पप्पु कन्स्ट्रक्सनबारे सूचना माग्दा मन्त्रालयका सहसचिवले यसरी हपारे
कर्मचारीतन्त्रको सनक व्यवहार। अभद्र प्रस्तुतीकरण। आफू जे छु ठीक छु। अहं र असहयोगी भावना। आमकर्मचारीका बारेमा आमनागरिकको धारणा यस्तै छ। सार्वजनिक पद धारण गरेका कर्मचारीको आचरण सुधार नहुँदा दैनिक सयौं सर्वसाधारण पीडित बन्ने गरेका छन्। शुक्रबार कर्मचारीको यस्तै रवैयाबाट म पनि प्रताडित हुनुपर्यो।
मुलुककै ठूलो प्रशासनिक भवन सिंहदरबारमा बस्ने उच्च तहका कर्मचारीको व्यवहार पनि यस्तै तुच्छ भेटिने गरेको छ। ग्रामीण भेगका बोल्नै नजान्ने र पहुँच नहुने सर्वसाधारणसँग कर्मचारीले कस्तो व्यवहार गर्लान् ? सहजै अनुमान गर्न सकिन्छ। केही दिनदेखि पप्पु कन्स्ट्रक्सनले निर्माण गरेका पुल र निर्माणाधीन पुलका विषयमा समाचारहरू आमसञ्चार माध्यममा प्राथमिकताका साथ आउन थालेका छन्। यो विषयमा थप गहन र खोजी गरी समाचार दिन हरेक सञ्चारमाध्यमका संवाददाता कर्तव्य सम्झी खोजमा तल्लीन छन्। म पनि भौतिक पूर्वाधारबारे समाचार लेख्ने भएकाले पप्पु कन्स्ट्रक्सनको विषयमा नवीनतम जानकारी खोजिरहेको छु। पप्पु कन्स्ट्रक्सनले निर्माण गरेका भौतिक पूर्वाधारसम्बन्धी जानकारी लिने उद्देश्यले शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पुगें।
मन्त्रालयले पप्पुले निर्माण गरेका भौतिक पूर्वाधारहरूको विषयमा आन्तरिक अध्ययन गरेको थाहा पाएपछि सो प्रतिवेदन लिन त्यहाँ पुगेको थिएँ। मध्याह्न साढे १२ बजेको थियो। आधिकारिक सूचना वितरणका लागि प्रत्येक मन्त्रालयले प्रवक्ता राख्ने व्यवस्था गरेको छ। प्रवक्ता राजेन्द्रप्रसाद शर्माको कार्यकक्षमा प्रवेश गरें। उनले प्रतिवेदन आफूकहाँ आइनपुगेको भन्दै निर्माण व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव गोपालप्रसाद सिग्देलसँग ‘भेट्न’ सुझाव दिए। म सिग्देलको कार्यकक्षमा प्रवेश गरे। उनलाई परिचय दिँदै प्रतिवेदनबारे जानकारी मागें। उनी बुर्लुक्क उफ्रिँदै पड्किए। मैले सूचना मागेर मैले ठूलै अपराध गरेजस्तै उनले मसँग नसोचेको व्यवहार गरे।
‘मसँग कुनै प्रतिवेदन छैन, प्रवक्तालाई नै भेट्नुस्’, आँखा रातो पिरो पार्दै सिग्देलले कर्मचारीतन्त्रको पारा देखाए। जे भएनि मलाई त्यो प्रतिवेदन जसरी पनि हात पार्नु थियो। सञ्चारकर्मीले सरकारले तयार पारेको प्रतिवेदन माग्ने हकबमोजिम मैले मागेको थिएँ। फेरि पनि म केही झुकेरै नम्र भएर प्रस्तुत भइरहें। सहसचिव पदमा रहेका सिग्देल त ठिक विपरित ढंग र शैलीमा ममाथि खनिँन थाले। मैले सरल भाषामै प्रवक्ता सरले तपाईसँग प्रतिवेदन छ, त्यहीबाट लिनुस् भन्नु भएकाले आएको भनी दोहोर्याएँ। उनी फेरि पनि कड्किँदै बोले, ‘मसँग त्यो प्रतिवेदन छैन, सडक विभागमै गएको होला। विभागसँग माग्नोस्। प्रतिवेदन पुगेन भने बाटोमै होला।’
मेरो हार्दिकतामा उनी झनै कडा शैलीमा पोखिए। ‘तपाईका लागि म यहाँ बसेको छु र ? , हामीले तयार पारेको प्रतिवेदन तपाईलाई किन दिनुपर्यो, तपाई आउनुहुन्छ भनेर हामीले फोटोकपी गरेर राखेका छौं र ? ’, उनले थपे, ‘तपाईले भन्दैमा म दिन्छु ? दिन्नँ। जानोस्, विभागमै गएर माग्नोस्।’ जति नम्र र शिष्ट भएर प्रयास गरे पनि अन्ततः उनले मलाई प्रतिवेदन उपलब्ध गराउन तयारै भएनन्। प्रतिवेदनमात्र होइन, त्यो विषयमा कुनै जानकारी दिएनन्। उच्च तहका कर्मचारीमा हुनुपर्ने कुनै गुण उनमा देख्न पाइएन। बरु उनले आफ्नोपन प्रदर्शन गरिराखे। उनीसँग मैले मागेको सूचनाको विषयको सबै संवाद मोबाइलमा रेकर्ड गर्न भने भ्याएँ।
पप्पुजस्तो विवादास्पद ठेकेदारसँग कर्मचारीतन्त्रको कसरी साँठगाँठ हुन्छ भन्ने विषयलाई यो घटनाक्रमले थप पुष्टि गर्छ। सिग्देल पारदर्शी नै थिए भने प्रतिवेदन सजिलै उपलब्ध गराउन सक्थे। तर उनको पनि कतै न कतै मिलोमतो भएको हुनुपर्छ नत्र किन प्रतिवेदन उपलब्ध गराएनन्, गराउने चेष्टासम्म गरेनन् ? सडक विभागका पूर्वमहानिर्देशक समेत रहेका सिग्देलले बदनाम पप्पुलाई जोगाउन पनि अन्ततः प्रतिवेदन सार्वजनिक गर्न मानेनन् भन्दा कुनै अत्युक्ति हुने छैन।