महेन्द्रनगरमा फेरि सुरु भयो आन्दोलन

महेन्द्रनगरमा फेरि सुरु भयो आन्दोलन

महेन्द्रनगर : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग राख्दै कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा पुनः आन्दोलन शुरु भएको छ ।

महिला अधिकारकर्मी, स्थानीय र नेविसंघले चरणबद्ध आन्दोलन विहीबारदेखि शुरु गरेको हो । भदौ ८ गतेको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर स्थानीय किशोर सनी खुन्नाको मृत्यु भएपछि रोकिएको आन्दोलन पुनः सुरु भएको हो । 

उच्चस्तरीय छानबिन समितिलाई काम गर्न दिने भन्दै यसअघि आन्दोलन रोकिएको थियो । समितिले समेत तोकिएको म्यादसम्म सत्यतथ्य बाहिर नल्याउनु र अहिलेसम्म हत्यारा सार्वजनिक हुन नसकेपछि पुनः दबावमुलक आन्दोलनका कार्यक्रम सुरु गरिएको दबाब मुलक संघर्ष समितिका संयोजक हेलेन श्रेष्ठले बताइन् ।

‘निर्मलाका हत्यारा पक्राउ र निर्मलाले न्याय पाउनुपर्ने हाम्रो शुरुदेखिको माग हो’, संयोजक श्रेष्ठले भनिन ‘माग पुरा नभएसम्म आफूहरुको आन्दोलन निरन्तर जारी रहन्छ ।’ हरितालिका तीजका दिनमा कालो पहिरन लगाएर विरोध सुरु गरेका महिलाहरुले बिहीवार महेन्द्रनगर बजारमा थाल ठटाएर प्रदर्शन गरेका छन् । 

उनीहरुले बजार क्षेत्रमा प्रदर्शन गर्दै केहीबेर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडि धर्नासमेत दिए । ‘हामी निर्मलाका हत्यारा पक्राउ नपर्दासम्म दबावमुलक कार्यक्रम गरिरहने छौं,’ अधिकारकर्मी प्रीतिधीर भण्डारीले भनिन्, ‘यो आन्दोलन भनेकै निर्मलालाई न्याय दिनका लागि हो।’

नेपाल विद्यार्थी संघ कञ्चनपुरले समेत बिहीवारदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम सुरु गरेको छ । ‘निर्मलाका हत्यारा अहिलेसम्म सरकारले पक्राउ गरेको छैन्’ नेविसंघका केन्द्रीय सदस्य कैलाश चन्दले भने, ‘सरकारलाई दबाव दिन कै लागि हाम्रो चरणबद्ध आन्दोलन शुरु भएको हो।’ 

उनले सरकारले तत्काल निर्मला पन्तको हत्यारा पत्ता लगाइ कारबाही गर्नुपर्ने, दिलीपसिंह विष्टलाई फसाउन खोज्ने अनुसन्धान अधिकृत र आन्दोलनका क्रममा गोली हान्ने प्रहरीलाई बर्खास्त गर्नुपर्ने लगायतका माग अघि सारेको बताए ।

बिहीवार अपरान्ह महेन्द्रनगरमा प्रदर्शन गर्दै नेविसंंघले आफ्नो चरणबद्ध आन्दोलन सुरु भएको जनाएको छ । नेविसंघका जिल्ला नेता किशोरप्रसाद जोशीले अबको आन्दोलन सरकारले हत्यारा पत्ता नलगाउन्जेल हुने बताए ।

‘शुक्रबार हामीले सरकारी कार्यालय र गाडी बन्दको कार्यक्रम बनाएका छौं’ उनले भने, ‘क्रमबद्ध रुपमा आन्दोलन अघि बढ्ने छ ।’ नेविसंघले ३० गते कञ्चनपुर बन्दको आब्हानसमेत गरेको छ । ‘अहिले ३० गतेसम्मका आन्दोलनका कार्यक्रम बनाएका छौं’, केन्द्रीय सदस्य कैलाश चन्दले भने, ‘त्यसपछि आगामी आन्दोलनका कार्यक्रम अघि बढ्ने छन् ।’

नेविसंघले निर्मला हत्याबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्चाइनुपर्ने, घाइतेहरुको उपचारमा ध्यान दिइनुपर्ने, दिलीपसिंह विष्टलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने लगायतका मागसमेत राखेको छ । 

दबाब सिर्जना गर्नकै लागि निर्मलाका बुवाआमासहित अधिकारकर्मी काठमाडौँ पुगेका छन् । काठमाडौँैमा दबाबमुलक कार्यक्रम अन्र्तगत राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मानवअधिकार आयोगसहित राजनीतिक दल, नागरिक समाज लगायतसँग भेट गर्ने कार्यक्रम छ ।

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५० औं दिन पुगिसक्दा पनि अनुसन्धान टुंगोमा पुग्न सकेको छैन । प्रहरीले मुख्य अभियुक्त बनाएका ४१ वर्षीय दिलीपसिंह विष्ट निर्दोष सावित भइसकेका छन् भने बम दिदी बहिनी पनि रिहा भइसकेका छन् । 

प्रहरीले अनुसन्धानका क्रममा अब शंकास्पद रहेका सबैको डीएनए परीक्षण गर्ने लगायत अनुसन्धान साँघुरो बनाउदै लैजाने बताएको छ । ‘अनुसन्धान निकै सिरियस भएर गरिरहेका छौं’ डीएसपी कृष्णराज ओझाले भने, ‘अब डीएनए परीक्षण शंका लागेका मानिसहरुको समेत गरिन्छ ।’ 

साउन १० गते साथी रोशनीको घरमा होमवर्क गर्न गएकी १३ वर्षीया निर्मला पन्तको अर्को दिन भीमदत्त नगरपालिका २ र १८ को सीमामा पर्ने निम्बुखेडा खोला नजिकैको उखुबारीमा शव भेटिएको थियो । निर्मलाका हत्यारालाई सार्वजनिक गर्न माग गर्दै डेढ महिनादेखि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आन्दोलनमय बनेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.