प्रदेश सरकारले अस्पताल व्यवस्थापन समिति बनाउने

प्रदेश सरकारले अस्पताल व्यवस्थापन समिति बनाउने

हेटौंडा : केन्द्र सरकारले देशैभरका अस्पताल विकास समिति खारेज गरेपछि प्रदेश ३ सरकारले मातहतका अस्पतालमा अस्पताल व्यवस्थापन समिति बनाउने गृहकार्य थालेको छ। प्रदेश सामाजिक विकास मन्त्रालयले अस्पताल व्यवस्थापन समिति बनाउनेबारे छलफल अघि बढाएको हो। स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकको अवधारणापत्रमाथि बिहीबार हेटौंडामा भएको छलफलमा सामाजिक विकास मन्त्री युवराज दुलालले समिति बनाउनेबारे गृहकार्य अघि बढाइएको जानकारी दिए।

संघीय सरकारले प्रदेश ३ सरकारलाई नौ वटा जिल्ला अस्पताल हस्तान्तरण गरेको छ। उक्त अस्पतालमा सम्बन्धित जिल्ला समन्वय समितिका सभापतिलाई अध्यक्ष तोकी अन्य संस्थाका पदाधिकारीलाई पदेन सदस्य राख्ने प्रस्ताव मन्त्रालयको छ। मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख सतीश विष्टले प्रस्तुत गरेको अस्पताल व्यवस्थापनसम्बन्धी प्रस्तुतीकरणमा अस्पताल रहेको क्षेत्रको निर्वाचित प्रदेशसभा सदस्य त्यस अस्पतालको संरक्षक रहने प्रस्ताव गरिएको छ।

स्थानीय तहको प्रतिनिधि, रेडक्रस, पत्रकार महासंघ, उद्योग वाणिज्य संघ, समितिले मनोनयन गर्ने दुई महिला, जिल्ला प्रशासन कार्यालयका प्रमुख वा अधिकृत तहका एक गरी ११ सदस्यीय समिति रहने प्रस्ताव गरिएको विष्टले जानकारी दिए।

प्रतिष्ठानको विषयमा चर्काचर्की

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान कहाँ राख्ने भन्नेबारे प्रदेशसभा सांसदबीच चर्काचर्की भएको छ। स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकको अवधारणापत्रमाथिको छलफलमा प्रदेश सरकारले बनाउने प्रतिष्ठानको स्थानबारे विवाद भएको हो। चितवनबाट निर्वाचित सांसदले एकपक्षीय रूपमा चितवनमा प्रतिष्ठान राखिनुपर्ने माग गरेपछि कार्यक्रममा भनाभनको अवस्था सिर्जना भएको थियो।

चितवनका सांसदहरूले भरतपुर अस्पताललाई प्रतिष्ठानको रूपमा स्थापना गर्नुपर्ने माग गरेपछि धादिङका प्रदेशसभा सांसद रामकुमार अधिकारीले समानुपातिक विकासको अवधारणा हेरेर हेटौंडामै प्रतिष्ठान राखिनुपर्ने बताएका थिए। कार्यक्रममा चर्काचर्की बढेपछि सामाजिक विकास मन्त्री दुलाल र मुख्यमन्त्री डोरमणि पौडेल उठेर सांसदबीचको भनाभनलाई साम्य पारेका थिए।

प्रदेशसभाको नीति तथा कार्यक्रममै हेटौंडा अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गर्ने उल्लेख भइसकेको अवस्थामा विवाद गर्नुको तुक नभएको अन्य सांसदले बताइरहँदा चितवनका सांसद विजय सुवेदी, कृष्ण खनाललगायतले त्यसको प्रतिवाद गरेका थिए। हेटौंडा अस्पताल र भरतपुर अस्पताल दुवैलाई समेटेर प्रतिष्ठान स्थापना गर्ने र दुवैको संरचनालाई प्रयोग गरी कार्यालय हेटौंडाबाट सञ्चालन गरिने सामाजिक विकास मन्त्रालयको प्रस्तावित विधेयकमा उल्लेख रहेको स्वास्थ्य महाशाखा प्रमुख सतीश विष्टले बताए।

छलफलमा भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रविन खड्का र हेटौंडा अस्पतालका प्रवीण श्रेष्ठले प्रस्तुतीकरण दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.