रुइला नाका खुलाउने तयारी
गोरखा : चीन सरकारले उत्तरी गोरखाको सामागाउँमा पर्ने रुइला नाका खुलाउने स्थानीयलाई आश्वासन दिएको छ। केही दिनअघि स्थानीय प्रतिनिधिसँग वार्ता र संवाद गरी रुइला नाका बाह्रै महिना खुलाउन सकिने आश्वासन दिएको वडाध्यक्ष वीरबहादुर लामाले जानकारी दिए। छेकम्पारबाट चीन जोड्ने ङुइला नाका डेढ वर्षअघि खुले पनि सामागाउँतर्फको रुइला नाका खुल्न सकेको छैन।
नाका खुलाउनेबारे चिनियाँ पक्षले सामागाउँलगायत नुब्री उपत्यकाका अगुवासँग छलफल गरेको हो। चिनियाँ अधिकारीले चुमनुब्री गाउँपालिकाका वडाध्यक्षलाई छलफलका लागि बोलाएको थियो। सरकारी अनुमतिबिना एकतर्फी आग्रहका आधारमा जान उचित नहुने भन्दै वार्तामा नगएको वडा नम्बर १ का अध्यक्ष वीरबहादुर लामाले जानकारी दिए।
जनप्रतिनिधि नगएपछि नुब्रीतर्फका चारवटै वडाका अगुवा वार्तामा गएका थिए। छलफलमा सामागाऊँ, ल्हो, प्रोक र बिहीका सामाजिक अगुवासहित केही जनप्रतिनिधि सहभागी भए। तिब्बतको कोङदाङ भन्ने ठाउँमा भएको चिनियाँ अधिकारीसँगको छलफलमा चिनियाँ पक्षले नाका खोल्न सुरक्षाको सुनिश्चितता खोजेको छलफलमा सहभागी वडा नं. १ का सदस्य मिङमार लामाले जानकारी दिए।
सो नाका नियमित नखुल्दा उत्तरी गोरखाका बासिन्दा दैनिक उपभोग्य सामान खरिद गर्न वर्षमा एकपटक १५ दिनका लागि नाका खुलेका बेला वर्षभरलाई पुग्ने सामान ल्याएर जीविका चलाउन बाध्य छन्। गोरखा सदरमुकामबाट ५२ कोष टाढाका साविक ४ गाविसका बासिन्दाले बाह्रै महिना नाका खोल्न आग्रह गरेको वडासदस्य लामाले बताए।
तिब्बती अधिकारीले भने सुन, रक्तचन्दन, नक्कली मुद्रा, कस्तुरीको बिनालगायत सामग्रीको तस्करी हुन थालेकाले नाका नखोलेको जानकारी दिएको उनले बताए। सीमा क्षेत्रमा गलत व्यक्तिको आवतजावत हुन नदिन नेपाली पक्षले सघाउनुपर्ने तिब्बती अधिकारीको भनाइ रहेको लामाले जानकारी दिए।
जनप्रतिनिधि वा गाउँको आधिकारिक समितिले नाम लेखेका व्यक्तिले मात्रै नाका वारपार गर्न पाउने चुमनुब्री–१ का वडाध्यक्ष वीरबहादुर लामाले बताए। निकट भविष्यमा केही दिनका लागि नाका खोल्ने दुवै पक्षबीच मौखिक सहमति भएको छ। चीन सरकारले सामागाउँको सीमामा रहेको रुइला नाकासम्म सडक सञ्जाल विस्तार गरिसकेको छ। नेपाल सरकारले सामागाउँसम्म पुग्ने गरी बेनीघाट आरूघाट लार्के सडक सेनामार्फत निर्माण गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !