प्रतिस्पर्धा होइन जीवन
![प्रतिस्पर्धा होइन जीवन](https://annapurnapost.prixacdn.net/media/albums/life_20180519022046_OH1WZEJlCr.jpg)
सधैं तर्क र प्रश्नहरूले भरिएका हामीलाई मनुष्य जीवन सृष्टिको उपहार हो भनेर मात्र चित्त बुझ्दैन। विज्ञान, गणित र रसायनशास्त्र जानिसकेका हामीलाई पहिले गर्ने, मान्ने अनि जान्ने बानी परेको हुँदा प्रयोगबिनाको परिणामलाई सहज स्वीकार्न असहज हुनु स्वाभाविक हो। तर जीवन र प्रेम कुनै गणित र विज्ञान होइन पहिले प्रयोगशालामा प्रयोगात्मक रूपमा प्रयोग गर्ने अनि परिणाम आएपछि मात्र स्वीकार गर्ने। प्रेमलाई जान्ने कुनै सूत्र हुँदैन। जीवनलाई प्रयोग गरेर हेर्ने कुनै प्रयोगशाला छैन। जीवन आफैंमा एक रहस्यमय प्रयोगशाला हो जसलाई अनभूति मात्र गर्न सकिन्छ। अनुभूति र अनुभवको नाम नै जीवन हो। सृष्टिको स्रोत नै प्रेम हो। प्रेमकै कारण हामीले जीवन पाएका छौं। प्रेमबिना यो जीवन सम्भव थिएन। तर बिडम्बना रहस्यलाई रहस्यकै रूपमा अनुभूति गर्न छाडेर परिभाषामा अल्झेका छौं हामी। हृदयको आवाज सुन्दैनौं मस्तिष्कको इशारामा बढी चल्छौं।
मस्तिष्कले कहिल्यै रहस्यलाई रहस्यको रूपमा रहन दिँदैन। कुनै पनि चीज, भाव या रहस्यलाई परिभाषामा नउतारी मन शान्त हुँदैन। तर, कैयौं चीज यस्ता छन् जसलाई परिभाषामा बाँध्न सकिन्न। व्याख्यामा समेट्न सकिन्न। कुनै किताब पढेर जीवन र प्रेमलाई जान्न सकिन्न। कयौं ठूला अनुसन्धान र वैज्ञानिकहरूले समेत परिभाषामा समेट्न नसकेका कुरा हुन् जीवन र प्रेम। जीवन र प्रेम जुन अनन्त आकाशभन्दा ठूलो र फराकिलो छ, कसले यसलाई छोटो परिभाषाले वर्णन गर्न सक्छ ? सदियौं बिते जीवन र प्रेमका परिभाषा असम्भव भएका छन्। जसको कुनै सीमा छैन, आँकडा छैन, अंकगणित छैन, आफैंमा अनन्त र विराट् अर्थ बोकेको छ।
जीवनलाई पनि मानिसले परिकल्पना गरेका कुनै आयोजना जस्तै ठान्दै यसका उद्देश्य र लक्ष्य के हुन् भनेर खोज्न र विचार गर्न थाल्छौं हामी। प्रत्येक मनुष्यलाई जीवनमा पटक–पटक मेरो उद्देश्य के हो ? म कहाँ पुग्नुपर्ने हो ? के हो मेरो जीवनको उपलब्धि ? आदि प्रश्नहरूले सताउने गर्छ। सानो समस्याले पनि हामीलाई जरैबाट हल्लाइदिन्छ र हामी बाँच्नुको उद्देश्य, जीवित रहनुको अभिप्राय र कर्मको उपलब्धिका बारेमा पटक–पटक चिन्तित हुने गर्दछौं। बाहिरबाट जतिसुकै आत्म–विश्वासको खोल ओढे पनि ऐन मौकामा हामी डगमगाउन थाल्छौं र फेरि सोच्न र पुनर्विचार गर्न बाध्य हुन्छौं, हामीले अपनाएको मार्ग ठीक हो कि होइन। यी प्रश्न नखोज्ने र आफूभित्र घोत्लिन नसक्नेले जीवन व्यर्थ, दुःख र अभावको संज्ञा दिन्छ र आत्महत्याको प्रयाससम्म गर्न पुग्छ।
जीवनको लक्ष्य, जिउनुको उद्देश्य, सही मार्गको ज्ञानभित्रबाट मात्र खुल्छ। खुसी र सुख प्रतिस्पर्धामा छैन, पूर्ण मानिस भएर जिउनुमा छ। आजका मानिस कसैले भन्न सक्दैनन् खुलेर जीवन के हो ? भित्रभित्रै थाहा छ जीवन प्रतिस्पर्धा हो। यदि त्यसो हुँदैनथ्यो भने मानिस चुनाव जित्न, अरूले भन्दा ठूलो बंगला बनाएर बस्न, अरूले भन्दा महँगो गाडी चढ्न, अरूले भन्दा राम्रो ब्राण्डको घडी लगाउन, अरूले भन्दा राम्रो कलेज पढ्नमा प्रतिस्पर्धा गर्दैनथ्यो होला। जीवनको उपयोगिता र उपादेयता भौतिक वस्तु र उत्पादनमा सीमित छैन। जीवन त रहस्य हो। सिटिजन वा रोलेक्स घडी लगाए पनि त्यसको उपयोगिता भनेको समय थाहा पाउनु हो। बिजिनेस क्लासमा हवाईयात्रा गर्ने खुसी र इकोनोमीमा यात्रा गर्ने बेखुसी अवश्य छैन किनकि गन्तव्य दुवैको एउटै हो।
मर्सिडिज कुदाए पनि सुजुकी कुदाए पनि सडक उही हो। आज मान्छे अरूलाई देखाउने प्रतिस्पर्धामा आफ्नो जीवन जिउन बिर्सेको छ। अरूभन्दा माथि र अगाडि हुने प्रतिस्पर्धामा आफ्नो कर्म, मार्ग, सम्बन्ध, स्वास्थ्य, जीवनशैली नै बिर्सेको छ। जति महँगा चीज प्रयोग गरे पनि कसैलाई समस्या छैन तर त्यसले जीवनमा वास्तविक खुसी थपेको छ कि छैन त्यो महŒवपूर्ण कुरा हो। आज सबैभन्दा धेरै सम्पत्ति हुनेहरू नै गरिब देखिन्छन्, बेखुसी देखिन्छन् किनकि सम्पत्ति कमाउने जोशमा तिनले आफ्नो सम्बन्धलाई सुमधुर पार्न सकेका छैनन्। आफ्नो परिवारलाई प्रेम र समय दिन भ्याएका हुँदैनन्। चरित्र र मर्यादा के हो सिकाउन पाएका हुँदैनन्। दौडधुपमा आफ्नो स्वास्थ्य ठीक राख्न सकेका हुँदैनन्। एकजना धनाढ्य पसलमा कमिज किन्न पुग्छन्। पसलेले एक हजार रुपैयाँदेखिको कमिज देखाउन सुरु गर्छन्।
धनाढ्यले हजार, पाँच सय हुँदै दुई सयसम्मको हेरिसकेपछि दुई सयकै कमिज किन्छन्। पसलेले सोध्छन्–‘महाशय हेर्दा त तपाईं दुई सयको कमिज लगाउनेजस्तो देखिनुहुन्न। तर तपाईं सधैं सस्तो कमिज किन किन्नुहुन्छ ? ’ धनाढ्य जवाफ दिन्छन्– ‘यो मेरो ड्राइभरका लागि हो, आज उसको जन्मदिन हो त्यसैले म उपहार दिन चाहन्छु।’ मालिकबाट उपहार पाएर ड्राइभर खुसी हुन्छन्। केही हप्तापछि तिनै ड्राइभर त्यही पसलमा कमिज किन्न पुग्छन्। ड्राइभरको लवाइखुवाइ देखेर पसलेले सस्तो मूल्यबाट देखाउन सुरु गर्छन्। ड्राइभर भन्छन्– ‘सबैभन्दा महँगो देखाउनुस् न ! पसलेले हजार रुपैयाँको कमिज देखाउँछन् र ड्राइभरले त्यही किन्छन्। पसले सोध्छन्– ‘तपाईं देख्दा पैसा भएको व्यक्ति जस्तो देखिनुहुन्न तैपनि किन यति महंगो कमिज लिनुभएको ? ’ ड्राइभर उत्तर दिन्छन्– ‘आज मेरो मालिकको जन्मदिन हो। म उहाँलाई उपहार दिन चाहन्छु।’ मानिस धनी मनले र स्वभावले हुन्छ पैसाले हुँदैन भन्ने यो बोध कथाले धेरैको स्वभाव र जीवन जिउने तरिकालाई खुलस्त पार्दछ।
जीवन र प्रेम एउटा अनुभूति हो, एउटा रहस्य हो, यसमा जति तर्क र बुद्धि लगाए पनि, मन जति मालिक हुन खोजेपनि यो रहस्यमै रहन्छ। यो रहस्यको आनन्दमा डुब्नु जत्तिको समझदारी अरू हुनै सक्दैन। जीवनको रहस्य आनन्दमा समाहित हुनु हो भने प्रेमको रहस्य अस्तित्वसँग तादात्म्यता जोड्नु हो। प्रकृतिसँग रमाउनु हो। आफैंभित्र डुबुल्की लगाउनु हो। जीउनुको नाम जीवन हो। जीवन्तता प्रेम हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)