अर्घाखाँची प्रिमियर लिगको दोश्रो संस्करण सुरु
अर्घाखाँची : अर्घाखाँचीमा सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता अर्घाखाँची प्रिमियर लिग (एपीएल) को दोश्रो संस्करण सुरु भएको छ। सन्धिखर्कको टुडिखेल मैदानमा सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार विकले ब्याटिङ गरेर खेल उद्घाटन गरेका हुन्।
प्रतियोगिता लिग सिस्टममा २०–२० फर्मेटमा खेलाइने र चार टिमको सहभागिता रहेको एपीएलका संयोजक तथा आयोजक संस्था अर्घाखाँची सामुदायिक विकास क्लबका अध्यक्ष ऋषिकेश भट्टराइले जानकारी दिए।
विक्रमकुमार भुसालको कप्तानीमा एम्स स्टार, जगत क्षेत्री सन्जुको कप्तानीमा रोयल सन्धिखर्क, जीवन भट्टराईको कप्तानीमा नमस्ते अर्घाखाँची र त्रिभुज कार्कीको कप्तानीमा सुपर सुपा इलाभेन मैदानमा उत्रिएका छन्।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५ हजार र द्वितीय हुने टिमले नगद ५५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्। व्यक्तिगत प्रदर्शनका विभिन्न विधामा समेत पुरस्कार ब्यवस्था गरिएको आयोजकले बताएको छ।