नेकपाकाे प्रदेश बैठक धमाधम

नेकपाकाे प्रदेश बैठक धमाधम

काठमाडौं : नेकपाका वरिष्ठ नेता माधव नेपाल पक्षले प्रदेश पदाधिकारी चयनमा असन्तुष्टि जनाउँदै निर्णय नमान्ने बताए पनि उनी पक्षीय नेता इन्चार्जसिप रहेको प्रदेश कमिटीको पदाधिकारी बैठक भने धमाधम बसेका छन्। सचिवालय बैठकले नीतिगत निर्णय गर्न नसक्ने र प्रदेश पदाधिकारी चयन विधिसंगत नभएको भन्दै नेपाल पक्षले निर्णयमा असहमति जनाएको छ। तर रोचक पक्ष निर्णय प्रक्रियामै असन्तुष्ट नेपाल पक्षकै नेताहरू इन्चार्ज रहेको प्रदेशको मात्र बैठक बसेर जिल्ला तहलाई विभिन्न निर्देशन दिएको छ।

नेपाल पक्षको १, ३ र सुदूरपश्चिम प्रदेशका इन्चार्ज छन्। यी तिनवटै प्रदेशमा प्रदेश इन्चार्जकै प्रमुख आतिथ्यमा पदाधिकारी बैठक बसेको छ। वरु अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल पक्ष इन्चार्ज रहेको प्रदेश कमिटीको भने अहिलेसम्म बैठक बसेको छैन।

वरिष्ठ नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ विदेश रहेका बेला ५ असोजमा बसेको सचिवालय बैठकले प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरेको थियो। सचिवालय बैठकका बेला नेता नेपाल अफ्रिकी मुलुक घाना र प्रवक्ता श्रेष्ठ चीन भ्रमणमा थिए। अध्यक्षद्वयले आफूसँगको सहमति विपरित स्थायी समिति छलेर पदाधिकारी चयनको निर्णय लिएको भन्दै स्वदेश फर्केपछि नेपालले निरन्तर असन्तुष्टि ब्यक्त गरिरहेका छन् भने शुक्रबार मात्रै स्थायी समिति सदस्यलाई चियापान आयोजना गरी स्थायी समिति बैठक बोलाउन दबाब दिएका छन्।

शनिबार मात्रै पनि नेपाल निकट नेत्री अष्टलक्ष्मी शाक्य इन्चार्ज रहेको प्रदेश ३ को बैठक बसेको छ। अन्य दुईवटा प्रदेश १ को ११ गते र सुदूरपश्चिम प्रदेशको ९ गते पदाधिकारी बैठक बसेको थियो। प्रदेश ३ मा अष्टलक्ष्मी शाक्य इन्चार्ज, हितबहादुर तामाङ सहइन्चार्ज, नारायण दाहाल अध्यक्ष र आनन्द पोखरेल सचिव छन्।

शनिबार पेशागत संगठनको कार्यालयमा बसेको प्रदेश पदाधिकारी बैठकले पूर्ववत दुवै पार्टीका जिल्ला पदाधिकारी रहेको कार्यदल गठन गर्दै उक्त कार्यादललाई असोज मसान्तसम्म संगठित सदस्यता, पार्टीको सम्पत्तिको अभिलेख गर्ने, खाता सञ्चालन गर्नेलगायतका काम गर्न निर्देशन दिइएको सचिव पोखरेलले बताए। प्रदेश १ मा नेपाल पक्षीय नेता भीम आचार्य इन्चार्ज, सावित्रिकुमार काफ्ले सहइन्चार्ज, देवराज घिमिरे अध्यक्ष र सुरेशकुमार राई सचिव छन्।

असोज ११ मा बसेको बैठकले प्रदेश मातहातका सबै जिल्लामा गाउँ तहसम्मकै एकताको गृहकार्य गर्नका लागि तात्कालिन एमाले–माओवादीका ४–४ जना नेता रहेको ८ सदस्यीय कार्यादल गठन गरेको छ। कार्यदललाई १० दिनभित्र गृहकार्य गरी विगत कार्यदलले सहमति गरेका विषय र असहमति नै रहेका विषयमा पनि छलफल गरी प्रतिवेदन तयार पारी प्रदेश कार्यलयमा बुझाउन निर्देशन दिइएको सचिव राईले अन्नपूर्णसँग बताए।

यसअघिको कार्यदलले प्रदेशका ७ ओटा जिल्लामा मात्र सहमति गरी प्रतिवेदन बुझाएको थियो भने अन्य जिल्लामा असहमति रहेका विषय नै माथि केन्द्रमा पठाएको थियो। सुदूरपश्चिम प्रदेशमा भीम रावल इन्चार्ज, लक्ष्मीदत्त जोशी सहइन्चार्ज, कर्णबहादुर थापा अध्यक्ष र नेपबहादुर चौधरी सचिव छन्। बैठकले जिल्ला तहमा एकताको काम सम्पन्न गर्नका लागि कार्यदल गठन गरेको छ।

कार्यदलले नयाँ शिराबाट काम सुरु गर्ने अध्यक्ष कर्णबहादुर थापाले बताए। प्रदेश ७ ले शनिबार कञ्चनपुरमा कार्यकर्ता भेलाको आयोजना समेत गरिसकेको छ। बैठकले तीन महिने कार्ययोजना बनाएको छ। प्रदेश, जिल्लास्तरका कार्यकर्ता भेला गर्ने देखि जनप्रतिनिधिहरूको भेला गर्ने सम्मका काम तीन महिनाभत्रै सक्ने गरी कार्ययोजना बनाइ परिपत्र नै जारी गरिएको अध्यक्ष थापाले बताए। बाँकी ४ प्रदेशमा तयारी हँुदै प्रदेश १, ३ र सुदूरपश्चिमबाहेक अन्य ४ वटा प्रदेशमा भने बैठक बस्नका लागि आन्तरिक तयारी भइरहेको नेताहरूले बताएका छन्। प्रदेश २ का अध्यक्ष प्रभु शाहले आन्तरिक रुपमा छलफल चलिरहेको बताए।

गण्डकी प्रदेशमा १७ असोजमा पदाधिकारी बैठक बोलाइएको छ। प्रदेशका इन्चार्ज समेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चीन भ्रमणमा रहेको र उनी १६ असोजमा स्वदेश फर्कने कार्यक्रम रहेकोले त्यसपछि बैठक राखिएको सचिव गोविन्दबहादुर नेपालीले बताए।

प्रदेश ५ का सहइन्चार्ज दलबहादुर रानाले प्रदेश अध्यक्ष भर्खर रसियाबाट फर्केको कारण बैठक बस्ने विषयमा आन्तरिक तयारी भइरहेको बताए। उनले १७, १८ असोज तिर बैठक बस्न सक्ने जनाए। कर्णाली प्रदेशमा भने बैठकका विषयमा अहिले केही भएको छैन। ‘अहिले नै केही भइसकेको छैन’, सहइन्चार्ज यमलाल कँडेलले भने। यो प्रदेशका सचिव मायाप्रसाद शर्माले जिम्मेवारी प्रति असहमति जनाउँदै नबस्ने घोषणा गरेका छन्। असन्तुष्टिले असर गर्दैन

वरिष्ठ नेता नेपाल पक्षको असन्तुष्टिले प्रदेशको आन्तरिक कामलाई असर नगर्ने प्रदेशका जिम्मेवारीमा रहेका नेताहरूले बताएका छन्। पार्टी अध्यक्षद्वयले ५ असोजको सचिवालय बैठकपछि प्रदेश पदाधिकारीलाई ८ बुँदे काम गर्न निर्देशन दिएको थियो। ‘कहाँ के मिलेन, असन्तुष्टि पोखेर हुँदैन’, प्रदेश तीनका सचिव आनन्द पोखरेलले भने, ‘प्रदेश कमिटीलाई नेता विशेषको असन्तुष्टिले काम गर्न कुनै असर गर्दैन।’

प्रदेश २ का अध्यक्ष प्रभु साहले पनि प्रदेश कमिटीलाई काम गर्न कुनै रोकतोक नभएको बताए। सुदूरपश्चिमका अध्यक्ष कर्णबहादुर थापाले कुनै नेता असन्तुष्ट भए सम्बन्धित कमिटीमा राख्नु पर्नेमा बरिष्ठ नेता नेपालले त्यसो नगरेको आरोप लगाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.