आमासँग सुतेकी नौ महिने बालिकाको मध्यरातमा अपहरण : आठ घण्टापछि उद्धार
महेन्द्रनगर : कञ्चनपुरको पुनर्वास नगरपालिका-८ ‘क’ गाउँबाट अपहरणमा परेकी एक नौ महिने बालिकाको सकुसल उद्धार भएको छ। बिहीबार बिहान सुतिरहेकै अवस्थामा अपहरणमा परेकी बालिका ८ घण्टापछि सकुशल भेटिएकी हुन्।
पुनर्वास नगरपालिका-५ ‘ग’ गाउँ बस्ने प्रकाश बिष्ट र उनकी श्रीमती बेलुदेबी विष्टको ९ महिने छोरी सरस्वती विष्ट बिहीबार बिहान १ बजे अपहरणमा परेकी थिइन्।
‘माईती घरमा सुति रहेको अवस्थामा अपरिचित व्यक्तिले नाबालिका छोरीको अपहरण गरेको देखिन्छ’, कञ्चनपुरका एसपी कुबेरसिंह कडायतले भने, ‘राति नै प्रहरीलाई खबर भएपछि खोजतलास सुरु गरेका थियौं।’
‘घरबाट लगेको करिब ८ घण्टापछि नाबालिकालाई सकुशल फेला पारिएको हो’, इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक कर्णबहादुर बमले भने,‘बिहानको समयमा माछा मार्नेहरुले बच्चा रोइरहेको सुनेपछि प्रहरीलाई खबर गरे र त्यहाँ पुग्दा धानबारीमा रोइरहेको अवस्थामा बच्चा भेट्यौं।’ धानबारीमा फेला पार्दा नाबालिकाको शरीर भरी रातो डाम रहेको प्रहरीले जनाएको छ।
खोजतलास गर्ने क्रममा बिहान करिब ८ बजेको समयमा बच्चा फेला परेको हो। बच्चा अपहरण गरिएको स्थानदेखि करिब डेढ किलोमिटरको दुरीमा बिहान बच्चा फेला परेको हो। ‘मैले आफैले बच्चा फेला परेपछिको अवस्था हेरेँ’, एसपी कुबेरसिंह कडायतले भने, ‘बच्चाले दुध खाइरहेको र अवस्था सामान्य रहेको थियो।’ घटनाको खबर पाए लगत्तै बिहानै कञ्चनपुरका प्रहरी प्रमुख एसपी कडायत आफैँ घटनास्थल पुगेका थिए।
बच्चा फेला परेपछि प्रहरीले पुनर्वास नगरपालिकाका नगर प्रमुख र उपप्रमुख, परिवार र स्थानीयवासीको समेत उपस्थितीमा परिवारको जिम्मा लगाएको थियो। नाबालिक सरस्वतीका बुवा कामका लागि भारतमा रहेका छन्। साँझ विष्ट तीज मनाउन माइत पुगेकी थिइन्।
‘घटना निकै संवेदनशिल देखिन्छ’, एसपी कडायतले भने, ‘हामीले यसको सूक्ष्म अनुसन्धान सुरु गरेका छौं।’ अपहरणकारीले नाबालिकाकी आमाको साथमा रहेको मोबाइल समेत लगेको छ। उक्त मोबाइलमा रहेको नम्बर अफ गरिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घरमा सुतेको समयमा ९ महिने नाबालिका किन र कसले लियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !