अवैध यौनधन्दा चलाउने पाँचजना पक्राउ, तीन महिलाको उद्धार
नुवाकोट : नुवाकोटका विभिन्न बजारमा गोप्यरुपमा यौनधन्दा गराएको आरोपमा दुई महिलासहित पाँचजना पक्राउ परेका छन् । त्यस क्रममा तीन महिलाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
पक्राउ परेकाविरुद्ध नुवाकोट जिल्ला अदालतमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तवहादुर कुँवरले जानकारी दिए । उनका अनुसार गाउँघरमा आर्थिक समस्यामा परेर घरायसी खर्च जुटाउन रोजगारी खोज्दै आएका ती युवतीहरुलाई यौनधन्दामा लगाएको खुलेको प्रहरीले जनाएको छ ।
रोजगारीको खोजीमा रहेका २१, १५ र २६ वर्षका तीन महिलालाई आर्थिक प्रलोभन देखाई काममा लगाइदिने भन्दै पीडितहरुलाई देहव्यापारमा लगाइएको फेला परेपछि होटेल सञ्चालकसहित पाँचजनालाई पक्राउ गरिएको हो ।
महिलालाई यौनकार्यमा लगाएको अभियोगमा बिदुर नगरपालिका–२ की २२ वर्षीया मञ्जु बस्नेत, धादिङको नेत्रावती गाउँपालिका–३ की ४० वर्षीया सुवानी लामा, बिदुर नपा–१२ का २५ वर्षीय मदुसुधन रिमाल, बिदुर नपा–१२ का २२ वर्षीय रमेश अर्याल र विदुर नपा–५ का ४० वर्षीय सुरेन्द्र कुमाललाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !