ग्रासरुट फुटबलमा बढ्दो उत्साह

ग्रासरुट फुटबलमा बढ्दो उत्साह

सिमरा : नेपाली फुटबलको विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुरु गरेको ‘ग्रासरुट’ फुटबलमा बालबालिकाको रुची बढ्न थालेको छ । 

जिल्ला फुटवल संघ बाराले सिमरामा सञ्चालन गरिरहेको अभ्यास चरणको दोस्रो हप्तामै विद्यालयका बालबालिकाले उत्साहजनक सहभागिता देखाएका छन् । 

सिमरा रंगशालामा शनिवार बिहान झण्डै दुई सय बालबालिका उपस्थित हुँदा जिल्ला फुटबल संघका पदाधिकारी समेत उत्साहित देखिन्थे । रंगशालामा बालिबालिका मात्र नभई उनका अभिभावक समेत उपस्थित भए ।

 
आफ्ना सन्तानलाई लिएर रंगशाला पुगेका अभिभावकलले फुटबल अभ्यासमा बालबालिकाको हौसला बढाएको दृश्य हेर्न लायक थियो । सिमराका वीरेन्द्र वाईबाले एन्फाको यो कार्यक्रमले फुटबलको विकाससँगै साना बालबालिकालाई स्वस्थ र कुलतमुक्त राख्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

‘यो कार्यक्रमले भविष्यमा राम्रा खेलाडी उत्पादन हुने र नेपाली फुटबलको विकासमा सहयोग पुग्नेछपुग्नेछ’ वाईबाले भने, ‘अहिलेको अवस्थामा बालबालिकालाई पढाईसँगै खेलकुदमा ब्यस्त गराउनेछ । जसले उनीहरुलाई स्वस्थ राख्नुका साथै कुलतबाट टाढा राख्नेछ ।’

स्कुले बालबालिकालाई फुटबलमा सहभागी गराउने र दक्ष खेलाडी उत्पादन गर्ने एन्फाको चार वर्षे यो कार्यक्रममा बाराका १६ विद्यालयका झण्डै दुई सय बालबालिका सहभागी छन् । ग्रास रुट फुटबल कार्यक्रमका संयोजक एवं जिल्ला फुटबल संघका बरिष्ठ उपाध्यक्ष रामचन्द्र लामाले सोचेभन्दा बढी बालबालिकाको सहभागिताले आफूहरु समेत उत्साही भएको बताए ।

उनले भने, ‘सुरुवाती दिनमा यो कार्यक्रमको उदेश्य बुझाउन हामीलाई केही समय लाग्यो । विद्यालय र अभिभावकलाई भेटेर कार्यक्रमका बारेमा बुझायौँ तर अहिले राम्रो सहभागिता छ । यसले हामीलाई उत्साही बनाएको छ ।’

ग्रासरुट फुटबलको अभ्यासमा अहिले ८ वर्षदेखी १३ वर्षसम्मका बालबालिकालाई सहभागी गराइएको लामाले बताए । चार वर्षसम्म सञ्चालन हुने कार्यक्रमको अहिले अभ्यास भइरहेको र औपचारिक रुपमा उद्घाटन गर्न बाँकी रहेको लामाको भनाइ छ । लामाले ग्रासरुट फुटबलको औपचारिक उद्घाटनका लागि सहभागी बालबालिकालाई विशेष अभ्यास गराइरहेको जानकारी दिए । 

ग्रासरुट फुटबलको प्रशिक्षणका लागि जिल्ला फुटवल संघले कृष्णमणी चौधरीलाई प्रशिक्षक तोकेको छ । चौधरीसहित जिल्ला फुटबल संघका १० जना भन्दा बढी प्रतिनिधिले अहिले अभ्यास गराइरहेका छन् । कार्यक्रमको औपचारिक सुरुवातपछि प्रत्येक विद्यालयमा ६ दिनसम्म प्रशिक्षक पुगेर प्रशिक्षण गराउने र सातौँ दिन सिमरा रंगशालामा लिग सञ्चालन गर्ने योजना रहेको प्रशिक्षक चौधरीले बताए ।

एन्फाले यो कार्यक्रम सञ्चालन गर्नका लागि यस वर्ष ५ लाख बजेट उपलब्ध गराएको छ । एन्फाले पठाएको बजेटबाट सिमरा रंगशालामा दुई वटा चेन्जिङ रुम बनाएको लामाले बताए । चार बर्षे कार्यक्रम अघि बढाउन पूर्वाधार अति आवश्यक रहेको त्यसका लागि चेन्जिङ रुम बनाइएको लामाको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.