प्रधानमन्त्रीज्यू, खुट्टा नकमाउनुस्, दौरा नभिजाउनुस्, अपराधी समात्नुस्
बिहानै एउटा नमिठो सपनाले ब्युँझायो । एकदम ठूलो अन्यायमा परेको त्यो सपनाले मलाई धेरै पीडा दिँदै थियो । न्यायको खोजीमा भौतारिँदै हिँडेको मेरो आवाज त्यो भिडमा सानो सुनिन्थ्यो । कसैको ध्यान नै गएन मेरो आवाजमा । यतिकैमा सम्झेँ हो यहाँ त न्याय पाइँदैन क्यारे । इतिहासदेखि वर्तमानसम्म आउँदा न्याय पाएका घटना त धेरै कम छन् भन्ने लाग्यो । यतिकैमा थाकेर न्याय कहाँ होला भनी सोच्दै गर्दा निन्द्रा खुल्यो । बिहानको पहिलो सुस्केरा बेडमै पर्यो अनि मोबाइल खेलाउन थालेँ । केही अनलाइनहरुले निर्मला हत्या प्रकरणमा डिएनए परीक्षण नमिलेको समाचार हालेको देखेँ । ओहो ! मैले सही सपना देखेको रहेछु । निर्मलाका हत्यारालाई सरकारले उन्मुक्ति दिन खोजेकै हो भन्ने लाग्यो ।
मनभरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झिएँ । के उनले यो देशमा अपराधीले मात्र बाँच्न पाउने भन्ने सपना देखेका हुन र ? के निर्मलाका हत्यारालाई कारवाही भन्दा बोकेर हिँड्दा उनको राजनीतिको यात्रा सहज छ त ? सरकार भन्दा अपराधी किन बलियो बनेको होला ? कसले रोकेको होला अपराधीलाई कारबाही गर्न ? किन नसकिएको होला दोषी पत्ता लगाउन ? यस्तै यस्तै हजार प्रश्न मनभरी खेले ? मनमा एकखालको रक्तसञ्चार तीब्र गतिमा हुन थाल्यो ।
गृहमन्त्री रामबहादुर थापा बादलको पनि खुब याद आयो । उनी त जनयुद्धबाट आएका मान्छे । मान्छे मर्नु-मार्नु उनका लागि विगतमा केही नभए पनि अहिले त सरकारमा छन् नि ! के नेपाली जनताको जीउ धनको रक्षा उनको जिम्मेवारी होइन ? निर्मला हत्या प्रकरणलाई सामान्य पनि नठानेको देख्दा लाग्छ के गृहमन्त्रीमा बसिरहनु मात्र ठूलो कुरा हो र ?
फेरि पनि प्रधानमन्त्री केपि शर्मा ओलीलाई नै सम्झिएँ । धेरै आशा गरिएको नेता पो हो त उहाँ । धेरै सपना पुरा हुने सोचेका छौँ उहाँको कार्यकालमा । तर यही एउटा घटनाले उहाँलाई लुग्लुगी कमाएको देख्दा सबैतिर निराशा छाइसक्यो । तपाईंले भनेको 'समृद्ध नेपाल सुखी नेपाली' भनेको यही हो ? भनेर बिहानै प्रश्न गरेँ । उफ ! लामो श्वास फेर्दै मनमनै भनेँ, 'कसरी होला निर्मलाका हत्यारा पत्ता लगाउने ? सरकारबाट त निर्मलाका हत्यारा पत्ता लाग्ने भएन, अब जनस्तरमा के गर्न सकिन्छ होला ?'
त्यही बीचमा फेरि एउटा कुरा याद आयो । प्रधानमन्त्री केपी ओलिले निर्मलाका बुवाआमालाई दिएको बचन । निर्मला मेरी पनि छोरी हो ढुक्क हुनुस् अपराधी पत्ता लाग्छ भनेको कुरा । खोई आन्दोलन रोक्न र वातावरण शान्त बनाउन मात्रै बोलिएको रहेछ भन्ने पनि लाग्यो । उनले बोलेको त्यो कुरा पनि सेलायो अनि बिस्तारै आन्दोलन पनि । तर डिएनए परीक्षण रिपोर्टले झनै घटनालाई दरबार हत्याकान्ड र मदन भन्डारी हत्याकाण्ड भन्दा पनि रहस्यमय बनायो । झन् धेरै छोप्यो खुल्नै नसक्ने गरि ।
अब यसरी हुँदैन जनस्तरबाट दबाब कायमै हुनुपर्छ, जरुर जारी रहनुपर्छ भन्ने कुराले मनमा झन् ठुलो प्रभाव पार्यो । अनि के हुँदै रहेछ भनेर फेसबुक स्टाटस हालेँ । बलात्कारपछि निर्मला हत्या प्रकरणबारे के हुदैछ ? दोषीले उन्मुक्ति पाएकै हो ? भनेर । मैले यो स्टाटसमा महिला हिसाबिरुद्धको अभियान जयनारी कि सावित्री सुवेदीलाई प्रश्न गरेर हालेको थिएँ । बिस्तारै त्यहाँ प्रतिक्रिया आउन थाले । महिला खबरकी साथी पनि प्रतिमा सिलवालजीले सरकार वा गृहमन्त्रीलाई सोध्नु भएको भए हुने भनेर प्रतिक्रिया दिनुभयो । मैले जवाफमा सावित्रीजी मार्फत सरकारलाई दिइएको दबाब हो भने । त्यसपछि सावित्रीजीबाट प्रतिक्रिया आयो, 'अब हामी आफैँले कारबाही गर्नुपर्छ।'
त्यसपछि मलाई कस्तो कस्तो लाग्यो । सरकारले किन यसरी अपराधीलाई बचाएको होला ? प्रहरीको छोरो भए पनि कारबाही गर्न के हुन्थ्यो र ? सावित्रीजीसँग कुरा गर्दा उहाँ एकदम आत्तिनु भएको छ । अब के गर्ने कसो गर्ने कसरी अगाडि बढ्ने उहाँ एक्दम अन्योलमा भएको सुनाउनु भयो । अब केही गर्नुपर्यो मसँग केही उपाय छैन, तपाईँ कहाँ हुनुहुन्छ भनेर उहाँले प्रश्न गर्दा हाम्रो राष्ट्रपतिमा यो चिन्तन भइदिएको भए के हुन्थ्यो भन्ने लाग्यो ।
उहाँले अब अगाडि बढ्ने योजना बनाउनुस है, बेलुका कुरा गरौँला भनेपछि मेरो मनभरी एउटा रक्तसञ्चार हुन थाल्यो । यसबीचमा मैले उहाँलाई जहाँ सरकार भन्दा अपराधी बलियो हुन्छ, त्यहाँ तपाईं हाम्रै बलात्कार हुन्छ है सावित्रीजी भनेको थिएँ । त्यसपछि उहाँ झन भावुक बन्नुभयो । मलाई मेरो देशको यो हालतले ढुक्कले श्वास फेर्न पनि दिएन बिरानो मुलुकमा । स्वदेशमा केही गर्न नसकेर होइन श्वास फेर्नै नसकेर बिदेशिएको हुँ तर यहाँ आउँदा पनि उतैको चिन्ताले उकुसमुकुस बनायो । जनतासँग प्रधानमन्त्री कार्यक्रममा भनेको कुरा बुझाउनु पर्यो, टिभीको पर्दामा आँसु झार्दैमा हुँदैन प्रधानमन्त्रीज्यू ।
सरकारबाट बचाउ गरिएको व्यक्ति पुलिस प्रशासन भित्रैको भन्ने धेरैले अनुमान गरिसकेका छन् । छानबिन आयोग र सरकारलाई नै चुनौती दिन सक्ने यो अपराधी बाहिर ल्याउँदा यो सरकार ढल्छ भने टेको लगाउन आउनेछु भोलि नै कतारबाट । प्रधानमन्त्रीज्यू खुट्टा नकमाउनुस, दौरा नभिजाउनुस । बाहिर ल्याउनुस त्यो अपराधीलाई र जनताको जिम्मा लगाइदिनुस, यसैले वर्षौँ जेल बसेर तपाईँले कमाएको राजनीतिक उचाई बढेर महान नेताकारुपमा उभिने अवसर दिनेछ ।