुन दिएका छन् । अहिले अधिकांश स्थानीय तहले आफू अनुकूलका कर्मचारी नआउने संकेत पाएमा पहिल्यै कर्मचारी आवश्यक नपर्ने जवाफ केन्द्र सरकार र जिल्ला कर्मचारी व्यवस्थापन समितिलाई दिने गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.