ढाका उद्यमीदेखि प्रशिक्षकसम्म

ढाका उद्यमीदेखि प्रशिक्षकसम्म

फिदिम : उच्च शिक्षा सकाएर जागिरको लागि भौंतारिने युवाहरू धेरै छन्। तर फिदिमका महिलाले सामान्य लगानी गरी ढाका उद्योग सञ्चालन गरेर आकर्षक कमाइ गरिरहेका छन्।

निजी लगानीमा खोलिएका साना उद्योगहरूले महिलाहरू स्वावलम्बी भएको उदाहरण धेरै छ यहाँ। त्यसैको एक उदाहरण हुन्, प्रतिमा ढाका तथा कपडा उद्योगकी सञ्चालक प्रतिमा पौडेल राना (३२)। सर्वसाधारण आम उपभोक्ताको ढाकाका कपडा लगाउने बानीको विकास हुँदै गएको कारण ढाका उद्योगहरू फष्टाउने क्रममा रहेको उनी बताउँछिन्।

प्रतिमाले २०५७ सालमै फिदिममा ढाका उद्योग खोलेकी हुन्। आफंैले केही गर्नुपर्छ भन्ने भावना जागृत भएपछि काठमाडौं गएर ढाका बुन्ने तालिम लिएर उनले उद्योग सञ्चालन गरेकी हुन्। ‘सुरुमा उद्योग सञ्चालन गर्न निकै कठिन भयो,’ प्रतिमाले भनिन्, ‘कलिलै छेस्, अहिले नगर भनेर परिवारबाट पनि सुरुमा सहयोग भएन।’ विद्यालय पढ्दापढ्दै प्रतिमाले ढाका बुन्ने तालिम लिएकी हुन्। पढाइको सिलसिलामा दाजु र दिदी काठमाडौंमा बसेकाले प्रतिमालाई काठमाडौं गएर ढाका बुनाइ तालिम लिन सहज भयो।

प्रतिमाले तालिम लिन जम्मा तीन हजार रुपैयाँ खर्चिएकी थिइन्। त्यसपछि फिदिम आएर उद्योग सञ्चालन सुरु गरेकी उनको अहिले कमाइ सन्तोषजनक छ। ‘२० हजारबाट सुरु गरेको उद्योगमा अहिले १५ लाखभन्दा धेरै लगानी गरेकी छु,’ उनले भनिन् ‘कमाइ पनि राम्रै भइरहेको छ।’

उद्योग सञ्चालन गर्न घरपरिवारबाट आर्थिक सहयोग नभएपछि प्रतिमाले आफ्नो औंठी बेचेर उद्योग सुरु गरिन्। उद्योग सुरु गर्दा उनीसँग दुइटा तान थिए। ढाका बुन्न सिक्नेलाई उनले तालिम दिएर आफ्नै ढाका उद्योगमा रोजगारी पनि दिइन्। ‘सुरुमा सामान्य आम्दानी भयो,’ प्रतिमाले भनिन् ‘आम्दानीको पैसा अरुतिर खर्च नगरी उद्योग विस्तार गर्न मात्रै ध्यान दिएँ।’ उद्योग सञ्चालनका लागि प्रतिमाले कोकाकङ्गी, काठका सामान, कुर्सी, इन्चिटेप, सटललगायतका अत्यावश्यक समानहरू थप्दै गइन्। कोकाकङ्की निकै महँगो पर्ने भएकाले उनलाई रकम जुटाउन निकै मुस्किल परेको थियो।

प्रतिमा ढाका उद्योगमा अहिले ढाकाबाट बनेका सबै प्रकारका कपडाहरू तयार हुन्छन्। उद्योगको आफ्नै सो रुम पनि छ। उद्योगमा २० जना कामदारले रोजगारी पाइरहेका छन्। उनले भनिन्, ‘उनीहरूलाई मासिक रूपमा सात हजारदेखि १२ हजारसम्म तलब दिने गरेको छु।’ प्रतिमा ढाका उद्योगमा अहिले ३० वटाभन्दा धेरै ढाकाको तान जोडिएको छ। प्रतिमाले पाँच सयभन्दा धेरै महिलालाई तालिम दिएर आफूजस्तै उद्योगी बनाएकी छिन्।

आमाबाट सिलाइबुनाइको ज्ञान सीप सिकेकी दिलकुमारी फागो पाँचथर जिल्लामा ढाका बुनाइमा प्रशिक्षकको रूपमा चिनिन्छिन्। ‘सीप भनेको नै सम्पत्ति हो भनेर नै आमाले सिकाउनु भएको हो,’ फागोले भनिन्, ‘अहिले यसैलाई जिउने आधार बनाएकी छु।’

‘तालिम दिएबापत पनि राम्रै कमाइ गरिरहेकी छु,’ उनी भन्छिन् ‘ढाका उद्योगबाटै मैले नाम अनि दाम कमाउँदा खुसी छु।’ प्रतिमा ढाका उद्योगबाट अहिले टोपी, साडी, टाई, रुमाल, व्याग, मखलर, सर्ट, ब्लाउजलगायतका दर्जनभन्दा धेरै आइटमका कपडाहरू उत्पादन भइरहेका छन्।

यहाँ उत्पादित सामानहरू पाँचथरसहित ताप्लेजुङ, इलाम, काठमाडौंदेखि अन्तर्राष्ट्रिय बजारसम्म पनि पुग्ने गरेका छन्। ढाकाका कपडाको माग बढ्दो छ। माग बढेको अनुपातमा नै आम्दानी पनि बढिरहेको छ।

दिलकुमारी (प्रमिला) फागो ढाकाको कपडा उत्पादन गर्ने अर्की उद्यमी हुन्। ४७ वर्षीया फागोले २०७० सालदेखि याक्थुङखेस ढाका उद्योग सञ्चालन गरिन्। उद्योग खोल्नुभन्दा अघि उनले फिदिममा सञ्चालित सेलिङ ढाका उद्योगमा लामो समय काम गरिन्। पछि महिलाहरूलाई सीप सिकाइन्। आफ्नै आमाबाट सिलाइबुनाइको ज्ञान सीप सिकेकी फागो जिल्लामा ढाका बुनाइमा प्रशिक्षकको रूपमा चिनिन्छिन्। ‘सीप भनेको नै सम्पत्ति हो भनेर नै आमाले सिकाउनु भएको हो,’ फागोले भनिन,् ‘अहिले यसैलाई जिउने आधार बनाएको छु।’

दिलकुमारीले ढाकाबाट कपडा उत्पादन गर्दा फिदिममा अरू कसैले यस्तो काम गरेका थिएनन्। सेलिङ ढाका उद्योगबाट उनले धेरै महिलालाई ढाका बुन्ने तालिम दिइन्। उनलाई साना तथा घरेलु कार्यालयले प्रशिक्षकको रूपमा प्रयोग गरेको थियो।

अहिले दिलकुमारी आफ्नै उद्योग सञ्चालन गर्छिन्। उद्योगबाट राम्रो आम्दानी हुने भएकाले सन्तुष्टि प्राप्त गरेको उनको भनाइ छ। ‘महिलाका लागि भरपर्दो आम्दानीको स्रोत नै ढाका उद्योग हो,’ फागो भन्छिन्, ‘सीप र जाँगर भएपछि महिलाहरूले अरूको मुख ताक्नु पर्दैन।’

‘नेपालीहरूका लागि ढाका संस्कृति नै बनेको छ,’ फागोले भनिन् ‘संस्कृतिसँग जोडिएको कुनै पनि उद्योग र व्यापारमा नोक्सान हुँदैन।’ घरको कामबाट बचेको समयमा पनि ढाका उद्योगमा काम गर्न सकिने भएकाले महिलाका लागि ढाका उद्योग भरपर्दो आम्दानीको माध्यम बनेको हो। अहिले फिदिममा मात्रै दर्जनौं ढाका उद्योगमा महिलाले राम्रो आम्दानी गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.