राजमार्ग अतिक्रमण गरेर बनाएका घरटहरा भत्काउँदा प्रहरी–स्थानीयबीच झडप

राजमार्ग अतिक्रमण गरेर बनाएका घरटहरा भत्काउँदा प्रहरी–स्थानीयबीच झडप

बनेपा : अरनिको राजमार्गस्थित काभ्रेको साँगा–बनेपा सडकखण्डमा अतिक्रमण गरेर बनाएका घरटहरा भत्काइएको छ। डिभिजन सडक कार्यलय भक्तपुरले अरनिको राजमार्गको दायाँ–बायाँ मापदण्ड मिचेर बनाएका घरटहरा भत्काउँदा स्थानीय र प्रहरीबीच झडप भएको हो।

बनेपा नगरपालिकास्थित साँगा चोकमा रहेका घरहटरा, होडिङबोर्ड हटाउन लाग्दा स्थानीको अवरोध आएपछि भीड हटाउने क्रममा एक घण्टा झडप भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। राजमार्ग अतिक्रमण गरेर बनेका घर–पसल भत्काउँदा साँगाका घरटहरा सञ्चालक स्थानीय र प्रहरीबीच झडप भएको डीएसपी दीपक गिरीले जानकारी दिए। अतिक्रमण गरेर बनाएको घरटहरा हटाउने क्रममा अवरोध गरी प्रहरीमाथि ढुंगामुढा गरेपछि भीड नियन्त्रण गर्न दुई राउन्ड अ श्रुग्यास र लाठीचार्ज गर्नुपरेको उनले बताए।

डिभिजन सडक कार्यालयले भदौ २८ गते अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन १५ दिने सूचना जारी गरेको थियो। सडक डिभिजनले अरनिको राजमार्गको साँगा चोकदेखि बनेपा चण्डेश्वरी खोलासम्म सडकको दायाँबायाँ २५ गज सडक सीमाभित्र रहेका घरटहरा हटाउन सूचना जारी गरेको थियो। स्थानीयले भने दसैंसम्म घरटहरा नहटाउन माग गर्दै अवरोध गरेका छन्। उनीहरूले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए।

‘केही दिन रोकिदिनुहोस्, हामी आफैं हटाउँछौं, दसैं आइसक्यो वासस्थान र पसलको सामान राख्ने ठाउँ छैन भन्दा पनि प्रशासनले पेलेर डोजर चलायो’, साँगाका स्थानीय नवीन श्रेष्ठले भने, ‘हामीले मापदण्ड छाड्दैनौं भनेको छैन तर केही दिनका लागि व्यावहारिक कठिनाइ बुझिदिए हुन्यो।’

डिभिजन कार्यालयका अनुसार साँगा चोकदेखि बनेपा बजारसम्म मापदण्डविपरीत बनेका १ सय ५६ वटा घर भत्काउने सडक डिभिजन भक्तपुरका प्रमुख गुरु अधिकारीले बताए। उनका अनुसार स्थानीय सरकार प्रमुख जिल्ला अधिकारी र प्रहरीको समन्वयमा अतिक्रमण गरी बनाइएका घरटहरा हटाएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागअन्तर्गत सूर्यविनायक– धुलिखेल, धुलिखेल–सिन्धुली बर्दिवास सडक आयोजनाले जिल्ला प्रशासन कार्यालय काभ्रेलाई भदौ १८ गते पत्राचार गरेको थियो। प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले भने, ‘सोहीअनुरूप हामीले स्थानीय सरकार र प्रभावितलाई मापदण्डभित्र रहेको घरटहरा हटाउन जानकारी गराएका थियौं तर अटेर गरेर बसेकाहरूको भत्काएका हौं।’ केही दिनअघि बीपी राजमार्गको धुलिखेलदेखि नेपालथोकसम्म राजमार्गको दायाँ–बायाँ १५/१५ मिटरभित्र अतिक्रमण गरेर बनाएका ५ सय घरटहराको होडिङबोर्ड हटाएको उनले जानकारी दिए। उनले भने, ‘अब अरनिको राजर्गमा रहेको अतिक्रमण हटाउने क्रममा छौँ।’

राजमार्ग एक, मापदण्ड दुई

अरनिको राजमार्गमा दुईथरी मापदण्ड भएको भन्दै स्थानीले विरोध गरेका छन्। राजमार्ग एकै भए पनि बनेपा र धुलिखेल नगरपालिकामा फरक मापदण्ड भएकाले सरकारले आफूहरूलाई अन्याय गरेको धुलिखेल र पाँचखालवासीले बताउँदै आएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षेत्रीय सडक निर्देशनालय डिभिजन सडक कार्यालय भक्तपुरले भदौ २८ गते प्रकाशन गरेको सूचनामा बनेपा नगरपालिकाको साँगा चोकदेखि चण्डेश्वरी खोलासम्म दायाँ–बायाँ ७५ फिट र चण्डेश्वरी खोलादेखि धुलिखेल चोकसम्म दायाँ–बाया ८२ फिट छाड्नुपर्ने भन्दै १५ दिने सूचना जारी गरेको थियो। उक्त सूचनालाई लिएर राजमार्ग छेउछाउका स्थानीय राजमार्ग एकै मापदण्ड फरक भएको भन्दै आक्रोशित हुँदै आएका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.