मेयर शाक्यमाथि न्यायाधीशको जग्गा मिचेको आरोप

मेयर शाक्यमाथि न्यायाधीशको जग्गा मिचेको आरोप

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो जग्गामा जाने बाटो फराकिलो पार्न पूर्वन्यायाधीशकै जग्गामा जबर्जस्ती गरेका छन्। काठमाडौं महानगरपालिका–२ लाजिम्पाटस्थित उच्च अदालतका पूर्वन्यायाधीश चित्रदेव जोशीको जग्गा जबर्जस्ती मिचेर मेयर शाक्यको जग्गामा जाने बाटो फराकिलो पारिएको छ।

जोशीको जग्गाको कित्ता नम्बर २९८ हो। उनको जग्गाभन्दा पश्चिमको २९९ कित्ता नम्बरको जग्गा मेयर शाक्यको हो। जोशीकोभन्दा पश्चिममा रहेको जग्गा मेयर शाक्य र उनका दाजु सुगन्ध शाक्यको नाम छ। जोशीको त्यहाँ ३९५ दशमलव ०७ वर्गमिटर जग्गा छ भने मेयरका दाजुभाइको कुल २२ आना जग्गा छ। शाक्य दाजुभाइले आफ्ना जग्गामा जाने बाटो फराकिलो बनाउन जोशीको जग्गा मिचेका हुन्।

नक्सामा जोशीको जग्गा अगाडि ६ फिटको साझा बाटो छ। जोशीको सहमतिबेगर २ फीट जग्गा मिचेर ८ फिटको बाटो बनाइएको छ। २०५३ साल माघ १५ गतेको लिखत र रजिस्ट्रेसनअनुसार सँधियार जग्गाधनी रमा बस्याल, सुशीला परियार र गोमा धितालको सहमतिमा ६ मिटर साझा बाटो कायम गरिएको थियो। लामो समयदेखि राजनीतिक शक्तिको आडमा मेयरको परिवारले आफूलाई दुःख दिइरहेको जोशीको आरोप छ।

२०५६÷५७ सालतिर नापी गर्दा नै जोशीको जग्गा नापीकै कर्मचारीको मिलोमतोमा कब्जा गर्ने प्रयास भएको थियो। पछि जोशीले लिखत प्रमाणसहित नापीमा गएर भनेपछि मात्रै मिलाइएको थियो। उनले युवा संघका कार्यकर्ता प्रयोग गरेर आफूलाई धम्क्याएको आरोप लगाएका छन्। जग्गा नाप्न, सिमानामा पर्खाल लगाउनसमेत नदिएको उनको भनाइ छ। मेयरका दाजु सुगन्धले युवासंघसहित दलबल लिई हुलहुज्जत गरी बाधा पुर्‍याएको उनले बताए।

सरकारी अमिन आउँदा जग्गा नाप्न नदिने, किला ठोक्न नदिने, पर्खाल लगाए भत्काइदिने गरेको जोशीको आरोप छ। ‘मैले आफ्नो जग्गा संरक्षण गर्न जग्गा नाप्न, पर्खाल लगाउन खोजेँ तर मलाई दिइएन’, उनले भने, ‘बलमिच्याइँ गरेर मेरो जग्गा कब्जा गरियो, मलाई न्याय चाहियो। मेयरले नै यसो गरेपछि मैले कस्लाई भन्न जाने ? ’ लामो समय कुरेर भेटेपछि समस्या राख्दा कुरा सुन्नै नचाहेको गुनासो पनि उनले गरे। पर्खाल लगाउन मजदुर खटाउँदासमेत बाधा व्यवधान खडा गरेको भनाइसमेत उनले राखे।

मेयर शाक्यको बलजफ्तीविरुद्ध जोशीले अदालतमा मुद्दा दायर गरेका छन्। जग्गाप्राप्ती ऐन २०३४ को दफा ३ (१६) अनुसार राज्यले सार्वजनिक हितका लागि व्यक्तिको जग्गा मुआब्जा वा क्षतिपूर्ति दिएर मात्रै लिन सक्ने कानुनी व्यवस्था छ। पाटीका भ्रातृ संगठन युवा संघ, वडाध्यक्षलगायत जनप्रतिनिधि र मेयरले दबाब दिई व्यक्तिको जग्गा मिच्ने काम ठाडै गैरकानुनी रहेको उनले आरोप लगाए।

मेयर विद्यासुन्दर शाक्यलाई बदनाम गर्न मात्र पूर्वन्यायाधीश जोशीले आफूहरूविरुद्ध आरोप लगाएको मेयरका दाजु सुगन्ध शाक्यले दाबी गरे। ‘जोशीजीको नियत हाम्रो बदनाम गर्ने र दुःख दिने मात्र हो’, उनले भने, ‘उहाँका सबै कुरा झूट हुन्।’ आफूले धम्क्याउने, युवा संघका कार्यकर्ता लगाउने काम नगरेको दाबी उनले गरे। उपभोक्ता समितिले नै बाटो १० मिटर चौडा पार्ने निर्णय गरेको र उक्त बाटो आफ्नो जग्गामा मात्र नभएर अरुकोमा समेत जाने शाक्यको भनाइ छ।

‘मेयर शाक्य, म र वडाध्यक्षविरुद्ध निषेधाज्ञा जारी गर्न माग गर्दै उच्च अदालतमा मुद्दा हाले, त्यो बदर भयो। फेरि अर्को मुद्दा हालेका छन्’, उनले भने, ‘सबै जना बाटो चौडा गर्न राजी छन्, जोशी मात्रै मुआब्जा चाहियो, क्षतिपूर्ति चाहियो भनेर बाटो बनाउन रोकिरहेका छन्।’ उनले आफूहरू सबैको उद्देश्य बाटो चौडा गर्ने मात्र रहेको बताए। शाक्यले सहमतिमा नै सुरुमा जोशीले २ फिट छाडेर पर्खाल लगाएको बताए। तर पछि जोशीले मेयरमाथि आफ्नो जग्गामा बाटो लैजान जबर्जस्ती आफ्नो जग्गा मिचेको आरोप लगाइरहेको शाक्यको भनाइ छ।

वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जोशीको जग्गाका कारण आफू चेपुवामा परेको बताए। ‘स्थानीयको एउटा कुरा छ, जोशीजीको अर्को कुरा छ’, उनले भने, ‘म गलत छु कि, स्थानीय गलत छन् कि जोशी गलत हुनुहुन्छ। मलाई नै गाह्रो परेको छ।’ उनले जग्गासम्बन्धमा मेयर शाक्यको कुनै संलग्नता नरहेको दाबी गरे। जग्गा मेयरको नभएर शाक्य गुठीको भएको दाबी वडाध्यक्ष श्रेष्ठको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.