गाँजाबारीमा गोलभेडाको टनेल

गाँजाबारीमा गोलभेडाको टनेल

मकवानपुर : पूर्व–पश्चिम राजमार्ग कटेर राप्ती खोला तर्नेबित्तिकै पर्सा राष्ट्रिय निकुञ्जको जंगल। जंगलभित्र भित्रैबाट भारततर्फ गाँजा तस्करी गर्न गाँजा व्यापारीको पहिलो रोजाइमा पथ्र्यो, भाड्डी गाउँ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मनहरीस्थित खरंगाबाट ६ किलोमिटर पूर्वमा रहेको राक्सिराङ गाउँपालिका २ भाड्डीको त्यो परिचय अहिले फेरिएको छ। चार/पाँच वर्ष अघिसम्म गाँजा झुल्ने बारीका पाटाहरू टनेलले भरिएका छन्। त्यहाँ गाँजाको विरुवाको भाले पोथी छुट्याउने कुरा हुँदैन, विषादीरहित गोलभेडा उत्पादन गर्ने कुरा हुन्छ।

पछिल्लो समयमा स्थानीय प्रशासन र प्रहरीले गाँजाको विकल्पमा अन्य खेती गर्न प्रोत्साहन गरेपछि यहाँका एक सय परिवार किसान तरकारी खेतीतर्फ आकर्षित भएका हुन्। ‘गाँजा खेती गर्दा सधैंको डर, त्रास। पुलिस आएर कहिले नष्ट गरिदेला भन्ने चिन्ता, बेच्न पनि उत्तिकै समस्या’, स्थानीय खिलबहादुर रानामगरले भने, ‘अहिले कुनै समस्या छैन, गोलभेडा उत्पादन गर्छु, तयार भएपछि हेटौंडा बजार लगेर बिक्री गर्छु।’

तीन वर्षअघि तीनवटा टनेलमा गोलभेडा खेती सुरु गरेका मगरले अघिल्लो वर्ष पाँचवटा र यस वर्ष १२ वटा टनेलमा गोलभेडा खेती गरिररहेका छन्। ‘वर्षमा दुई लाख रुपैयाँ भन्दाबढी बचत गर्छु’, उनले थपे, ‘स्थानीय प्रशासन र सरकारले अनुदान र नयाँ खेतीबारे सिकाएपछि प्रायः किसानले तरकारी खेती गरिरहेका छन्।’

 राक्सिराङ गाउँपालिका २ भाड्डीका खिल बहादुर राना मगरले गाँजा खेती छाडेर टनेमा लगाएको गोलभेडा खेती।

मगरजस्तै टिकाराम परियार पनि गाँजा छाडेर तरकारी खेतीतर्फ आकर्षित भएका छन्। ‘चारवटा टनेलमा गोलभेडा लगाएको छु, गाँजाको जस्तो आम्दानी त हुँदैन तर त्यही धेरै तनाव पनि छैन’, उनले भने, ‘यस वर्ष ३६ देखि ६० रुपैयाँ केजीसम्म गोलभेडा बिक्री गर्यौं।’ नयाँ प्रविधिसँगै सिँचाइको राम्रो सुविधा र सडकको स्तरीकरण भए तरकारी यहाँका कसैले पनि गाँजा नरोप्ने विकको भनाइ छ। राक्सिराङ गाउँपालिकाले गत आर्थिक वर्षमा गाँजा खेती विस्थापन गर्दै तरकारी खेती गर्न भाड्डी गाउँमा तीन लाख रुपैयाँ अनुदान दिएको थियो।

गाँजा विस्थापित गर्न डेढ करोड

गाँजा खेतीका कारण गाउँको सामाजिक धरातल नै बिग्रन थालेको भन्दै राक्सिराङ गाउँपालिकाले चालु आर्थिक वर्षमा गाँजा विस्थापित गर्न समानीकरण अनुदानबाट डेढ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ। गाँजा खेती छाडेर किसानलाई पशुपालन र तरकारी खेतीतर्फ आकर्षित गर्न उक्त बजेट छुट्याइएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए।

‘गाउँपालिका सयौं युवा र बुढापाका गाँजाकै कारण जेलमा छन्, धेरैको घरबार लथालिंग भएको छ’, उनले भने, ‘हामी गाउँपालिकालाई गाँजामुक्त बनाउने अभियानमा छौं।’ गत आर्थिक वर्षमा पनि गाउँपालिकाले एक करोड रुपैयाँ यसकै लागि खर्च गरेको थियो। यसैबीच, मकवानपुर प्रहरीले गाँजाको ब्याड राख्नेलाई पनि कारबाही गर्ने भएको छ। मकवानपुर प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहले भने, ‘अब अटेरी गरेर ब्याड राख्नेलाई पनि कानुनअनुसार कारबाही हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.