निर्मला हत्या प्रकरण : महेन्द्रनगरमा फेरि तनाव
महेन्द्रनगर : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै नेविसंघ कञ्चनपुरले महेन्द्रनगर बजार बन्द गराएको छ।
नेविसंघको बन्दका कारण महेन्द्रनगर बजार पूर्ण रुपमा बन्द रहेको छ। बजार, व्यवसाय, कलकारखाना सबै बिहानैदेखि बन्द रहेका छन्। यातायातका साधन सञ्चालन हुन सकेका छैनन्।
यातायात बन्द भएपछि विभिन्न स्थानमा जाने यात्रुहरु महेन्द्रनगर बसपार्क क्षेत्रमै अलपत्र परेका छन्। पूर्वपश्चिम राजमार्गमा यातायात बिहानैदेखि सञ्चालन हुन सकेको छैन्।
जिल्लाका अन्य क्षेत्रमा बजार व्यवसाय खुल्ला रहेपनि यातायात सेवा भने बन्द नै गराइएको छ। पूर्व निर्धारित कार्यक्रम अनुसार नेविसंघले बन्द आह्वान गरेको हो। नेविसंघले कञ्चनपुर बन्द भनेपनि सदरमुकाम महेन्द्रनगर बाहेकका अन्य क्षेत्रमा बजार व्यवसाय खुल्ला नै रहेको जनाइएको छ। महेन्द्रनगरमा आन्दोलनकारीहरुले ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन्।
विभिन्न चोकमा आन्दोलनकारीले टायर बालेर निर्मलाका हत्यारा सार्वजनिक हुनुपर्ने माग राखिरहेका छन्। आन्दोलनकारीले निर्मलाका हत्यारा सार्वजनिक गर्न प्रदर्शन गरिरहेका छन्।
नेविसंघले गरेको बन्दलाई ध्यानमा राख्दै प्रहरी प्रशासनले ठाउँ-ठाउँमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। 
प्रतिक्रिया दिनुहोस !